रोशीमा स्वतन्त्र उम्मेदवारविरुद्ध दाबी विरोध
काभ्रे : जिल्लाको रोशी गाउँपालिका- ७ मा नेपाली कांग्रेसबाट वडाध्यक्षको लागि उम्मेदवारी दिएका रामकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदारविरुद्ध दाबी विरोध दर्ता गरेका छन्।
वडा नम्बर ७ मा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका मेघबहादुर तामाङविरुद्ध श्रेष्ठले दाबी विरोध दर्ता गरेको निर्वाचन अधिकृत सूर्य गौतमले जानकारी दिए। उम्मेदवारी दिएका तामाङविरुद्ध कालोसूचीमा परेको, बेरुजु भएको विषय उल्लेख गरेर निवेदन परेको गौतमले बताए।
निवेदनउपर छलफल गर्नको लागि जुन उम्मेदवारविरुद्धमा उजुरी दर्ता भएको हो, सो उम्मेदवार आफ्नो सफाई तथा सबुद प्रमाणसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुनको लागि सूचना जारी गरिएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए।
दुवै पक्षबीच छलफल गरेर प्रमाण पुग्ने नपुग्ने बिषयमा थप छलफल गरिने अधिकृत गौतमले बताए। गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा बेलुका पाँच बजेसम्ममा एकमात्र निवेदन परेको छ।