छन्दमा गुञ्जिने श्रष्टा तोयाराजलाई कसरी भुलौं ?
बर्दिबास : महोत्तरीको बर्दिबासका श्रष्टाले साहित्यकार तोयाराज घिमिरेको श्रद्धाञ्जलीमा उनैलाई खोजी गरेका छन्।
उनले लेखेका कविता त भेटिए तर, राष्ट्रवादी साहित्कार घिमिरेको अनुहार पहिलेजस्तो कहिल्यै भेटेनन्। उनको अनुपस्थितिले श्रष्टाहरुलाई चिमोटिरह्यो। उनको सम्झनाले सबैको आँखा रसाईरह्यो। सभामा अधिकांश श्रष्टाले स्वर्गीय सहित्यकार घिमिरेको साहित्यिक योगदानको चर्चामा समय खर्चेका थिए।
साहित्यकार घिमिरे छन्दवादी कवि थिए। उनी उपन्यास लेखनमा रुची राख्थें। मधेस प्रदेशको साहित्यिक आकाशमा चम्किलो ताराको रुपमा उनी श्रष्टा माझ लोकप्रिय थिए। छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’ले स्वर्गीय कवि घिमिरेका कृतिहरूमा व्यवहारिक जीवनका राष्ट्रवाद छताछुल्ल रहेको चर्चा गरे।
राष्ट्र, राष्ट्रियता र सामाजिक सम्वृद्धिको दिशामा कलम चलाउन सबैलाई अध्यक्ष घिमिरेले आह्वान गरे। ‘उहाँको विचार र साहित्यिक पद चिह्नलाई पछ्याउँदै कलम चलाउन सकेमात्र साहित्यकार घिमिरेमाथि वास्तविक श्रद्धाञ्जली हुनेछ,’ उनले भने।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर मधेस प्रदेशका संयोजक, राजर्षिजनक वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवम् डा.राजेन्द्र विमल प्रतिष्ठानका महासचिव साहित्यकार घिमिरे बर्दिबास छन्द चौतारी महोत्तरीका संस्थापक सदस्य थिए।
उपन्यासकार तथा छन्द कवि घिमिरेको गत चैत १६ गते बर्दिबास–३ पाटुस्थित आफ्नै घरमा निधन भएको थियो। उनी लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित थिए।
२७औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिबास छन्द चौतारी र प्रलेस महोत्तरीले साहित्यकार घिमिरेको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो।
नेपाली साहित्यको क्षेत्रमा शास्त्रीय छन्दमा कविता रचना गर्ने छन्द कविहरूले वैशाख ८ गतेलाई छन्द दिवसको रूपमा मनाउने गरेको पाइन्छ। कार्यक्रममा सर्लाही, महोत्तरी र धनुषा जिल्लाका कविहरूले विविध छन्दका कविताहरू वाचन गरेका थिए।