दौडका भोका वाङ्छु
खोटाङको सुङदेल–५, हिलेभन्ज्याङका वाङ्छु शेर्पा उच्च शिक्षाका लागि पहिलो पटक काठमाडौं आएका थिए। पशुपति क्याम्पसमा उच्च शिक्षा अध्ययनका क्रममा अन्य जिल्लाबाट आएका उनका साथीहरू विभिन्न खेल खेल्थे। उच्च शिक्षाका लागि राजधानी आउनेहरू खेलकुदमा लागेको देखेर उनले पनि खेलकुदमै पाइला राख्ने योजना बनाए।
गाउँबाट आएकाहरू कोही कराते खेल्थे, कोही तेक्वान्दो, कोही जँुडो त कोही फुटबल खेल्थे। उनले भने बक्सिङ रोजे। नक्साल युवा मण्डलमा किरण थापासँग बक्सिङ सिक्न थाले। थापाकै प्रशिक्षणमा उनले केही स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा भाग पनि लिए। केहीमा सफलता हात पारे भने केहीमा हार पनि बेहोरे। तर, उनी विचलित भएनन्, पढाइसँगै खेलकुदलाई पनि अगाडि बढाइरहे। खेलकुदको असर पढाइमा पर्न दिएनन्। समय व्यवस्थापन गरेरै खेलकुद र पढाइलाई सँगसँगै अगाडि बढाउँथे।
बक्सिङको प्रशिक्षण गर्नुअघि शारीरिक कसरत, स्टामिना र प्रतियोगिता अघि तौल घटाउन खेलाडीहरूलाई दौडाउने गरिन्थ्यो। दौड कहिले छोटो हुन्थ्यो भने कहिले लामो पनि दौडनु पथ्र्यो। यसले स्टामिना बढाउन मद्दत गथ्र्यो भने तौल पनि घटाउँथ्यो। बक्सिङ प्रशिक्षणका क्रममा दौडिएको फाइदा उनले एथलेटिक्सका विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाएर उठाए। उनी लामो दूरीको दौड पनि दौड्न सक्ने भए। बक्सिङ प्रशिक्षणका क्रममा दौडँदाकै अनुभवका आधारमा पशुपति क्याम्पसको स्ववियुले आयोजना गरेको म्याराथन प्रतियोगितामा उनी पहिलो पटक सहभागी भए। उनले यस प्रतियोगितामा पदक जित्न त सकेनन्, तर दौड भने पूरा गर्दै पाँचौं स्थान हात पार्न सफल भए।
त्यसपछि उनी सन् २००२ मा पोखरा म्याराथनमा सहभागी भए। उनले ४२ किलोमिटर लामो दौड ३ घण्टा १८ मिनेटमा पूरा गरे। यसैगरी सहिद दिवसका अवसरमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले साँखुबाट जोरपाटीसम्म आयोजना गरेको म्याराथन प्रतियोगितामा भने उनले दोस्रो स्थान हात पारे। यी म्याराथनमा सहभागी भएपछि उनलाई थप ऊर्जा मिल्यो। लामो दूरीको दौडमा पनि प्रतिस्पर्धा गर्ने मात्रै होइन, पदक पनि जित्न सक्छु भन्ने आत्मविश्वास पनि बढायो। ‘बक्सिङ प्रशिक्षण गराउनु अघि गुरुले धेरै दौडाउनु हुन्थ्यो। यसरी दौड्दादौड्दै मलाई दोहोरो फाइदा भयो’, उनी भन्छन्, ‘बक्सिङसँगै दौड प्रतियोगितामा पनि भाग लिन सक्ने भएँ। अझ पोखरा म्याराथनमा सहभागी भएपछि त छुट्टै ऊर्जा मिल्यो। लामो दूरीको दौड पनि दौड्न सक्छु भन्ने आत्मविश्वास बढायो।’ उनी फुर्सदको समयमा पनि दौडन थाले। यसले लामो दूरीका दौडमा सहभागी हुने मात्रै होइन, पदक जित्न सक्छु भन्ने आत्मविश्वास पनि बढायो।
