जनकपुरधाम : लोसपाबाट चौधरी मेयरको उम्मेदवार
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह निर्वाचनका लागि जनकपुरधामको मेयरमा उम्मेवारको टुंगो लगाएको छ। जनकपुरधामको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरीलाई टिकट दिने टुङ्गो लगाएको हो।
लोसपाले मधेस प्रदेशको राजधानी जनकपुरधामका लागि मनोज चौधरीलाई मेयर पदको उम्मेदवार बनाएको छ। दुई दिनदेखि चलिरहेको पार्टीका शीर्ष नेताहरुको बैठकले उम्मेदवारको टुंगो लगाएको हो। त्यस्तै उसले उपमेयरका लागि रिता कुमारी मिश्रलाई टिकट दिएको छ।
मेयरको टिकट पाएका चौधरी जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्षसमेत हुन्। त्यस्तै मिश्र अघिल्लो निर्वाचनमा पनि जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन्। मेयरका लागि चौधरी सहित प्रदेससभा सदस्यसमेत रहेका परमेश्वर साह, संजय चौधरी, अमर पजियार र जानकीराम साहको नाम सिफारिस भएको थियो।
टिकट पाउने संभावना नदेखेपछि जानकी राम केही दिनअघि एमाले प्रवेश गरेका थिए। उपमेयरका लागि मिश्रका साथै विभा ठाकुर, विभा पाण्डेलगायतको नाम सिफारिस भएको थियो। चौधरी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिन्छ भने रिता मिश्र अध्यक्ष महन्त ठाकुर निकटका व्यक्ति हुन्।