तनहुँमा गठबन्धनमा भागबण्डा मिलेन : एक्ला-एक्लै उम्मेदवारी दर्ता गर्दै
तनहुँ : जिल्लामा सत्तारुढ दलहरुबीच भागबण्डा नमिलेपछि आ-आफ्नै हिसाबले उम्मेदवारी दिने निर्णय भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकमा कुन पालिका कुन पार्टीले लिने भन्ने विषयमा सहमति हुन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको छ ।
गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराउने निर्णय गरिएको कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनका अनुसार अहिले आ-आफ्नो तरिकाले मनोनयन दर्ता गरेपनि सहमतिका लागि गठबन्धनको पुन: साँझ ५ बजे बैठक बस्ने भएको छ ।
सचिव खनालले पाँच पालिकामा भागवण्डा नमिलेपछि सहमति नभएको बताउँछन् । उनले भने,'भानु र शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा माओवादी र एकीकृत समाजवादी दुवैको दाबी रहँदा उहाँबीच कुरा मिलेन । हाम्रो पार्टी (कांग्रेस' ले छा्ड्नै नमिल्ने व्यास नगरपालिका र ऋषिङमा गाउँपालिकामा एस र माओवादीले दाबा गर्यो । पहिला कांग्रेसले जितेको आँबुखैरेनीमा माओवादीले छा्ड्दै नछोड्ने भन्यो । अहिलेलाई आ-आफ्नो तरिकाले उम्मेदवारी दिने निर्णय भएको छ । उम्मेदवारी दर्ता भएपनि सहमतिको प्रयास जारी रहनेछ ।
सचिव खनालका अनुसार पार्टीभित्रबाट नगरपालिका, गाउँपालिका र वडाध्यक्षको उम्मेदवार टुंगो लगाउन अहिले छलफल चलिरहेको छ । 'अबको एक डेढ घण्टामा उम्मेदवारको टुंगो लाग्छ,' उनले भने ।