अझै जेलबाट छुटेनन् पत्रकार पाण्डे

अझै जेलबाट छुटेनन् पत्रकार पाण्डे

काठमाडौं : ‘यूएईमा भिजिट भिसाको समस्या कहिल्यै समाधान हुँदैन,’ पत्रकार उमाकान्त पाण्डेले जनवरी ८ (पुस २४ गते) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए। यूएईमा कार्यरत पाण्डे नेपाल आएका बेला सामाजिक सञ्जालमा यस्तो लेखेका थिए। 

पाण्डे जब यूएई फर्के तब त्यहाँका प्रहरीले उनलाई पक्राउ गर्‍यो। पाण्डेले भिजिट भिसालाई यूएईमा रहेको राजदूतावासले नै प्रोत्साहन र सहयोग गरेको आरोप फेसबुक स्टाटसमा लगाएका थिए। ‘दूतावासमा स्थानीय, कर्मचारी कति नियुक्त गरियो ?, यसो गर्दा ती व्यक्तिलाई कुन भिसामा यूएई बोलाइयो ?,’ उनले प्रश्न गर्दै लेखेका थिए, ‘भिजिट भिसाको मुख्य जरो दूतावासभित्रै छ। नियत खराब भएपछि मिठो बोलेर मात्र केही हुँदैन।’ 

पत्रकार पाण्डेले फेसबुकमा यस्तो लेखेपछि त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले पाण्डेलाई प्रहरीमार्फत पक्राउ गर्न लगाएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए। १६ वर्षदेखि यूएईमा रहेका पत्रकार पाण्डेलाई राजदूतावासकै लेटरप्याड प्रयोग गरी दुबई अदालत र प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको रहस्य खुलेको हो। राजदूत ढकालले नै पत्रकार थुन्न लगाएपछि पत्रकार महासंघले परराष्ट्र मन्त्रालयमार्फत उनको रिहाका लागि पहल गरेको थियो। 

महासंघका अध्यक्ष पोखरेलले परराष्ट्रमन्त्री र कर्मचारीले टेलिफोन गर्दा राजदूत ढकालले ढाँट्ने गरेको बताए। तर, पत्रकार पाण्डेलाई पक्राउ गर्न दूतावासको लेटरप्याड नै प्रयोग भएको प्रमाण फेला परेको महासंघ अध्यक्ष पोखरेलले जनाए। ‘विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न पहल गर्नुपर्ने दूतावासले लेटरप्याडमै कारबाही गर्न सिफारिस गर्नु गलत हो,’ उनले भने, ‘समस्या समाधान गरिदिनुपर्ने निकायले थुन्न पत्राचार गर्नु अख्तियारको दुरुपयोग हो।’

‘अख्तियारको दुरुपयोग र आफ्नै नागरिकलाई विदेशमा जेल हाल्न षड्यन्त्र गर्ने राजदूतलाई पदमा बस्ने कानुनी आधार र नैतिकता छैन,’ उनले भने। पत्रकार पाण्डे २ महिनादेखि जेल सजाय भोगिरहेका छन्। उनका भिनाजु पिताम्बर भुसालले भने, ‘स्टाटस लेखेकै भरमा राजदूत कृष्णप्रसाद ढकालले किन जेल पठाए ? हाम्रो भाइले हत्या, बलात्कार जस्तो जघन्य अपराध गरेको थिएन।’

उनलाई दुबईको अदालतले तीन महिना जेल सजायको फैसला गरेको छ। तीन महिना कटेपछि देश निष्कासन (डिपोर्ट) गर्न अदालतले फैसला सुनाएको छ। त्यस्तै, अदालतले उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनुका साथै जरिवानाबापत २० हजार दिराम (७ लाख ९९ हजार बढी नेपाली रुपैयाँ) जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार पाण्डेको रिहाइका लागि पत्राचार गरिएको बताइन्। 

‘हामीले केही दिनअघि नै पत्राचार गरिसकेका छौं,’ उनले भनिन्, ‘त्यहाँ रमजान चलेर केही समय ढिलाइ भएको होला।’ तर, पत्रकार पाण्डेका भिनाजु भुसालले भने पाण्डेलाई छुटाउन परराष्ट्र मन्त्रालयलगायत कसैले चासो नदिएको गुनासो गरे। ‘परराष्ट्रमन्त्रीले अरू पनि यस्ता ‘केस’ छन् भन्दै केही गर्न नसकेको जवाफ दिए,’ भुसालले भने। राजदूत ढकालले भने पाण्डेको रिहाइको तयारी भइरहेको बताए। ‘चाडै नै रिहाइ हुन्छन्,’ उनले भने, ‘यसमा यूएई सरकारले पनि सहयोग गरेको छ।’ 

अदालतले डिपोट गर्ने फैसला सुनाए पनि रिहाइको प्रक्रिया पूरा गरी पाण्डे यूएईमा नै रहने राजदूत ढकालको भनाइ छ। तर, मन्त्रालयले मुद्दा फिर्ता लिन राजदूतसँग आग्रह गरिए पनि ढिलाइ भएकोमा पीडित चिन्तित छन्।  भुसालका अनुसार राजदूतको सिफारिसमा दूतावासका जनसम्पर्क अधिकृत इरफान आलमले त्यहाँको प्रहरी र अदालतमा उजुरी हालेका हुन्। ‘एम्बेसीले मुद्दा हालेको छ। फेसबुकमा लेख्ने उद्देश्य के रहेछ भनेर फेब्रुअरी १५ मा सोधिएको थियो,’ उनका आफन्त भुसालले भने।  

पछिल्लोपटक मानव तस्करले भिजिट भिसामा कामदरलाई यूएईमा पठाउने र अलपत्र पार्ने गरेका छन्। गृहमन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले भिजिट भिसामा बदमासी भइरहेको सुझाव दिएपछि सरकारले उक्त भिसामा कडाइ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.