धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले गराए मनोनयन दर्ता
धनगढी : गठबन्धनमा भागबन्डामै रस्साकस्सी भइरहेका बेला धनगढी उममहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको उम्मेदवारी परेको छ। आइतबार धनगढी बजारमा बाजागाजा र र्यालीसहित हमालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा मनोनयन दर्ता गराएका हुन् ।
धनगढी उपमहानगरको मेयरमा हमालको पहिलो उम्मेदवारी परेको हो । मनोनयनका लागि ठूला दलहरुले वैशाख १२ गतेको समय लिएका छन्। 'धनगढीको मेयरमा हमालको उम्मेदवारी पहिलो हो,' क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने ।
मनोनयन दर्ता पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै हमालले नगरबासीको चाहनाअनुसार आफूले उम्मेदवारी दिएको बताए । '१८ वर्षसम्म सर्वदलीय संयन्त्रका नाममा मिलिजुली स्थानीय तहहरु चलाइए, अहिले पनि गठबन्धनको नाममा मिलिजुली खाने काम भइरहेको छ । नेताहरुले गठबन्धन गरेपनि जनतामा त्यसको कुनै उत्साह छैन,' उनले भने ।
उनले गठबन्धन देशको विकासका लागि हुनुपर्नेमा मिलिजुली सत्तामा पुग्न र त्यसपछि भ्रष्टाचार गर्नका लागि भएको आरोप लगाए । 'देश बनाउन गठबन्धन भएको भए जनतामा खुसी हुन्थ्यो, तर मिलेर खानका लागि भएको गठबन्धनले जनतामा निरासा छाएको छ,' उनले भने ।
हमालले धनगढी उपमहानगरको मेयर पदमा दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएका हुन् । व्यवसायमा प्रतिष्ठा कमाएका हमाल २०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरको मेयरमा अहिलेका मेयर नृपबहादुर ओडसँग पराजित भएका थिए ।
वड १४ हजार तीन सय २४ मत ल्याएर विजयी भएका थिए । हमालले ११ हजार पाँच सय २७ मत ल्याएर निकटतम प्रतिद्वन्दी भएका थिए । त्यतिबेला धनगढीमा माओवादीका उम्मेदवार तेस्रो र एमालेका उम्मेदवार चौथो भएका थिए।
वैशाखमा ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ गते मनोनयन दर्ताको समय तोकेको छ । गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ गते २:५० बजेसम्म समय माग गरेका छन् भने नेकपा एमालेले पनि १२ गते दिउँसो ११:५० बजेको समय मागेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसपाली धनगढी उपमहानगरमा भने गठबन्धन हुने भएको छ । नेपाली कांग्रेसबाट नृपबहादुर वड नै दोहोरिने भएका छन् भने नेकपा एमालेले रणबहादुर चन्दलाई मेयरको टिकट दिएको छ ।
को हुन हमाल ?
गोपाल हमाल धनगढी उपमहानगरका लागि चितपरिचित व्यवसायिक अनुहार हो । धनगढीको व्यापारिक क्षेत्रमा प्रतिष्ठा कमाएका हमाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका बेलादेखि नै चर्चा छन् । २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष रहेका उनले सुदूरपश्चिम महोत्सवको सुरुवात गरेर सुदूरपश्चिम चिनाउने प्रयास गरेका थिए ।
सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडि प्रथा छ, सामाजिक कुरिति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुरामा पहिचान बनाएको सुदूरपश्चिमलाई उनले सुदूरपश्चिम सुन्दर छ, सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास गरेका थिए ।
उनको पालामा सुन्दर सुदूरपश्चिम अभियान सञ्चालन भएको थियो । सुदूरपश्चिमका सम्भावनाका एक हजार तस्बिरहरु देशव्यापीरुपमा प्रदशनीमा लगिएपछि सुन्दर सुदूरपश्चिम अभियान चर्चामा आएको थियो । त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार) पनि भनिन्छ ।
उनकै पालामा देशको कार्यकारी प्रमुखलाई सुदूरपश्चिम महोत्सवमा बोलाएर २१ किलोको माला लगाउने र २१ बुँदे मागहरु राख्ने अभियान पनि चलेको थियो । त्रिभुवन अन्तराष्ट्रिय पछिको देशकै लामो धावनमार्ग भएको धनगढी विमानस्थल बनाउन नीजि क्षेत्रको तर्फबाट एक पैसें अभियान चलाएका उनलाई यस क्षेत्रको विकासको परिकल्पनाकारका रुपमा पनि लिइन्छ । दलीय व्यवस्थामा निर्दलीय व्यक्तिको उम्मेदवारी त्यति सार्थक नभएपनि, दलहरु प्रतिको वितिष्णाले हमालले २०७४ सालकै निर्वाचनमा राम्रो मत पाएका थिए ।
हमाल आफूसँग धनगढी बनाउने मोडेल रहेको बताउँछन् । उनले, आफू पाँचवर्षका लागि मात्रै मेयर बन्ने र धनगढी मोडल लागू गर्ने बताएका छन् । 'म पाँच वर्ष मात्र मेयर बन्छु, मैले राजनीति गर्नु छैन, धनगढी मोडेलले दलका नेताहरुलाई पनि धनगढीको विकासका लागि प्ररित गर्नेछ,' उनले भने ।
२०७४ सालको स्थानीय तह निर्वाचन पनि साझा विवेकशील पार्टीका सुदूरपश्चिम संयोजक समेत बनेका हमाल यसपाली पनि साझा पार्टीबाट राजीनामा दिएर चुनावमा स्वतन्त्र रुपमा उत्रेका हुन् । उनलाई अरु दलबाट चुनाव लडन अफर पनि आयो । तर हमाल भन्छन्, 'म दलबाट चुनाव लडेर सजिलै जित्न सक्छु तर मेरो दलबाट लडेपछि मेरो त जित हुन्छ, जनताको हुँदैन । मैले फेरि त्यही कार्यकर्ता पाल्नुपर्छ, उनका लागि भ्रष्टाचार गर्नुपर्छ, म त्यो चाहदैन, त्यसैले म स्वतन्त्र लडछु र सबैको मेयर बन्न चाहन्छु ।’
हमालले, मेयरमा जितेपछि कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । हमाल भन्छन, 'मलाई सरकारी गाडी चढनु छैन, मेरो आफ्नो तीनवटा गाडि छ, मलाई सरकारी तलब खानुछैन, मेरो आफ्नै व्यवसायिक आम्दानी छ, मैले भ्रष्टाचार गर्नुछैन, किनकी मैले कार्यकर्ता पाल्नु छैन ।'
हमालले, धनगढी मोडेलको प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिसकेका छन् । उनले, भनसुनका आधारमा नभएर नगरको प्रार्थमिकताका आधारमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । धनगढी उपमहानगरको मेयरका लागि मनोनयन भर्न जाँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल ।