एमाले सिन्धुलीले उम्मेदवार टुंगो लगायो, आजै मनोनयन दर्ता गर्ने
सिन्धुली : नेकपा एमाले सिन्धुलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ। एमालेले शनिबार राति सहमति हुन बाँकी ५ पालिकाको प्रमुख-उपप्रमुखमा उमेदवारहरूको नाम टुंगो लगाएको हो । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालका अनुसार एमालेले कमलामाई नगरपालिकाको मेयरमा महेन्द्र देव श्रेष्ठ र उपमेयरमा मन्जु देवकोटालाई छनौट गरेको छ । देवकोटा हाल कार्यरत उपमेर हुन् ।
दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारीलाई टिकट दिएको छ । अधिकारी पनि २०७४ सालको निर्वाचनमा विजेतम उपमेयर हुन् । 'पार्टीले उनलाई फेरि पनि उपमेयरमै उठाउने निर्णय गरेको छ,'दाहालले भने ।
तीनपाटन गाउँपालिकाको अध्यक्षमा छत्र दाहाल र उपाध्यक्षमा पदम माया तामाङलाई अघि सारिएको छ । दाहाल स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कर्ण थापा सँग १९ मतले गाउँपालिका अध्यक्ष मै पराजित भएका थिए । उक्त पालिकामा यसपटक पनि दाहलको थापा सँगै प्रतिस्पर्धा हुने भएको छ । थापा पुनः गठबन्धनका तर्फबाट पालिका अध्यक्ष बनेका छन् । उपाध्यक्ष तामाङ भने तिनपाटनकी विजेता उपाध्यक्ष नै हुन् ।
यस्तै एमालेले फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई यो पटक अध्यक्ष बनाउने भएको छ । उपाध्यक्षमा भने राजु बराललाई टिक दिएको छ। सुनकोशी गाउँपालिकाको अध्यक्षमा अशोक गिरी र उपाध्यक्षमा हेमा अधिकारीलाई अघि सारिएको छ । एमालेले गोलन्जोर, मरिण, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका यसअघिनै सर्वसम्मत उमेदवार छनोट गरिसकेको छ ।
एमालेले आगामी ३० गते शुक्रबारका दिन हुने निर्वाचनका लागि आजै मनोनयन दर्ता गर्ने जनाएको छ । निर्वाचन आयोगगले आइतबार र सोमबार दुईदिन उम्मेदवारी दर्ताको समय दिएको छ।