सिम्रिकको हेलिकोप्टरबाट पानी खसालेर यसरी गरियो शिवपुरीको आगो नियन्त्रणको प्रयास (फोटो फिचर)
काठमाडौं : नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार आगलागीको खबर पाउने वित्तिकै सिम्रिक एयरको हेलिकोप्टरले पानी छर्केर नियन्त्रणको प्रयास गरेको थियो। साँझसम्म एकतर्फीतिरको आगो नियन्त्रणमा आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन। साँझको अध्यारोसँगै हेलिकोप्टर उड्न नसक्ने भएकाले माथिबाट पानी खसालेर निभाउने कार्य स्थगित भएको छ। यद्यपि अग्नि नियन्त्रक, सुरक्षाकर्मी र स्थानीय खटिएका छन्।
आगो लाग्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। जंगलमा आगो लागेपछि स्थनीयवासीले प्रहरीलाई खबर गरेका थिए। सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याएर आगो नियन्त्रणको प्रयास गरेको थियो। नजिकैको पोखरीबाट पानी लगेर हेलिकोप्टरले आगो नियन्त्रणको प्रयास गरेको प्रहरीले जनाएको छ।
एक वर्ष अगाडि २०७७ चैत्रमा समेत शिवपुरी जंगलमा आगलागी गएको थियो। त्यतिबेला पनि सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याएर आगो नियन्त्रणमा लिएको थियो।
बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक अनिल ठकुरीले हेलिकोप्टरबाट पानी छर्केर निभाउने प्रयास गरे पनि अझै नियन्त्रणमा आइनसकेको बताए। उनकाअनुसार बदलीमाथिको तारेभिरमा लागेको आगो निभाउन म्यादी प्रहरी, नेपाली सेना, नगरपालिकाको दमकलसहित अग्नि नियन्त्रक टोली र स्थानीय खटिएका छन्।