फेरि चुनाव लड्न राजीनामा
प्यूठान : दोस्रो कार्यकालका लागि चुनाव लड्न प्युठानका दर्जनौं जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूले पदबाट राजीनामा दिएका हुन्। सम्बन्धित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले जनप्रतिनिधिको राजीनामा स्वीकृत गरेका छन्।
गाउँपालिकाका ९ जना जनप्रतिनिधिहरूले शनिबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताए। एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा, वडा–१ का वडाध्यक्ष मुकुन्दराज शर्मा, ३ का वडाध्यक्ष भीमबहादुर, मर्साङ्गी–४ का अध्यक्ष चिन्तबहादुर सोमै र विभिन्न वडाका पाँच जना वडा सदस्यहरूले राजीनामा दिएका छन्। गाउँपालिका उपाध्यक्षले राजीनामा दिने चर्चा चले पनि उनको राजीनामा परेन।
कांग्रेसबाट निर्वाचित गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले दिएको राजीनामा स्वीकृत भएको छ। गिरी र वडा–७ का अध्यक्ष श्यामलाल पुरीले मात्र गौमुखीमा पदबाट राजीनामा दिएका छन्। राजीनामापत्रमा गाउँपालिका अध्यक्ष गिरीले आफ्नो कार्यकालमा साथ, सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको लेखेका छन्।
एमालेबाट निर्वाचित माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकासहितका वडाध्यक्षहरूले आइतबारसम्म राजीनामा दिने तयारी गरेका छन्। वडा–४ का अध्यक्ष हेमराज वली, ५ का वडाध्यक्ष दुर्गाप्रसाद आचार्यसहित केही सदस्यहरूले राजीनामा दिने तयारी भइरहेको अध्यक्ष रोकाले बताए।
माओवादी केन्द्रबाट विजयी भएका वडा–२ का सदस्य यामलाल पुनमगरले शुक्रबार नै राजीनामा दिएका छन्। नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजाल, उपाध्यक्ष घनबहादुर बुढालगायत केही वडाध्यक्षहरूले राजीनामा दिइसकेका छन्। रिजाल कांग्रेस र बुढा माओवादी केन्द्रका हुन्। यसअघिको निर्वाचनमा उनीहरूको गठबन्धन थियो। चुनावमा उम्मेदवार हुने जनप्रतिनिधिहरूले मात्र पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान छ। राजीनामा नदिएका जनप्रतिनिधिहरूको कार्यकाल करिब १ महिना बाँकी हुनेछ। गाउँपालिका अध्यक्षले राजीनामा दिएको पालिकामा स्वतः उपाध्यक्ष कार्यवाहक अध्यक्ष र वडाध्यक्षले राजीनामा दिएको वडामा ज्येष्ठताका आधारमा वडा सदस्यले कार्यवाहक चलाउने प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन्।
एक्लाएक्लै चुनाव लड्ने भएपछि ऐरावती गाउँपालिकामा पनि दर्जनौं जनप्रतिनिधिहरूले राजीनामा दिने तयारी गरिरहेका छन्। कांग्रेसबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष नविलविक्रम शाह, माओवादीबाट जितेका गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर सोही गाउँपालिकामा वडा–१ का अध्यक्ष द्रोण पाण्डे, २ का अध्यक्ष भीमेसकुमार घर्ती र ५ का अध्यक्ष चन्द्र रोकाले राजीनामा दिने तयारी गरेका छन्। झिमरुक गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसी, उपाध्यक्ष पवित्रा जिसीसहित ८ वटै वडाका वडाध्यक्षहरूले पदबाट राजीनामा दिएका छन्।