सिन्धुलीमा कांग्रेसका गाउँपालिकाका अध्यक्ष उम्मेदवारविरुद्ध उजुरी, ८ लाख बढी वेरुजु रकम तिर्न बाँकी रहेको आरोप
सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिकाका अध्यक्ष पदका उमेदवार कर्णबहादुर मगरको उमेदवारीविरुद्ध दाबी विरोध परेको छ । निर्वाचन अधिकृतको कार्यालय तिनपाटनका अनुसार मगरले आफ्नो नाममा रहेको थापा कन्स्ट्रक्सन सर्भिस प्रालिका नाममा ठेक्का पट्टा गरिरहेको र गाउँपालिकामा बेरुजु रकम समेत तिर्न बाँकी रहेको भन्दै उजुरी परेको हो ।
मगरलाई नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्ष पदका उमेदवार छत्र दाहालले उजुरी दिएका हुन् । मगर सत्तारुढ दलका गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उमेदवार हुन् । मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा विजेता समेत भएका थिए ।
अध्यक्ष पदका उमेदवार मगरले आफ्नो नाममा भएको कन्स्ट्रक्सन र पालिका भित्रकै ठेक्कामा ७ लाख ५० हजार हजारबढी वेरुजु फछ्र्यौट गर्न बाँकी रहेको दावी गर्दै अर्का अध्यक्ष पदका उमेदवार दाहालले उमेदवारी दर्ता खारेज गर्न माग गरिएको निर्वाचन अधिकृत पुष्पराज कटुवालले बताए ।
तर, नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार कर्ण बहादुर मगरले भने उक्त उजुरी गठबन्धनको शक्तिबाट आत्तिएर प्रतिस्पर्धामा हार्ने डर र कमजोर मानसिकताबाट रचियको प्रपोगाण्डा मात्र भएको प्रतिक्रिया दिएका छन् । ‘मेरो उम्मेदवारीविरुद्ध दावी विरोध परेको मलाई निर्वाचन अधिकृतको कार्यलयले जानकारी गराएको छ । हाल थापा कन्स्ट्रक्सन सर्भिस मेरो नाममा छैन र यसको सम्पूर्ण बेरुजु रकम र कर चुक्ता पहिला नै गरिसकेको छु । यसको विवरण महालेखा परीक्षक कार्यालयलाई बोधार्थ रहेको तीनपाटन गाउँपालिकाबाट राजस्व दाखिला गरेको पत्र यस अघिनै प्राप्त गरिसकेको छु,' उनले भने ।
मगरले आफ्नो उम्मेदवारी दर्तामा कुनै पनि कानुनी समस्या भएको दावी समेत निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको जनाए । स्थानीय तह निर्वाचन ऐन २०७३, स्थानिय तह निर्वाचन नियमावली २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा स्थानीय तहलाई कुनैपनि जिन्सी वा नगद बुझाउन बाँकी नरहेको, कुनैपनि स्थानीय तहको ठेक्कपट्टा, चलअचल सम्पत्तिमा सम्बन्धित व्यक्ति संलग्न नरहेको र सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नभएको व्यक्तिमात्र स्थानीय तहको उमेदवार बन्न पाउने व्यवस्था छ ।
अध्यक्ष पदका उमेदवारमाथि दिइएको उजुरी र बेरुजु फछ्र्यौट भएको दावीको पत्र समेत रहेको छ ।