पूर्वमन्त्री तथा सांसद डिम्पल झाको निधन
रौतहट : मधेश प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश साँसद डा. डिम्पल झाको शनिबार राति ४२ वर्षको उमेरमा निधन भएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरी घर भएकी नेता झा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
उनी लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट समानुपातिक तर्फबाट प्रदेश सांसद बनेकी थिइन् । गजेन्द्र नारायण सिंहको विचारबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेकी उनी पूर्वमन्त्री तथा संघीय सांसद अनिल झाकी पत्नी हुन्।
नेता झाको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । उनको पार्थीव शरीर गृहजिल्ला रौतहटस्थित दुर्गा भगवतीको मत्सरीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।