पाँच दलीय गठबन्धनले फेरिएको जनाधार
जनकपुरधाम : सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका तथा उप–महानगरपालिकाको भागबण्डा केन्द्रियस्तरमा मिलाएको छ। सत्तारुढ गठबन्धनको मधेश प्रदेशमा दलहरुमा नेपाली कांग्रेस र जसपाको बलियो अंकगणित छ। सत्तारुढ दलबीच उपमहानगर र महानगरको भागबण्डा मिलाएपछि गठबन्धनमा आवद्ध दलहरु उत्साहित छ भने केही स्थानमा रुष्ट छन्।
गठबन्धनका कारण सबैभन्दा बढी असन्तुष्टि मधेश प्रदेशमा सबैभन्दा ठूलो शक्तिको रुपमा रहेको नेपाली कांग्रेसभित्र देखिएको छ। सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढिरहेको समयमा यसको फाइदा उठाउने रणनीतिमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेको छ। सोही रणनीति अनुरुप एमाले र लोसपाले ठाउँ–ठाउँमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिने रणनीतिमा रहेका छन्।
सत्तारुढ दलबीच विभिन्न महानगर तथा उपमहानगरमा भएको गठबन्धनपछि मधेशमा जनमतको विश्लेषण शुरु भएको छ। गठबन्धनभित्र अन्तरघात नभए कांग्रेस र जसपा फेरि मधेशमा कांग्रेस र जसपा थप सशक्त हुने आँकलन राजनीतिक विश्लेषकहरुको छ। त्यसपछि मात्रै माओवादी, लोसपा, एमालेको नम्बर आउन सक्छ। तर स्थानीयस्तरमा चुलिएको विवादले गठबन्धन भित्र अन्तरघात हुने कतिपयको विश्लेषण हुन थालेको छ।
एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादीले पनि मधेशमा आफ्नो शक्ति मजबुत रहेको दावी गरिरहेको छ। तर उसको जनाधारको परीक्षण पहिलो पटक अब हुने स्थानीय तहको निर्वाचनबाट हुँदैछ। मधेशमा रहेको विरगञ्ज महानगरपालिकामा २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट विजय सरावगी विजयी भएका थिए। उनले १९ हजार ३ सय ९३ मत प्राप्त गरेका थिए। उनको निकटतम प्रतिद्वन्द्वी रहेको कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १ सय ९७ मत ल्याएका थिए भने तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का राजेशमान सिंहले १२ हजार १६५, तत्कालिन फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ८ हजार ७ सय १, एमालेका बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादीका रहबर अन्सारीले ८ हजार ३ सय ५ मत ल्याएका थिए।
विरगन्जका नगरप्रमुख सरावगीलाई जसपाबाट फेरि नगर प्रमुखका लागि टिकट पाउने सम्भावना नदेखेपछि पार्टी नै परित्याग गरे। पछिल्लो निर्वाचनमा विरगन्ज महानगरपालिकामा एमाले पाँचौ दलको रुपमा रहेको थियो। तत्कालिन राजपा तेस्रो शक्तिको रुपमा रहेको थियो। यी दुबै दल तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने सहमति गरे एमालेले नगरप्रमुख लोसपाले उपप्रमुख पाउने छ। सत्तारुढ गठबन्धन वीरगन्जमा चुनावी गठबन्धनपछि मजबुत स्थितिमा देखिएपनि एमाले र लोसपाबीचको तालमेलले खासै प्रभाव राख्दैनन्।
सत्तारुढ गठबन्धनमा विरगन्ज महानगरपालिकामा भन्दा जनकपुरधाम उपमहानगरपालिकामा बढी किचलो छ। पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालिन राजपाबाट लालकिशोर साले २१ हजार ९सय ३ मत ल्याएर विजयी भएका थिए। उनका निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साहले ११ हजार १ सय ६४ मत ल्याएका थिए। नेकपा एमालेका लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६५, तत्कालिन संघीय समाजवादी फोरमले ३ हजार ६ सय १२ र माओवादी केन्द्रका उम्मेदवारले २ हजार १ सय २८ मत ल्याएका थिए।
अहिले जनकपुरधामका नगरप्रमुख लालकिशोर साह जसपामा लागि सकेका छन्। तत्कालिन राजपा र तत्कालिन संघीय समाजवादी पार्टी मिलेर बनेको जसपा विभाजन भएपछि लालकिशोर जसपातर्फ लागेका थिए। जनकपुरधाम उप–महानगरपालिका सत्तारुढ गठबन्धनको भागबण्डामा जसपालाई परेपछि फेरि लालकिशोर नै जसपाबाट उम्मेदवारमा दोहोरिने सम्भावना प्रबल छ।
नगरप्रमुख साह जसपामा प्रवेश गरेपनि कुनै कार्यकर्ता तत्कालिन राजपाबाट जसपामा उनीसँगै नआएकाले लालकिशोरलाई टिकेट दिन नहुने तर्क जसपाकै कतिपय कार्यकर्ताहरुको रहेको छ। जसपा विभाजन हुँदा जनकपुरधाममा जसपा लोसपाभन्दा पनि कमजोर शक्तिको रुपमा रहेको छ।
गत स्थानीय तहको निर्वाचनमा तत्कालिन राजपाले २५ वटा पालिकामा जित निकालेको थियो। जसपा विभाजन हुँदा तत्कालिन राजपाबाट जितेका ७ जना प्रमुख तथा अध्यक्षले जसपा रोजेका थिए। लोसपासँग अहिले १७ पालिका प्रमुख तथा अध्यक्षहरु छन्। स्थानीय निर्वाचनमा आफ्नो शक्ति थप बढाउनका लागि गठबन्धनभित्र देखिएको असन्तुष्टिको फाइदा उठाउने रणनीति लोसपाको रहेको छ।