कांग्रेसबिना भुम्लु गाउँपालिकामा माओवादी र समाजवादीबीच गठबन्धन
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकामा कांग्रेसबिना माओवादी केन्द्र र समाजवादी पार्टीबीच चुनावमा गठबन्धन गर्ने सहमति गरिएको छ। जिल्लामा कांग्रेससहितको गठबन्धन हुने हल्ला रहेपनि भुम्लुमा भने माओवादी र समाजवादीबीच मात्र गठबन्धन गरिने भएको हो ।
आइतबार दुई पार्टीको नेताबीच भएको सहमति अनुसार भुम्लु गाउँपालिकामा प्रमुख अध्यक्षमा माओवादी केन्द्र र उप प्रमुखमा एकीकृत समाजवादीलाई परेको क्रान्ति लामाले जानकारी दिए । १० वडा रहेको भुम्लु गाउँपालिकामा माओवादी र समाजवादीलाई ५–५ वडामा सहमति गरिएको लामाले जानकारी दिए।
वडा नं १,३,४,५ र ६ माओवादी केन्द्रले वडा अध्यक्षमा उम्मेदवार दिने र वडा नं २,७,८,९ र १० मा समाजवादी पार्टीको वडा अध्यक्ष उम्मेदवार रहने सहमति भएको लामाले जानकारी दिए । आइतबार भएको चुनावी तालमेलको लागि सहमतिपत्रमा दुई दलको अध्यक्षहरु माओवदी केन्द्रबाट प्रेम भुजेल र समाजवादीबाट प्राणनाथ न्यौपानेले हस्ताक्षर गरेका छन्।