अरूसँगको तालमेल टुटाउँदै गठबन्धन
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा गठबन्धनभित्र भागबन्डा नमिल्दा तल्ला कमिटीले कतिपय स्थानमा एमालेसँग चुनावी तालमेल गरेका छन्। बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले केन्द्रबाट गठबन्धनबाहेकका दलसँगको तालमेल अविलम्ब खारेज गर्ने निर्णय गरेको छ।
यद्यपि, उम्मेदवारी दर्ता भने सबै ठाउँमा भइसकेको छ। तैपनि तालमेल नभएका ठाउँमा बुधबारै छलफल गरी समझदारीको वातावरण बनाउन गठबन्धनले निर्देशनसमेत दिएको छ। शीर्ष नेताहरूले गठबन्धन दलबाहेक अन्य दलसँग तालमेल गरेको भए तत्काल खारेज गर्न निर्देशन दिएको हो।
निर्देशनपत्रमा ‘गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका पालिका तथा तिनका वडाहरूमा समेत आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिन,’ गठबन्धनले निर्देशन गरेको छ।
सो बैठकमा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन गरेका हुन्।
‘गठबन्धनभित्रका दलहरूले गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा अविलम्ब खारेज गर्ने,’ उक्त निर्देशनपत्रमा भनिएको छ। गठबन्धनको बैठकमा सहभागी एक नेताका अनुसार जसपा अध्यक्ष यादव र जनमोर्चा उपाध्यक्ष पौडेलले गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने निर्णय गरेर एमालेसँग गर्ने ? भनी कांग्रेस, माओवादी र समाजवादीका नेतृत्वलाई प्रश्न गरेका थिए। उनीहरूको प्रश्नलगत्तै देउवा, प्रचण्ड, नेपालले एमाले र राप्रपासँगको तालेमल खारेज गर्ने र गठबन्धनभित्रै सहमति निकाल्ने बताएका थिए ।
६ महानगर र ११ उपमहानगरका वडा तहमा समेत सिट बाँडफाँट गरी तालमेल गरेर अघि बढ्न निर्देशन गरेको छ। गठबन्धनले सम्बन्धित प्रदेश र जिल्ला संयन्त्रको बुधबारै बैठक राखेर तालमेल गर्न बाँकी ठाउँमा तत्काल गर्न निर्देशन गरेको छ। गठबन्धनले महानगर र उपमहानगरमा गठबन्धनको निर्णयविपरीत परेका दलगत रूपमा परेका र स्वतन्त्र रूपमा परेका उम्मेदवारीसमेत फिर्ता गर्ने निर्णय गरेको छ। गठबन्धन दल राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले, ‘ठूला दलले मनपरि गरे। आफ्नो स्वार्थ हुँदा जहाँ जोसँग पनि गठबन्धन गरेर हुन्छ ? यसैको विरूद्घमा आवाज उठाएका हौं। अन्तत : प्रधानमन्त्री जीलगायतले कुरा सुनिदिनुभयो। यसले गठबन्धन ठूलो दुर्घटना हुनबाट जोगिन सक्छ।’
एमाले र राप्रपासँग गरिएका तालमेलका क्षेत्रहरू
कांग्रेस र एमालेबीच गठबन्धन
–रोल्पाको सुनछहरी र माडी गाउँपालिका
–सल्यानको कुमाख गाउँपाकिा
– भोजपुरको आमचोक र साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका
– झापाको कचनकवल गाउँपालिका
– पूर्वी रुकुमको सिस्ने गाउँपालिका
– कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीको समूहले तनहुँमा एमालेसँग तालमेल
– डँडेल्धुरामा कर्ण मल्ल समूह र एमालेबीच ४ पालिका तालमेल
माओवादी केन्द्र र एमालेबीच तालमेल
– प्युठानको झिमरुक गाउँपालिमा राष्ट्रिय मोर्चाविरुद्ध एमालेसँग तालमेल
नेकपा एस र एमालेबीच तालमेल
– हुम्लाको चंखेली गाउँपालिकामा
कांग्रेस र राप्रपाबीच तालमेल
– झापाको दमक नगरपालिकामा
यससँगै एमाले र राप्रपासँग स्थानीय स्तरमा कांग्रेस, माओवादी र समाजवादीले गरेको तालमेल भंग हुने भएको छ। सबैभन्दा धेरै कांग्रेसले एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ। उम्मेदवारी सच्याउने समय वैशाख १६ गते अगावै गठबन्धनभित्रै सिट बाँडफाँटमा सहमति जुटाएर नयाँ उम्मेदवारी दिने तयारी छ।
केन्द्रबाट गठबन्धनले एमाले र राप्रपासँगको तालेमल खारेजीको निर्णय गरेसँगै यी ठाउँहरूमा एमाले उम्मेदवार पनि संकटमा परेका छन्। कचनकवल गाउँपालिकाका कांग्रेसका नेता नुर आलम भन्छन्, ‘गठबन्धनले केन्द्रमा किचलो होला यहाँ केही नराम्रो छैन। एमालेसँग मिलेरै हामी चुनावमा छौं। अहिले हाम्रो लडाइ राप्रपाविरूद्धको हो।’