भाषणमा सिमित, कामको प्राथमिकतामा नपरेको सेतीराजमार्ग
अछाम : सुदूरपश्चिम प्रदेशको गौरव आयोजनाकोरुपमा रहेको सेती राजमार्गको काम अपेक्षा अनुसार आगाडि बढ्न सकेको छैन। सेती राजमार्ग बनेपछि सहज यात्रा गर्ने आशा राखेका यहाँका स्थानीयहरुमा कामको गति देख्दा निराशा देखिन थालेको छ।
निर्वाचनका क्रममा जिल्लाका नेताहरुको भाषण मात्र समेटिने सेती राजमार्ग कहिले पनि नेताहरुको कामको प्राथमिकतामा परेन। हरेक निर्वाचनमा दलहरुको भाषण र घोषणा पत्रमा समेटीने सेतीराजमार्ग निर्वाचन जितेसकेपछि भने कामको प्राथमिकतामा कहिल्यै नपरेको गुनासो स्थानीयहरुको छ।
सेतीराजमार्ग ढिलाई हुनुमा यहाँका जनप्रतिनिधि र राजनीतिकदल मुख्य जिम्मेवार रहेको स्थानीय रुपबहादुर कुँवर बताउछन्। उनले भने, ‘फेरि पनि चुनाव आयो, कुरा उहीँ हो सेतीराजमार्गको कुरा सबैको घोषणापत्र अनि भाषणमा आउछ, तर काम गर्ने बेला नेताहरुको पारा उस्तै छ हो।’
कर्मचारी अभाव, कार्यालय प्रमुख बदलिरहनु, जनप्रतिनिधिहरुको चासो नहुनुलगायतका कारणले सेती राजमार्गको काम प्रभावित हुँदै आएको छ। काम हुन नसक्दा बर्षेनी बजेट फ्रिज जाने गरेको छ। आर्थिक वर्ष ०७८/७९ मा राजमार्गको दक्षिणी खण्डका लागि ३४ करोड ८६ लाख बजेट रहेको छ।
यो वर्षको चैतसम्म कुल बजेटको २७.४७ प्रतिशत मात्र खर्च भएको छ। चालुतर्फ ६६ लाख ९३ हजार बजेट मध्ये २६ लाख ९३ हजार अहिलेसम्म खर्च भएको छ। पुँजीगततर्फ ३० करोडमा, हालसम्म ८ करोड ६३ लाख ६४ हजार खर्च भएको छ भने सडक तर्फको ४ करोड २० लाख मध्ये ६७ लाख ४३ हजार अर्थात सबै भन्द कम १६.०५ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ।
अबको ३ महिनामा कुल बजेटको ७३ प्रतिशत बजेट सक्नुपर्ने छ। सेती राजमार्ग कार्यालयमा लेखापाल थापाले बजेट प्रयाप्त आउने तर काम हुन नसक्दाँ सधै फ्रिज जाने गरेको बताए। उनले भने, ‘३ महिनामा कुल बजेटको ७३ प्रतिशत सक्नुपर्ने छ, सबैभन्दा कम सडकतर्फ खर्च भएको छ। कार्यालय प्रमुख हुदैनन्, प्रमुख नहुँदा ठेक्का खोल्न सकिदैन, अहिले हामी एक जना ईन्जिनियर, एक जना ओभरसियर र एक जना लेखापाल मात्र छौं। अनि कसरी हुन्छ काम।’
१२ जनाको दरबन्दी रहेको रहेको कार्यालयमा अहिले ३ जना कर्मचारी मात्र छन्। डोटीमा ४२ किलोमिटर र कैलालीमा २८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ। मुख्य डोटी क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ। दक्षिणी खण्डको लम्बाई २४२ किलोमिटर रहेको छ।
अहिलेसम्म १२५ किलोमिटर मात्र ट्रयाक खोलिएको छ। बिगतवर्ष भन्दा यो वर्षमा कामले गति लिएको राजमार्गका सूचना अधिकारी ईन्जिनियर प्रेइज अमात्य दाबी गर्छन्। उनले भने, ‘विगत भन्दा यो वर्ष काम भएको छ, अहिले विभिन्न ठाउँमा ठेक्का खोलेर काम अगाडि बढाएका छौं, जनशक्ति नहुँदा सबैभन्दा बढी समस्या छ।’लामो समयदेखि रोकिएको रुख कटानको आदेशसमेत प्राप्त भएको उनले बताए।
गत असारमा राजमार्ग अन्तर्गत लुंग्रेली गाडमा रहेको निर्माधिन पुल भत्कियो। पुल स्वाँर कन्ट्रक्सनले ०७५ असार २१ गते ४ करोड १६ लाख ७४ हजार ५ सयमा ०७८ चैत ३० गते सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो।
पुल निमार्णको कार्यको म्याद यही असारसम्म थप गरिएको छ। त्रिदेशीय नाका जोड्ने यो सडकले कैलालीको बौनियाँबाट सुरु भई डोटी, अछाम, बाजुराहुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोडनेछ। सेती राजमार्गमा १५ वटा पुल बन्ने छन्।