सन् २०१३ मा वाङ्छु अमेरिका पुगे। त्यहाँ पनि फुर्सदको समय दौडिएर नै सदुपयोग गर्थे। त्यही क्रममा सन् २०१८ डिसेम्बरमा ट्रिमारा स्पोर्ट्सद्वारा आयोजना गरिएको ‘बुक्लिन होली डे हाफ म्याराथन प्रतियोगिता’मा पहिलो पटक सहभागिता जनाए। पहिलो प्रतियोगितामै तेस्रो स्थान हात पारेपछि भने उनले विभिन्न प्रतियोगितामा पनि दौडने योजना बनाए। अहिलेसम्म वाङ्छुले अमेरिकासँगै विभिन्न देशमा आयोजना भएका ६८ वटा म्याराथनमा सहभागिता जनाइसकेका छन्। उनले अधिकांश हाफ म्याराथनमा दौडिएका छन्। उनले पाँच वटा फुल म्याराथन, ५५ वटा हाफ म्याराथन र आठ वटा भर्चुअल म्याराथन दौडिसकेका छन्। वाङ्छुले दौडिएका दौडहरूमध्ये हाफ म्याराथनमा ओभरल तीन पटक पहिलो स्थान, एक पटक दोस्रो स्थान र एक पटक तेस्रो स्थान हात पारेका छन्।
यसैगरी उमेर समूहअन्तर्गत हाफ म्याराथनमा नौ पटक पहिलो स्थान हासिल गरेका छन्। यस्तै ६ वटामा दोस्रो र १० वटा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन्। फुल म्याराथनमा भने एक पटक मात्रै तेस्रो स्थान हासिल गरेका छन्। सन् २०२१ अक्टोबर १६ मा न्युयोर्क प्रोस्पेक्ट पार्कमा भएको फुल म्याराथनमा उनले तेस्रो स्थान हात पारेका थिए। उनी गत वर्ष टीसीएस न्युयोर्क सिटी म्याराथनमा सहभागी भएका थिए। ५० हजारभन्दा बढी सहभागी न्युयोर्क सिटी म्याराथनमा उनले २५ हजारभन्दा बढीलाई जितेका थिए।
यसैगरी कोरोना भाइरसले संसारभर महामारी मच्चाएको समयमा पनि उनी निरन्तर रूपमा दौडिरहे। उनले अमेरिकाका विभिन्न राज्यका साथै इङ्ल्यान्ड र जापानमा भएको भर्चुअल प्रतियोगितामा पनि सहभागिता जनाए। उनले सिकागो भर्चुअल हाफ म्याराथन २०२०, पेन्सिलभेनिया कोरोनालिसा एक सय माइल भर्चुअल च्यालेन्ज, वल्र्ड लार्जेन्ट भर्चुअल रन २०२०, वान न्युयोर्क १००० रन २०२०, ब्रिज अफ लन्डन रन २०२०, टोकियो भर्चुअल हाफ म्याराथन २०२०, टीसीएस न्युयोर्क फुल भर्चुअल म्याराथन २०२०, यूएन डे भर्चुअल रन २०२१, न्युयोर्क लिभर्टी भर्चुअल हाफ म्याराथन २०२० लगायतका दौडमा पनि सहभागी भए। भर्चुअल म्याराथन प्रतियोगितामा जीपीएस (एसट्राभा एप) लगातार दौडनु पर्छ। भर्चुअल म्याराथन अन्य म्याराथनभन्दा लामो दूरीको हुन्छ। वाङ्छुले एक हजार किलोमिटरको म्याराथन पनि दौडिएका छन्। यो एक दिने नभई ३५/४० दिनसम्म चल्ने गर्दछ। धावकहरूले हरेक दिन आफूले सक्ने जति दौडने गर्छन्।
उनले सन् २०१८ डिसेम्बरमा भएको होली डे हाफ म्याराथन, सन् २०१९ मा ब्रोक्लिन हाफ म्याराथन, सन् २०१९ मै कोनी आइसल्यान्ड हाफ म्याराथन, २०१९ कै क्विन्स न्युयोर्क हाफ म्याराथन, ब्रुक्लिन हाफ म्याराथन, न्युयोर्क लाइभ्स हाफ म्याराथन, न्यु जर्सी रन, बियर माउन्टेन इन्डुरेन्स च्यालेन्ज हाफ म्याराथन, न्युयोर्क होलिडे हाफ म्याराथन, गो हाड गो होम हाफ म्याराथन, न्युयोर्क सिटी लाइभ हाफ म्याराथनलगायतका प्रतियोगिताहरूमा भने ओभरलमा पहिलो स्थान हात पारेका छन्।
वाङ्छु अमेरिकाको न्युयोर्कमा बस्छन्। उनी कामसँगै खेललाई पनि निरन्तर रूपमा अगाडि बढाइरहेका छन्। वाङ्छुको अबको लक्ष्य एक सय वटा म्याराथन दौडने छ। उनी अहिलेलाई एक सय वटाको लक्ष्य राखे पनि आफूले सकुञ्जेलसम्म दौडिरहने बताउँछन्। ‘यही बेलासम्म दौड्न्छु भन्ने केही छैन। उमेरले सकुञ्जेल दौडिरहन्छु। अहिलेलाई भने एक सय वटा म्याराथनमा दौड्ने लक्ष्य राखेको छु’, उनी भन्छन्, ‘दौड मेरो नसा बनिसकेको छ। यसलाई चाहेर पनि चटक्कै छाड्न सकिँदैन।’