धनगढीमा सत्ता गठबन्धन र एमालले गर्यो मनोनयन दर्ता
धनगढी : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। एमालेका तर्फबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाले उमेदवारी दर्ता गराएका हुन। उनीहरुको निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउसो साढे १ बजे मनोनयन दर्ता गराएका हुन्।
एमालेका सबै वडाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
यस्तै सत्ता गठबन्धनबाट मेयर र उपमेयरलेपनि मनोनयन दर्ता गराएका छन्। मेयरमा हालकै मेयर नृपबहादुर ओडले मनोनयन दर्ता गरेका छन् भने उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गरेकी हुन्।
मेयर र उपमेयरमा सत्ता गठबन्धनमा सहमति भएपनि वडामा भने सहमति हुन नसक्दा चार वटै दलले आआफ्नो उमेदवारी दर्ता गराएका छन्। उपमहानगरका सबै वडामा गठबन्धनका सबै दलले आआफ्नै उम्मेदवार उठाएका छन्।
कांग्रेसले १९ वटै वडामा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम पडालका अनुसार वडा नम्बर १ मा सन्तोष मुडभरी, २ मा धर्मराज ओझा, ३ मा राजबहादुर ऐर, ४ मा बुद्धी खड्का, ५ मा गजेन्द्र शाही, ६ मा डण्डी सुवेदी, ७ मा सीताराम राना, ८ मा देवराज जोशी, ९ मा प्रेम भण्डारी र १० मा राजेन्द्र रानाले वडा अध्यक्षमा मनोनयन दर्ता गरेका छन्।
यस्तै वडा नम्बर ११ मा श्याम बिष्ट, १२ मा डवल थापा, १३ मा विजयराज जोशी, १४ मा मानबहादुर बिष्ट, १५ मा सुकदेव राना, १६ मा खेम चन्द, १७ मा माधव राना, १८ मा कुम्भ गिरी र १९ मा बाजु चौधरीले मनोनयन दर्ता गरेका हुन्।