सिन्धुलीको कमलामाई नगरका उपमेयर श्रेष्ठको उमेद्वारी रद्ध
सिन्धुली : नेकपा माओवादी केन्द्रका उमेद्वार दिर्घराज श्रेष्ठले सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयर पदमा दिएका उमेद्वारी दर्ता रद्ध भएको छ। श्रेष्ठको नयाँ शक्ति पार्टीमा हुँदा आँखा चुनाव चिन्हबाट समानुपातिकका सांसदको बन्द सूचिमा नाम भएको पाइएपछि उपमेयर पदको उमेद्वारी दर्ता नभइ रद्ध भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठको २०७४ सालको निर्वाचनमा समानुपातिक सांसदको बन्द सूचिमा नाम भएपछि सफ्ट्वयरले उमेद्वारी दर्ता लिन मानेको थिएन। श्रेष्ठले सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उमेद्वारी दिएका थिए।
श्रेष्ठसहित कमलामाई नगरपालिकामा विभिन्न पदका १० जना उमेद्वारको उमेद्वारी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाकारी दियो।
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा रहेको तत्कालीन नयाँ शक्ति पार्टी एकीकरणपछि अहिले जनता समाजवादी पार्टी भएको छ। उक्त पार्टीका केन्द्रीय नेता श्रेष्ठ केही महिना अघिमात्र माओवादी केन्द्रमा प्रवेश गरेका थिए। नयाँ शक्ति पार्टी नै अस्तित्वमा नभएको र आफ्नो बन्दसूचिको उमेद्वारी पनि आधिकारिक नभएको श्रेष्ठले दावी गर्दै उमेद्वारी दर्ता गर्न अनुरोध गरेका थिए।
श्रेष्ठको बन्द सूचिबाट नाम हटाइदिन सत्तारुढ दल जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा लिखित निवेदन दिएका भए पनि मंगलबार सोही पार्टीका अर्का नेता डाक्टर बाबुराम भट्टराईले अर्को पत्र लेख्दै श्रेष्ठको नाम बन्द सूचिबाट नहटाउन आग्रह गरेपछि लफडा भएको थियो।
श्रेष्ठले आफ्नो पार्टी छाडेको झोकमा डाक्टर भट्टराईले बन्द सूचिबाट नाम नहटाउन दवाव पत्र लेखेपछि आयोगले प्रकृया अनुसार श्रेष्ठको उमेद्वारी दर्ता हुन नसकेको र रद्ध गरिएको आधिकारिक सूचना गरेको छ।
स्थानीय तहको निर्वाचन २०७९ मा समानुपातिक सांसदको बन्द सूचिमा नाम भएका स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्न नपाउने कानुनी व्यवस्था भएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए।
यता गठबन्धनका उपमयेरका उमेद्वारको उमेद्वारी नै रद्ध भएपछि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस संकटमा परेका छन्। जिल्लामा गठबन्धन दलका तर्फबाट मेयरमा नेपाली कांग्रेसका उपेन्द्र पोखरेलको उमेद्वारी दर्ता भएको छ। नेकपा एमालेले मेयरमा महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मन्जु देवकोटाको उमेद्वारी दर्ता गराएको छ।