बैंकबाट झिकियो २२ अर्ब निक्षेप
काठमाडौं : मुलुकमा स्थानीय चुनावको चहलपहल बढेदेखि बैंकिङ प्रणालीको निक्षेप पनि बाहिरिएको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि वैशाखको दोस्रो सातासम्ममा वाणिज्य बैंकबाट मात्रै २२ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।
नेपाल बैंकर्स संघले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख सुरु भएको नौ दिनसम्म मात्रै २२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट घट्दा ४३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप कायम रहेको छ। तर, उक्त निक्षेपमा विदेशी मुद्राको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ। यसअघि चैत्र मसान्तसम्ममा २७ वाणिज्य बैंकहरूले ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप बटुलेका थिए।
पछिल्लो साता बैंकको निक्षेप घट्नुको एक कारण नजिकिँदै गरेको चुनाव पनि हुन सक्ने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माको अनुमान छ। ‘एउटै बैंकबाट ठूलो रकम घटेको छैन। प्रायः प्रत्येक बैंकबाट १–२ अर्ब रुपैयाँ हाराहारी वा योभन्दा कमले पनि निक्षेप घटेको छ। सो दरले करिब २४ ओटा बैंकको निक्षेप घटेको देखिन्छ, ‘उनी भन्छन्, ‘चुनाव नजिकिँदै गरेकाले यसमा पनि जोडेर हेर्ने सम्भावना पनि रहन्छ। यो हाम्रो अनुमान हो। यसबाहेकका कारणले पनि घटेको हुन सक्छ।’ यद्यपि चुनावपछि बैंकिङ प्रणालीमा निक्षेप बढ्नेमा कम मात्रै अपेक्षा गर्न सकिने उनको भनाइ छ। किनभने यसअघि भएको चुनावमा बैंकिङ प्रणालीमा निक्षेप खासै नबढेकाले अहिले पनि यसको प्रभाव खासै हुन नसक्ने संघका कार्यकारी निर्देशक शर्माको तर्क छ।
यता नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चुनावले भन्दा पनि चैत्र मसान्तमा विभिन्न संघसंस्थाहरूले सरकारलाई राजस्व तिर्नु परेकाले निक्षेप घटेको बताउँछन्। उनका अनुसार यससँगै नेपाल आयल निगमले आयात गरेको पेट्रोलियम पदार्थको भुक्तानी गर्नु परेकाले पनि बैंकिङ प्रणालीबाट निक्षेप घटेको हो। ‘आयल निगमले पेट्रोलियम पदार्थ आयात गरेपछिको भुक्तानी रकम ठूलै हुन्छ। साथै अन्य आयातित वस्तुको एलसी तथा टीआर लोनको भुक्तानी पनि भएको हुन्छ। यसले निक्षेप घट्नु स्वाभाविक हो,’ उनले भने।
यद्यपि चालू आर्थिक वर्ष २०७८/०७९ सुरु भएदेखि नै वाणिज्य बैंकहरूले निक्षेप बढाउन खासै सकेका थिएनन्। आर्थिक वर्षको सुरुवातदेखि वैशाख दोस्रोे सातासम्म कुल निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा प्रवाह भने ४ खर्ब ७३ अर्ब रुपैयाँले बढेको छ। स्रोत संकलनको तुलनामा लगानीको माग ह्वात्तै बढ्दा समग्र बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभावको स्थिति कायमै छ। अझै बैंकिङ प्रणालीमा अपेक्षाअनुसार निक्षेप संकलन नहुनु र कर्जा वृद्धि भने अधिक देखिन्छ। निक्षेप र कर्जाको असन्तुलन वृद्धिले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नियन्त्रणमा भने आउन सकेको छैन।
यसो हुँदा तरलता कसिलो स्थितिमा छ। नेपाल राष्ट्र बैंकको तथ्यांक समग्रमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औसत ९०.९२ प्रतिशत माथि छ। तर, अधिकांश बैंकले असार मसान्तसम्ममा सीडी रेसियो ९० प्रतिशतको सीमामा ल्याउनु पर्नेछ। सो सीमा काय गर्न अझै समय रहेकाले बैंकहरू सजग रहेको तर्क गर्छन्।
निक्षेपको तुलनामा कर्जा प्रवाह भने समग्रमा बढेको छ। तर, चैत्र मसान्तको तुलनामा वैशाख दोस्रो सातामा कर्जा प्रवाह पनि तीन अर्बले घटेको छ। यस अवधिमा बैंकहरूले विदेशी मुद्रामा गर्ने लगानी घटाएकाले समग्र कर्जावृद्धि घटेको हो। गत चैत्र मसान्तसम्म ४३ अर्ब रुपैयाँ विदेशी मुद्रामा कर्जा प्रवाह भएकोमा वैशाख दोस्रोे साता यस्तो लगानी ३ अर्बले घटेर ४१ अर्ब रुपैयाँमा सीमित छ। यसो हुँदा वैशाख ९ गतेसम्म वाणिज्य बैंकबाट कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको संघको तथ्यांकमा उल्लेख छ।