निजामती संस्कृतिका आयाम

निजामती संस्कृतिका आयाम

सन् २००२ को कुरा हो। बेलायत सरकारका यातायात सचिवको रूपमा सर रिचार्ड क्लाइब मोट्राम कार्यरत थिए। उनलाई एक संसदीय समितिमा सरकारप्रति निजामती सेवाको निष्ठाबारे प्रश्न सोधिएको थियो। उक्त प्रश्नको उत्तरमा उनले भनेका थिए, ‘निजामती सेवा आफ्नो स्वामीप्रति सदा बफादार रहन्छ ताकि त्यो बफादारी बापत उसलाई स्वामीको माया प्राप्त भइरहोस्।’  निजामती सेवाको निष्ठा र इमानप्रति सशंकित रहने राजनीतिप्रति मोट्राम  सदैव क्षुब्ध रहने गर्दथे। यही एक पक्षको अविश्वास एवं अर्को पक्षको अनुरागलाई लिएर  यदाकदा भन्ने गरिन्छ। निजामती सेवा मन्त्रीहरूलाई एकतर्फी प्रेम गर्छ।

निजामती सेवा योग्यता परीक्षाको माध्यमबाट छनोट भएका काबिल व्यक्तिहरूको संगठन हो। यो सेवाका मूल विशेषताहरू हुन्– तटस्थता, निष्पक्षता, दक्षता, व्यावसायिकता, विद्यमान सरकारको नीतिप्रति इमानदारीपूर्ण निष्ठा र पेसागत गुमनामी। यो सेवामा कार्यरत व्यक्तिहरूलाई थप अध्ययन, तालिम, सामयिक पदोन्नति, समुचित तलब– भत्ता र अवकाशपछिको जीवन सहज बनाउने गरी सुविधा प्रदान गरिएको हुन्छ। सेवाको सुरक्षा, स्थायित्व र वृद्धावस्थामा प्राप्त हुने सुविधाको कारणले प्रतिभावान् युवा यस सेवाप्रति आकर्षित हुने गरेको पाइन्छ।

निजामती सेवामा योग्यता परीक्षाको माध्यमबाट छनोट गर्ने परम्पराको थालनी प्राचीन चिनियाँ साम्राज्यमा भएको हो। त्यहाँ उच्च तहका निजामती कर्मचारीहरू सम्राट्का मन्त्रीको रूपमा कार्य गर्थे। उनीहरू राष्ट्रका अत्यन्त प्रतिष्ठित र सम्मानित नागरिकमा गनिन्थे। तल्लो तहका निजामती कर्मचारीको पनि ठूलो इज्जत र रवाफ हुन्थ्यो। भारतमा योग्यताको आधारमा कर्मचारी छनोट गर्ने प्रचलन इस्ट इन्डिया कम्पनीको शासनको समयमा सुरु भएको हो। उच्च तहका पदहरूमा प्रायः बेलायती नागरिकहरू नै छानिन्थे।

नगण्य संख्याका भारतीय प्रशासकहरू विदेशी शासनका उच्चस्तरीय देशी नोकरहरू कहलिन्थे। विदेशी साम्राज्यका नोकरहरूले स्वदेशी जनतामाथि शासन गर्ने हुँदा भारतमा ब्युरोक्रेसीलाई ‘नोकरशाही’ नामले सम्बोधन गर्न थालियो। समग्र भारतीय निजामती सेवा राष्ट्रको सेवक नभएर विदेशीको ‘नोकर’ हुन पुग्यो। कुनै पनि सरकारी सेवामा काम पाउनुलाई नोकरी भन्ने परम्परा बस्यो। देशी नोकरशाह र तल्लो तहका 
नोकरहरूको माध्यमबाट स्थानीय रैतीमाथि शासन गर्ने बेलायती ‘आइडिया’ कयौं वर्षसम्म सफल रह्यो।

