चुनावमा गठबन्धनको औचित्य
केही आशंका र केही उत्साहबीच सत्ता गठबन्धनले अधिकांश स्थानीय तहमा संयुक्त उम्मेदवारी दर्ता गरेको छ । महानगर र उपमहानगरमा साझा उम्मेदवार उठाउन सफल भए पनि केही गाउँ/नगरमा भने गठबन्धनको ‘मर्म र भावना’अनुसार साझा उम्मेदवारी पर्न सकेन । यद्यपि, जे जति उम्मेदवारी परेका छन्, तीभित्र सहमति खोज्ने र गठबन्धनको साझा उम्मेदवार बनाउने गृहकार्य चलिरहेकै छ । यसबाट पनि सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र गठबन्धन गरेर चुनावमा जाने कि नजाने भन्नेमा सुरुदेखि नै विवाद, बहस र फरक मत थिए । एकथरी साथीहरू, कम्युनिस्ट पार्टीमा विभाजन आएको, कांग्रेसका पक्षमा चुनावी माहोल बनिरहेको भन्दै कांग्रेस एक्लै चुनावमा जानुपर्ने तर्क गरिरहेका थिए । गठबन्धन गर्दा कांग्रेसकै नेता/कार्यकर्ताले ‘रुख’ मा भोट हाल्न नपाउने र यसले दीर्घकालसम्म पार्टीलाई नोक्सान पुर्याउने उनीहरूको तर्क थियो । यो तर्क, भावना र चिन्ताप्रति पार्टी नेतृत्व पनि उत्तिकै चिन्तित थियो । यस विषयमा पार्टीमा अनेक कोणबाट छलफल र बहस भए । सरकार गठनताका पाँच दलबीचको सहमतिअनुसार अघि बढ्ने निष्कर्षमा पार्टी पुग्यो । र, सत्तासीन दलहरूबीच स्थानीय तहमा गठबन्धन कायमै राख्यौं । गठबन्धनका साझा उम्मेदवार बनाएर चुनावमा जाने निर्णयमा पुग्यौ । यो कांग्रेस पार्टी र नेतृत्वका लागि रहर नभई परिस्थितिको बाध्यता थियो ।
सत्तासीन पाँच दलबीचको गठबन्धन भिन्न परिस्थितिको भिन्न उपज हो । भिन्न अवस्थामा भिन्न निर्णय हुन्छन् नै । पार्टीका कर्मठ, बफादार नेता/कार्यकर्तालाई कतै यो पार्टी बिग्रन्छ कि, भत्किन्छ कि ? रुखमा भोट हाल्न नपाउँदा मतदातामा निराशा उत्पन्न हुन्छ कि वा ‘फ्रस्टेसन’ आउँछ कि भन्ने चिन्ता र चासो छ । यो चिन्ता र सरोकार स्वाभाविक र जायज हो । तर, यहाँनेर बुझ्नै पर्ने पक्ष के हो भने गठबन्धन कुन राजनीतिक स्थितिमा के का लागि बनेको थियो ? आज संविधान र परिवर्तन जोगाउन जसरी सफल भएका छौ, त्यसका पछाडि अरू दलको पनि भूमिका थियो कि ? यतातर्फ पनि ध्यान जान जरुरी छ ।
पार्टीका कर्मठ, बफादार नेता/कार्यकर्तालाई कतै यो पार्टी बिग्रन्छ कि, भत्किन्छ कि ? रुखमा भोट हाल्न नपाउँदा मतदातामा निराशा उत्पन्न हुन्छ कि ? वा ‘फ्रस्टेसन’ आउँछ कि भन्ने चिन्ता र चासो छ। यो चिन्ता र सरोकार स्वाभाविक हो।
