अछामका सात पालिकामा कांग्रेस-माओवादीबीच गठबन्धन हुने
अछाम : अछाममा निकै लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गठबन्धन हुने भएको छ। आइतबार मंगलसेनमा बसेको दुई दलको बैठकले स्थानीय तहको निर्वाचनमा जिल्लाका दश पालिकामध्ये सात पालिकामा तालमेल गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह र नेकपा माओवादीका जिल्ला संयोजक रविन्द्र साउदद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् ७ पालिकामा गठबन्धन गर्ने सहमति भएको जनाइएको छ। चौरपाटी, तुर्माखाद, बान्नीगढी जयगढ गाउँपालिका, कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकामा प्रमुख कांग्रेस र मेल्लेख र रामारोशनको प्रमुख माओवादीले लिने सहमति भएको छ।
बाँकी ३ पालिका साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका र ढकारी गाउँपालिकामा आवश्यकता अनुसार पालिकाले नै गठबन्धन गर्ने निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिए। उनले भने, ‘जिल्ला स्तरमा ७ पालिकामा माओवादीसँग तालमेल गर्ने भन्ने भएको छ। अन्य तीन पालिकाले आवश्यकताअनुसार समाजवादी अथवा माओवादी वा दुबैसँग तालमेल गर्न सकिने छ।’ यसैगरी दुई दलले जिल्लाका ९१ वडामध्ये ६१ कांग्रेस र ३० वडा माओवादीको भागमा परेको छ। ७ पालिकामा भागबण्डामा कुरा नमिलेपछि गठबन्धनबाट नेकपा एकीकृत समाजवादी भने बाहिरिएको छ।
कांग्रेसले दश वटै पालिकामा प्रमुखहरुको टुंगो लगाएको छ। कांग्रेससँगको सहमतिअनुसार माओवादीले भने उपप्रमुख तथा उपाध्यक्षहरुको टुंगो लगाएको छैन। अबको केही बेरमा पार्टीको बैठक बसेर आज रातिसम्म उम्मेदवारहरुको टुंगो लगाउने माओवादीका जिल्ला संयोजक साउदले जानकारी दिए। अथक प्रयासका बाबजुद पनि समाजवादीलाई सहमतिमा ल्याउन नसकेको समेत उनले बताए।
कांग्रेसले टुंग्यायो उम्मेदवार
यसैबीच नेपाली कांग्रेस अछामले उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। जिल्लाका दश पालिकामा प्रमुखहरुको टुंगो लगाएको हो।
कांग्रेसले मंगलसेनमा नगरपालिकामा नमबहादुर शाही, साँफेबगर नगरपालिकामा राजेन्द्र कुँवर, मेल्लेख गाउँपालिकामा शेरबहादुर शाह, रामारोशनमा गाउँपालिकामा मानबहादुर साउद, चौरपाटी गाउँपालिकामा भिमबहादुर साउद, बान्नीगढी जयगढ गाउँपालिकामा टेकबहादुर साउद रहेका छन्।
त्यस्तै ढकारी गाउँपालिकामा प्रकाशबहादुर साउद,तुर्माखाद गाउँपालिकामा कर्णबहादुर बुढा ,पञ्चदेवल बिनायक नगरपालिकामा प्रमुख अम्बिका चलाउने र कमलबजार नगरपालिकामा यज्ञ प्रसाद ढकाललाई उम्मेदवार बनाएको छ।