नेपालको राणाकालीन निजामती सेवा योग्यतामा नभई खानदान र अनुग्रहमा आधारित थियो। प्रभुको वरद् कृपा प्राप्त भएमा बोकाले पनि हाकिमको आसनमा बसेर प्रशासन चलाउन सक्छ भन्ने उक्तिमा निजामती संस्कृतिको प्रबल विम्ब लुकेको छ। अन्तिम रसियन सम्राट् जार निकोलस द्वितीय भन्ने गर्थे, ‘मेरो साम्राज्यको शासन मैले होइन, मेरा १० हजार क्लर्कले चलाउने गर्छन्।’ असल निजामती नोकर भएको संगठनको हाकिम मूर्ख नै भए तापनि नियमित कामहरू स्वतःस्फूर्त रूपमा हुँदै रहन्थे। त्यस बखतको नेपालका निजामतीहरू राणाका नोकर थिए भने भारतका निजामतीहरू विदेशी प्रभुका। राणाकालीन नेपालका निजामती कर्मचारीहरू नितान्त असुविधाजनक वातावरणमा काम गर्न बाध्य थिए। तिनको स्थायित्व थिएन, सुविधा न्यून थियो। तल्लो तहका कर्मचारीहरूलाई हेप्ने र अपमान गर्ने परम्परा थियो। तथापि मानिसहरू निजामती सेवामा नोकरी गर्न हुरुक्क हुन्थे। दासानुदास प्रवृत्तिले ओतप्रोत त्यस सामन्ती सामाजिक पद्धतिमा दुई जना हाकिमबाट हेपाइ खाएको निजामती कर्मचारीले गाउँका २० जना सोझा रैतीमाथि रवाफ देखाउन पाउँथ्यो।

हामी नयाँ युगमा छौं। युग अनुरूप नेपाली निजामती सेवा पनि समयको प्रवाहसँगै नवीकृत र आधुनिक भएको छ। निजामती सेवा प्रभुको सेवकबाट राष्ट्रको सेवकमा रूपान्तर भएको छ। नेपालको संविधानले सार्वजनिक प्रशासनलाई ‘जनउत्तरदायी’ बनाउने नीति अंगीकार गरेको छ। अबको निजामती सेवा सरकार मात्र नभई जनताप्रति समेत उत्तरदायी हुनु पर्नेछ। यस व्यवस्थाअनुसार निजामती सेवाले जनतासँग व्यक्तिगत रूपमा परिचित र उत्तरदायी भएर कार्यसम्पादन गर्नु पर्नेछ। अब निजामती सेवाका कर्मचारीहरू गुमनाम नभई जनपरिचित राष्ट्रसेवकको रूपमा परिणत हुनु जरुरी छ।

संस्कृति निर्माण गरिँदैन, स्वयं निर्मित हुँदै जान्छ। संस्कृति चिरकालदेखि स्थापित र स्वीकृत हुँदै जाने एक स्वस्फूर्त चेतना हो। निजामती संस्कृतिको पनि आफ्नै औपचारिक र अनौपचारिक जीवनपद्धति छ। आचरण, व्यवहार, बोलीचाली, पहिरन, मर्यादा र आडम्बरको आफ्नै प्रकारको विलक्षणता छ यसमा। कुनै एक मात्र कार्यालय या कर्मचारीले मात्र निजामती संस्कृतिको सर्वांगीण प्रतिनिधित्व गर्न सक्दैन। सिंहदरबारदेखि सुदूर गाउँसम्म फैलिएका निजामती अड्डामा कार्यरत समग्र कर्मचारी वर्गको सामूहिक चेतना नै निजामती संस्कृति हो।

निजामती संस्कृतिका प्रमुख आयाम तटस्थता, निष्पक्षता, दक्षता, व्यावसायिकता, विद्यमान सरकारको नीतिप्रति इमानदारीपूर्ण निष्ठा र पेसागत गुमनामी हुन्। तथापि त्यहाँभित्र अत्यन्तै बलियो अनौपचारिक वैयक्तिक सम्बन्ध, पूर्वाग्रह र भेदभावको वातावरण रहेको हुन्छ। यो सेवामा निष्पक्षताको आधारमा कार्यगत सम्बन्धले मात्र कर्मचारीको मूल्यांकन हुन्छ भन्ने आदर्श कल्पना गरिन्छ। परन्तु व्यवहारमा त्यस्तो आदर्श पालना गरेको पाइँदैन। नेपाली निजामती संस्कृतिमा भेदभाव, वैरभाव, मित्रभाव, इष्र्याभाव, भक्तिभाव, बात्सल्यभाव र माधुर्यभाव गरी सात भाव विद्यमान छन्। यिनै भावहरूको आधारमा व्यक्तिगत सम्बन्धहरू कायम हुन्छन्। यस्ता भावहरूको माध्यमबाट नै निजामती प्रवृत्तिले सांस्कृतिक स्वरूप धारण गर्दै आएको छ।

२०६३ सालको परिवर्तनपछि पनि निजामती कर्मचारीले बाटो बिराउने क्रम जारी छ। के राजनीति र निजामती सेवा कमजोरीहरू सच्याउन राजी होलान् ?

