किन हुन्छ टिकट ‘खरिदबिक्री’ ?
काठमाडौं : उहिले–उहिले सिनेमाका टिकट कालोबजारी (ब्ल्याक) मा बिक्री हुन्थे। राजनीति विकृत हुँदै जाँदा आजभोलि राजनीतिक दलले उम्मेदवारको टिकट ब्ल्याक’ मा बिक्री गर्न थालेको बताउँछन, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल।
निर्वाचनमा साम, दाम र दण्डको प्रयोगसँगै विकृति र विसंगति बढ्दै छन्। संघ (प्रतिनिधिसभा–राष्ट्रियभा) चुनावदेखि स्थानीय गाउँ/नगरपालिकाको टिकट पनि पैसामा बिक्री हुन थालेको पोखरेलको भनाइ छ। ‘हाम्रो पालामा ब्ल्याकमा टिकट किनेर फिल्म हेर्न जान्थ्यौं,’ पोखरेल सम्झन्छन, ‘यस्तै, प्रवृत्ति अहिले राजनीतिमा देखापर्यो।’
राजनीतिक दल र नेताहरू आदर्श, निष्ठा र सिद्धान्तबाट च्युत बन्दै गएपछि राजनीतिमा विकृति र विसंगति बढ्दै छन्। पार्टीमा योगदान, इमान्दारिता, र निरन्तर खट्नेभन्दा दलाल, तस्कर र माफियाले पैसाको बलमा ‘टिकट’ किन्ने प्रवृत्ति बढ्दै गएको छ। स्थानीय तहमा पनि राज्यको स्रोत र साधन पर्याप्त जाने भएकाले ‘बिचौलिया र तस्करहरू’ नेतृत्व हडप्न केन्द्रित हुन थालेको विज्ञहरू बताउँछन।
अर्थशास्त्री तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ भन्छन्, ‘जो पार्टीको उपयुक्त उम्मेदवार हुँदैन। उसले पैसाको बलले टिकट किन्छ। सबैले टिकट किनेरै चुनाव लड्छन् त भन्ने पनि होइन्। तर, टिकट किन्नेहरू भने नभएका होइनन्।’ माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल दलहरू पूँजीपतिहरूको प्रभावमा पर्दैै गरेकाले ‘पैसा हाबी’ हँुदै गएको बताउँछन्। ‘पार्टीहरू आदर्शबाट च्युत भए। अवसरवादीहरू प्रश्रय पाइरहेका छन्,’ उनले भने, ‘सत्तालाई प्रयोग गर्न पार्टीभित्र सेटिङ गरिन्छ। सत्ताबाट लाभ दिन आफ्नो अनुकुलकालाई उम्मेदवार छान्ने प्रवृत्ति बढेको छ।’ पैसाको बलमा टिकट लिनेहरू सत्तामा पुगेपछि देश र जनताको पक्षमा भन्दा पनि धनार्जनमा केन्द्रित हुने गरेका छन्। ‘एउटा पार्टी प्रवेश गर्न हिँडेकाहरू बाटैबाट अर्को पार्टीमा पुग्छन्,’ पोखरेल भन्छन्, ‘अनि बाटैबाट टिकट पनि बिक्री हुन्छ।’
टिकटदेखि मत खरिद
अमेरिकामा पार्टीहरूले उम्मेदवार छान्न पार्टीभित्र चुनाव गराउँछन्। यसबाट लोकप्रिय उम्मेदवार छनोट हुन्छन्। तर, नेपालमा नेताहरू आफू र आफ्ना मान्छे उम्मेदवार बनाउनतिर लाग्ने गरेको पूर्वप्रमुख आय्ुक्त पोखरेल बताउँछन्। ‘ब्ल्याकमा टिकट लिनेहरूलाई मत पनि किन्नैपर्ने हुन्छ,’ उनी भन्छन्, ‘किनभने उसलाई न पार्टीभित्र सबैले मन पराउँछन् न त उ जनतामा लोकप्रिय हुन्छ।’
योग्यलाई पाखा लगाएर अयोग्यलाई पार्टीहरूले टिकट दिँदा पार्टीभित्र नेता तथा कार्यकर्तामा आक्रोस, अविश्वास र असन्तुष्टि बढ्ने गरेको उनी बताउँछन्। वर्षौंदेखि पार्टीमा लागेर जनतामा काम गर्नेहरू उम्मेदवारको टिकट लिएर चुनाव लड्न पालो कुरिरहेका हुन्छन्। ‘तर, अयोग्यले टिकट पाउँदा राजनीतिक रूपमा इमान्दार कार्यकर्ताहरूको भविष्य बिग्रन्छ।’
असक्षमको पोल्टामा टिकट पर्दा चुनाव पनि महँगो हुन्छ। चुनावमा धेरै खर्च गर्ने परिपाटीले चुनावमा सबै उम्मेदवारले समान चुनावी मैदान नपाइरहेको पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव बताउँछन्। ‘अविर लगाएर पार्टी प्रवेश गराइन्छ र टिकट दिइन्छ,’ यादवले भने, ‘कोही निर्वाचन आयोगले तोेकेको खर्चभन्दा कमैमा चुनाव जित्छन्। कोही त्योभन्दा बढी खर्च गर्छन्।’ टिकट बिक्रीले निष्ठावान, योग्य, इमान्दार, लोकप्रिय उम्मेदवार छायामा पर्ने गरेका छन्। ‘अर्थशास्त्रको सिद्धान्तअनुसार जसले लगानी गर्छ, त्यसले लगानीसहित नाफा कमाउँछ,’ डा. लाभ भन्छन्।
‘पहिले राजनीति सेवा र व्यवस्था परिवर्तन गर्ने मिसन थियो। तर, अहिले नेता बनेर कसरी कमाउने सोचको हाबी भइरहेको छ,’ पूर्वआयुक्त वीरेन्द्र मिश्र भन्छन्। ‘पहिले व्यापारी, माफियाहरू पार्टीलाई पैसा दिएर अवैध मालसमान वारपार गर्थे। अहिले ब्ल्याकमा पार्टीबाट टिकट किनेर चुनाव जित्ने अनि आफैं नेता, मन्त्री बन्ने अनि व्यापार व्यवसाय गर्ने प्रवृत्ति आयो।’ नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव रवीभूषण झा भन्छन्, जनप्रतिनिधिहरू उपभोक्तामार्फत विकासका काम दिन्छन्। उपभोक्ता त्यही राजनीतिक दलका कार्यकर्ता हुन्छन्। त्यहाँबाट कमाउन खोज्ने प्रवृत्ति छ।’