पोखराको मेयरका टिकट खोसिएका पौडेलले मिथ्या आरोप लगाउने विरुद्ध संघर्ष गर्ने
पोखरा : एमालेबाट पोखरा महानगरपालिकाको मेयरका लागि टिकट पक्का भइसकेर पनि फिर्ता गरिएका नेता दीपक पौडेलले पार्टीभित्रबाट आफूमाथि षडयन्त्र भएको बताएका छन्। सुन चोरी गरेको भन्ने भिडिओ भाइरल भएपछि उनको टिकट खोसेर एमालेले कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको त्यस्तो प्रतिक्रिया आएको हो।
उनले पार्टीभित्रकै षडयन्त्रकारी तत्वले आफ्नो चरित्र हत्या गरेको बताएका छन्। एमाले केन्द्रीय सचिवालय बैठकले १० गते पौडेललाई पोखराको मेयर उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर भोलिपल्टै पार्टीले टिकट फिर्ता गरी कृष्ण थापालाई दिएको छ।
पौडेलले सोमबार विज्ञप्ति जारी गरी कामको श्रेष्ठताको आधारमा मेयरको टिकट पाएको उल्लेख गरेका छन्। ‘केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरुले दुराग्रह भावना राखि झुठो र सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे,’ पौडेलले भनेका छन्, ‘मलाई वैशाख १० गते पार्टीको आधिकारिक सचिवालय बैठकले मेयर पदको उम्मेदवार बनाएको थियो, पार्टी अध्यक्षज्यूले टेलिफोन गरी उपयुक्त समयमा कुनै जिम्मेवारी बहन गर्ने गरी निर्णय परिवर्तन गर्न सुझाव माग्नुभयो। म पार्टीको इमानदार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने वचनबद्धता प्रकट गरेँ। तर पार्टीको सचिवालय बैठकको निर्णय विपरीत आएको अप्रत्यासित निर्णयप्रति भने असहमति प्रकट गर्दछु।’
पौडेलले पार्टी कमिटीको अन्तिम आधिकारिक निर्णयविरुद्ध भएको कार्य पार्टी कमिटीबाटै बहस गर्ने बताएका छन्। आएका समाचार सर्वथा झुठ र भ्रमपूर्ण रहेको उनको भनाइ छ। कुनै कमी कमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न उनले अपिल गरेका छन्। ‘मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिनँ, अर्कालाई मिथ्या आरोप लगाएर पदका लागि मरिहत्ते गर्ने हर्कतविरुद्ध म जीवनभर संघर्ष गरिरहनेछु,’ उनले भनेका छन्, ‘शुभेच्छा प्रकट गर्ने हजारौं जनसमुदाय तथा आफन्तप्रति आभार प्रकट गर्दै गलत प्रवृत्तिविरुद्ध सदाझै पार्टीमा रहेर संघर्ष गर्ने प्रण गर्छु।’
.