प्यूठानमा उल्लासमय मनोनयन
प्यूठान : प्यूठानका नौ वटै स्थानीय तहमा नेकपा एमालेका उमेद्वारहरुले उल्लासमय रुपमा उमेद्वारी दर्ता गराए। सत्तागठवन्धन अन्तिम विन्दुसम्म उमेद्वार छनौटमै भइरहँदा एमालेका उमेद्वारहरुले शक्ति प्रदर्शनसहित उमेद्वार दर्ता गराएका हुन्।
माण्डवी गाउँपालिकामा उमेद्वार दर्ता गराउँदा करिव दुई घण्टा भालुवाङ—प्यूठान सडक ठप्पै भयो। सयौं मोटरसाइकल र गाडीले देविस्थान, चकचके बजार परिक्रमा गरि शक्ति देखाए। र्यालीमा धेरै युवा सहभागी थिए।
एक्लै चुनाव लडेको एमालेले झिमरुक गाउँपालिकामा शक्ति देखाएर मनोनयन दर्ता गराएको छ। झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन्। एमाले र माओवादी एकल प्रतिस्पर्धामा छन्। अन्तिम चरणमा एमाले, माओवादी सँगै चुनाव लड्ने चर्चा भए पनि तालमेल हुन सकेन।
कुनैबेला मसाल र त्यसको चुनावी मोर्चाको लालकिल्ला भनेर चिनिने झिमरुकमा नेकपा एमालेको झण्डा र सयौँको संख्यामा एमालेको शक्ति प्रदर्शन सहित मनोनयन हुँदा एमाले नेता, कार्यकर्तामा उत्साह देखिन्थ्यो। झिमरुकमा अहिले राजमोको सत्ता छ। तर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षले राजीनामा दिइसकेका छन्।
मनोनयनकै दिन कांग्रेस क्षेत्रिय उपसभापती एमाले प्रवेश
नेपाली कांग्रेस प्यूठान निर्वाचन क्षेत्र नं १ का क्षेत्रीय उपसभापति जैनुल मियाँ एमालेमा प्रवेश गरेका छन्। मियाँसंगै सरुमारानी गाउँपालिका सचिव जागेश्वर पोख्रेल, सहसचिव कल्पना बि.क, ईश्वर थापालाई एमाले नेता तथा संविधान सभा सदस्य धन बहादुर रायमाझी, एमाले प्यूठानका उपाध्यक्ष तथा गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर विश्वकर्मा लगायतका नेताहरुले स्वागत गरे।
सोमबार उम्मेदवार मनोनयनकै दिन नव–प्रवेशीहरुलाई पार्टी प्रवेश गराइएको सरुमारानी गाउँ कमिटी सचिव चिन्त सोमैले जानकारी दिए। गठबन्धनमा असहमती जनाउँदै उनीहरूले विद्रोहको बाटो रोज्दै समृद्ध गाउँपालिका बनाउने अभियानमा एमाले नै सच्चा पार्टी भएको प्रतिक्रिया नवप्रवेशीहरुले दिए।