तत्कालीन नेकपाको झन्डै दुई तिहाइको सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको स्वच्छेचारी शासन, दम्भ र कुण्ठा, भ्रष्टाचार–कुशासनविरुद्ध पाँच दलले संयुक्त रूपमा लडेका थियौं । त्यति मात्र होइन, ओलीले दुई–दुई पटक संसद्को घाँटी निमोठे । जनप्रतिनिधि निकायलाई भंग गरे । संविधानको हत्या प्रयास गरे । जनताले लडेर ल्याएको संविधानलाई समाप्त पारेर परिवर्तन उल्ट्याउन खोजे । संघीयतालाई समाप्त पारेर मुलुकमा फेरि द्वन्द्व, अस्थिरता र अन्योलता सिर्जना गर्न खोजे । राजनीतिक रूपमा भन्दा, प्राप्त सबै उपलब्धि उल्ट्याउने र मुलुकलाई पुनः प्रतिगमनतिर धकेल्न खोजे । त्यो बेला मुलुकलाई अँध्यारो सुरुङमा धकेलेर आफू रमिते बन्न खोजे । देश जनता र समाजप्रतिको चिन्ताभन्दा पनि आफ्नो सत्ता कसरी जोगाउने भन्ने ध्याउन्नमा ओली थिए ।
कांग्रेस र उसका समर्थकप्रति ओली नेतृत्वको सरकार र उनका नजिकका मान्छेहरूको व्यवहार, शैली, बोली र आक्रमण कस्तो थियो ? सम्झाइ राख्नु पर्दैन । त्यो स्थितिबाट मुलुकलाई पुनः संवैधानिक बाटोमा डोर्याउन पाँचदलीय गठबन्धन बनेको थियो । त्यतिबेला कसले सत्ताको नेतृत्व लिनेभन्दा पनि ओली नेतृत्वको सरकारका असंवैधानिक काम कसरी रोक्ने र संविधान तथा उपलब्धि कसरी जोगाउने भन्नका लागि गठबन्धन बनेको थियो । सिंगो मुलुक एक ठाउँ उभिँदा मात्रै ओलीको ज्यादती, अहंकार र दम्भको अन्त्य भएको थियो । त्यसको नेतृत्व पनि कांग्रेसले नै गरेको थियो । अर्थात्, जुन जग र धरातलमा गठबन्धन बनेको थियो, त्यसको उद्देश्य पूरा हुन बाँकी छ । लक्ष्य भेट्टाउन संघ र प्रदेशको चुनावसम्म गठबन्धन जरुरी छ ।
कांग्रेस मुलुकको पुरानो लोकतान्त्रिक पार्टी हो । जीवनमा कैयौं हन्डर र ठक्कर खायो । असिनापानी र हुरी व्यहोर्यो । र पनि, जनताको लोकप्रिय पार्टी बनिरह्यो । कुनै बेला दरबार र पञ्चहरू मिलेर कांग्रेस सिध्याउने खेल भए । कांग्रेस डगमगाएन । कम्युनिस्ट एकताका नाममा कांग्रेसलाई किनारामा पार्ने दाउ रचिए । र पनि, कांग्रेस दबेन । जनताको अपार माया र स्नेहमा कुनै कमी छैन । फेरि पनि स्थानीय तहको निर्वाचनबाट जनताले कांग्रेसलाई प्रिय पार्टीका रूपमा निर्वाचित गराउनेमा कुनै दुविधा छैन । स्थानीय तहको चुनावबाट पहिलो पार्टी हुँदै कांग्रेसले प्रदेश र संघको चुनाव जित्नेमा दुविधा छैन ।
गठबन्धनको सहमतिअनुसार सबै जिल्लामा उम्मेदवार चयन हुन नसकेको यथार्थता हो । एउटै पार्टीभित्र त उम्मेदवार बन्न लफडा हुन्छ । सबै ठाउँमा सर्वसम्मत उम्मेदवार उठाउन सकिँदैन । बागी उठनेको लर्को हुन्छ । पाँचदलीय गठबन्धन भनेको फरक विचार र सिद्धान्त मान्नेबीचको एकता हो । कांग्रेसमा मात्र होइन, अरू दलभित्र पनि गठबन्धन र साझा उम्मेदवारका विषयमा विवाद देखिएका छन । थु्रपै ठाउँमा अरू दलबाट पनि बागी उम्मेदवारी परेका छन । त्यस्ता ठाउँमा बागी उम्मेदवारलाई फिर्ता लिन लगाउने, साझा भावनाअनुसार अघि बढने र चुनावमा गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउने दायित्व गठबन्धनका दल र नेताहरूमा छ । गठबन्धनको विरोधमा आफ्m्नै उम्मेदवारलाई घात गर्ने, मत नदिने र हराउने कुरा सैह्य हुन सक्दैन । पार्टीका सबै निर्णय आफूलाई सधैं मन नपर्न सक्छन् । तर, असल र इमान्दार कार्यकर्ताका लागि पार्टी भनेको सबैभन्दा माथि हुन्छ । पार्टीको निर्णयलाई शिरोधार्य गर्दै अघि बढ्न जरुरी छ ।
२०७४ को स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिमार्फत जनताको घरदैलोमा सेवासुविधा पुर्याउन सफल भयौं । घरदैलोमै सरकार पुगेपछि जनताले राहतको महसुस गरे । एकाध ठाउँमा भ्रष्टाचार, अनियमितता र अपारदर्शिताका कुरा उठे पनि लोकतन्त्रको उपहार जनताको घरदैलोसम्मै पुर्याउन सफल भएका छौं । कांग्रेसले यसका लागि जनता समक्ष आफ्नो संकल्प प्रस्तुत गरिसकेको छ । ‘कोखदेखि शोकसम्म’का सामाजिक सुरक्षाका कार्यक्रममा कांग्रेसले जोड दिएको छ । कांग्रेसको यो देखावटी नारा मात्र नभई जनतामा गरिएको संकल्प हो । शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि कांग्रेसले आफ्ना प्रतिबद्धता जनाएको छ ।
कांग्रेस र कांग्रेसीजनका लागि गठबन्धनका उम्मेदवारका पक्षमा खुलेर चुनावमा लाग्ने र अत्यधिक मतले विजयी गराउनुबाहेक अर्को विकल्प छैन । बागी वा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्छ । अरू दलबाट पनि त्यो अपेक्षा गरेका छौ । उम्मेदवारी वा अवसर नपाउँदाका पीडाबारे पार्टीमा बहस गर्ने ठाउँ ज्युँदै छन् । इमान्दार, कर्मठ र क्रियाशील नेता/कार्यकर्ताका लागि अवसरका ढोका प्रशस्तै छन् । त्यस्ता नेता/कार्यकर्तालाई आउँदा दिनमा अवसर दिन नेतृत्वले पनि छाती फराकिलो पार्नै पर्छ । कांग्रेसी नेता/कार्यकर्तामाथि जहिले पनि घात/अन्तर्घातको प्रश्न उठ्ने गर्छ । यो चुनावबाट त्यसलाई निमिट्यान्न पार्ने र आपसी विश्वास र सौहाद्रपूर्ण वातावरण बनाउनतिर कांग्रेसका सबै नेता/कार्यकर्ता जुट्नै पर्छ । पार्टीलाई जितायौ भने मात्रै कांग्रेस बलियो बन्छ । हाम्रा एजेन्डाले स्थान पाउँछन् । त्यसैले, यो चुनावमा लोकतन्त्र, संविधान र परिवर्तन पक्षधरले जित्नैपर्छ । यो चुनाव संविधान मान्ने र नमान्नेबीच, परिवर्तनका पक्षधर र उल्ट्याउन खोज्नेबीचको प्रतिस्पर्धा हो । अर्थात्, अहंकारका पक्षमा उभिने कि, लोकतन्त्रका पक्षमा उभिने भन्ने प्रश्नको पनि निरूपण हुनेछ, यो निर्वाचनबाट । त्यही कारण भिन्न विचार र सिद्धान्त मान्ने दलबीच गठबन्धन गरेर चुनावमा होमिएका छौं । कांग्रेसका इमानदार र कर्मठ सिपाहीले यो अवस्था र बाध्यता बुझ्ने नै छन् ।
साउद कांग्रेसका युवा नेता हुन् ।