जनकपुरधामको मेयरमा तमलोपाबाट ठाकुरको उम्मेदवारी
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी आईतबार तराई मधेश लोकतान्त्रिक पार्टी प्रवेश गरेकी नेतृ विभा ठाकुर जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा मनोनयन दर्ता गरेकी छिन्। मधेस आन्दोलनको अग्रणी भूमिकामा रहेकी जनकपुरधामकी लोकप्रिय विद्रोही स्वभावकी नेतृ विभा ठाकुरले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेसंगै महिला नगरप्रमुखको उम्मेदवार संख्या तीन पुगेको हो।
जनमत पार्टीबाट अनिता साह, नेकपा मसालबाट गीता कुमारी मण्डल र तमलोपाबाट विभा ठाकुर जनकपुरधामको मेयरको उम्मेदवार बनेकी हुन्। नेतृ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी भित्र एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गर्दै तमलोपाबाट उम्मेदवारी दिएको बताइन्।
उनले महिलालाई नेतृत्व सम्हालने अवसर प्राप्तभए निश्चय नै नगरभित्र नयाँ परिवर्तन हुनसक्ने दाबी गरिन्। ठाकुरले आफ्नो जीत सुनिश्चित रहेकोसमेत दाबी गरिन्। उनी लोसपाका नेता राजेन्द्र महतो निकट मानिएपनि आईतबार मात्र बृषेश चन्द्र लाल नेतृत्वको पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेकी हुन्।