भेदभाव भनेको समान हैसियतका व्यक्तिहरूबीच गरिने असमान व्यवहार हो। कसैसँग भेदभाव र कसैसँग  मित्रभावको सम्बन्धले गर्दा कतिपय कर्मचारीहरू विभेद र वञ्चनामा परे भने कतिले नाजायज फाइदा उठाए। कुनै कर्मचारीप्रति हाकिमको अतिशय बात्सल्यभावले गर्दा समान हैसियतका अन्य कर्मचारीहरू पछाडि पारिए। निजामती संस्कृतिमा मित्रभाव, मित्रभेद, भक्तिभाव र माधुर्यभावका अनेकौं रंगरूप छन्। कसैलाई सपार्न त कसैलाई बिगार्ने प्रवृत्ति निजामती संस्कृतिको बीभत्स रूप हो। त्यस कृत्यका सिकार भएका  निजामतीहरूको संख्या ठूलो छ।

निजामती सेवा देशकै योग्य युवाहरू रहेको बृहदाकार संस्था हो। यो सेवाकै सहयोगमा सरकारले नीति निर्माण गर्छ। राजनीतिले बाटो बिराउन सक्छ। राजनीतिक दाउपेच र सत्तालिप्साका कारण अनेकौं प्रपञ्चहरू रचिन सक्छन्। त्यस्तो विषम परिस्थितिमा पनि ब्युरोक्रेसीले अटल अडान लिएर राजनीतिलाई गलत कार्य गर्नबाट जोगाउँछ। राजनीतिले तर्जुमा गरेका नीति र कानुनको कार्यान्वयन गर्नु ब्युरोक्रेसीरूपी स्थायी सरकारको कर्तव्य हो। सरकारको  ब्युरोक्रेसीप्रति आदेशात्मक अधिकार हुन्छ भने ब्युरोक्रेसीसँग सरकारप्रति अनुनयात्मक कर्तव्य मात्र। जबजब राजनीति दिशाहीनता र अस्थिरतातर्फ उन्मुख हुँदै जान्छ, तबतब 
प्रशासन ठूलो चुनौतीमा पर्छ।

ब्युरोक्रेसी त्यसबेला झनै विवश हुन्छ, जब नियोजित विकास आयोजनालाई पर सारेर खल्तीबाट निस्केका आयोजनाहरू पेस गर्ने आदेश दिइन्छ। यस्तै अनपेक्षित दबाबका कारण निजामती सेवाको उच्चपदस्थ वर्गमा अकर्मण्यताको संस्कृति झांगिँदै गएको छ। तटस्थता निजामती संस्कृतिको आधारभूत आयाम हो। परन्तु केही वर्षयता यो सेवा राजनीतिमय हुँदै गएको छ। चुनावमा विजयी भएको दलले आफूलाई सहयोग गर्ने कर्मचारीहरूलाई विजयोपहारको रूपमा पुरस्कृत गर्ने परम्परा कायम भएको छ। अमुक दलको प्रबल सहयोगीको परिचय प्राप्त गरी संवैधानिक नियुक्ति प्राप्त गरेका पदाधिकारी तटस्थ र निष्पक्ष हुन्छन् भनेर विश्वास गर्न कठिन छ।

२०४६ सालको परिवर्तन निजामती सेवालाई सक्षम, व्यावसायिक र तटस्थ बनाई राख्ने संस्कृतिलाई टेवा दिन विफल भयो। नजानिँदो गरी सचिवको कर्तव्य नै मन्त्री खुसी पार्नु हो भन्ने बोध हुँदै गयो। अधिकांश  लाचार सचिवहरू आफ्नो अधिकारको प्रयोग गर्न समेत ‘हजुर हजुर’ गर्दै मन्त्रीको निर्देशन कुरेर बस्न थाले। उच्चस्तरीय कर्मचारीहरूको यो प्रवृत्तिबारे थाहा पाएका तल्लो तहका कर्मचारीले मन्त्रीहरूसँग मित्रता गाँस्न थाले। यो परिस्थितिले गर्दा निजामती सेवाभित्र जनताको साथी र राष्ट्रको सच्चा सेवक बन्ने संस्कृति कायम हुन कठिन हुँदै गयो। विडम्बना ! २०६३ सालको परिवर्तनपछि पनि निजामति कर्मचारीले बाटो बिराउने क्रम जारी नै छ। के राजनीति र निजामती सेवा कमजोरीहरू सच्याउन राजी होलान् ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.