नुवाकोटमा गठबन्धन तोडियो
नुवाकोट : सत्तारुढ गठबन्धनका दलहरुबीच नुवाकोटमा सहमति नभएपछि गठवन्धन तोडिएको छ। गठबन्धनका नाममा कांग्रेस र माओवादीले तीन स्थानीय तहमा पद बाडफाड गरेको एकतर्फि घोषणा गरेपछि गठबन्धन रहेका अन्य दलहरु रुष्ट भएका छन्।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले नुवाकोट गठबन्धनमा आफ्नो दल नरहेको विज्ञप्तिमार्फत जनाएका छन्। दुवै दलले स्थानीय तहको निर्वाचनमा नुवाकोटमा आफूहरु आफ्ना उम्मेदवारहरुसहित मैदानमा जाने जनाएका छन्।
समाजवादीका अध्यक्ष गोविन्द नेपालीले आफ्ना उम्मेदवारहरु आफ्नै दलको योजना अनुसार अगाडि बढ्ने जनाएका छन्। सबै स्थानीय तहमा उम्मेदवारी दिने उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष ईश्वर राउतले पनि विज्ञप्ती जारी गर्दे आफूहरु गठबन्धनबाट अलग भएको बताएका छन्। यहि वैशाख ३० गतेको निर्वाचनमा जनता समाजवादी एक्लै चुनावमा लड्ने र जनता समाजवादी तत्काल गठबन्धनबाट बाहिर रहेको उल्लेख गरिएको छ।
यसअघि शुक्रबार बेलुकी नै नेपाली कांग्रेसका जिल्ला सभापति रमेशकुमार रहत र माओवादी केन्द्रका तर्फबाट संयोजक पुष्प लामिछाने अरुणले हस्ताक्षर गरेर विज्ञप्ती सार्वजनिक गरी विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा गठबन्धन हुने बताएका थिए। तर सो कार्यप्रति असहमति जनाउँदै एकिकृत समाजवादी र जनता समाजवादीका नेताहरुले हस्ताक्षर गरेका छैनन्।
एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरुले पद बाडफाडमा आफूहरुलाई उपेक्षा गरेको भन्दै गठबन्धनबाट बाहिरिएको जनाएका हुन्। गठबन्धनबाट बाहिरिएको समाजवादी र जसपाले आवश्यकताको आधारमा अन्य पार्टीसँग सहमति गरेर अगाडि बढ्ने भित्रि कार्य भइरहेको जनाएको छ।