सुर्ती निषेधमा अन्नपूर्ण अभियान

सुर्ती निषेधमा अन्नपूर्ण अभियान

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले तीनमहिने ‘नो टोबाको क्यापियन फर हेल्दी नेपाल’ सुरु गरेको छ। अन्नपूर्णले नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँगको समन्वयमा आगामी आर्थिक वर्ष २०७९/०८० मा सुर्तीजन्य पदार्थमा कर बढाउने र सञ्चारमाध्यमहरूबाट जनचेतना प्रसार गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हो। 

यसै सिलसिलमा अन्नपूर्ण र प्रतिष्ठानको सहकार्यमा राजधानीमा बुधबार लक्षित समूह छलफल कार्यक्रम आयोजना गरेको छ। प्रमुख सरोकारवालाहरूको भेलामा सुर्तीजन्य मुद्दा र यसको करसम्बन्धी विषयमा छलफल गरिएको थियो। 

अन्नपूर्ण मिडिया नेटवर्कका डाइरेक्टर सचन थापाले बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै सिम्रिक फाउन्डेसनका प्रिन्सिपल डाइरेक्टर जगन्नाथ लामिछानेले यो अभियानको मुख्य उद्देश्य नै कर बढाएर यसको प्रयोगलाई निरुत्साहन गर्नु रहेको बताए। कार्यक्रममा पहिलो कार्यपत्र प्रस्तुत गर्दै भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थमा रोक लगाउने हो भने ८० देखि ९० प्रतिशत क्यान्सर रोगी कम हुने बताए। 

सुर्तीजन्य पदार्थमा प्रयोग हुने निकोटिन, टार, कार्बन मोनोअक्साइडलगायतका सात हजार हानिकारक पदार्थ प्रयोग हुने हुँदा क्यान्सरको प्रमुख कारक रहेको बताए। विश्वमा १.३ अर्ब मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। पौडेलका अनुसार नेपालका कुल जनसंख्याको ३२ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन्। रोकथाम गर्न सकिने सुर्तीजन्य पदार्थको सेवन अहिलेबाट नै बन्द गर्न सके २० मिनेटदेखि यसको असर सुरु भएर १५ वर्षको अवधिमा सामान्य मानिस सरह जीवनयापन गर्न सकिने उनको सुझाव छ।

कार्यक्रममा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका महासचिव डा. जयकुमार गुरुङले सुर्तीजन्य पदार्थको वर्तमान संकट कर प्रणाली संयन्त्र न्यूनीकरणको प्रभावकारी उपाय विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। स्वास्थ्यमा खर्च ४० अर्बको हुँदा सुर्तीजन्य पदार्थबाट आम्दानी करिब २० अर्ब रुपैयाँको हुने गरेको तथ्यांक सार्वजनिक गरे। नेपालमा सुर्तीजन्य पदार्थबाट बर्सेनि ३७ हजार ५ सय २९, प्रतिदिन १ सय ४ जना र प्रतिघण्टा चार जनाले ज्यान गुमाउने गरेको बताए। सुर्तीजन्य पदार्थको सहज पहुँच र सस्तो मूल्य भएकोले नै यसको प्रयोग बढ्दै गइरहेकाले कर बढाएर नियन्त्रण गर्न जरुरी भएको उनको भनाइ छ। 

विश्व स्वास्थ्य संगठनले ७५ प्रतिशतसम्म कर निर्धारण गर्न भनेकोमा भारतको ५७ प्रतिशत छ भने श्रीलंकाले ७७ प्रतिशतसम्म कर लगाएको छ। नेपालले भने सुर्तीमा ३८ प्रतिशत मात्रै कर लगाएको तथा करिब ७६ प्रतिशतसम्म कर बढाउन प्रस्ताव गरिएको गुरुङले जानकारी दिए। नयाँ बजेट निर्माणको काम भइरहेकाले सरकारले यसमा उच्च समन्वय गर्न आवश्यक रहेको बताए। 

कार्यक्रममा उपस्थित प्यानल छलफलका सहभागीले सुर्तीजन्य पदार्थ प्रयोगलाई निरुत्साहित गर्नुपर्ने, प्रचारप्रसार गर्नुपर्ने, कर बढाउनु पर्नेलगायतका धारणा राखेका थिए। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य प्रवद्र्धन तथा सुर्तीजन्य पदार्थ नियन्त्रण विभागका प्रमुख डा. भक्तबहादुर केसी, विश्व स्वास्थ्य संगठनका नेसनल प्रोफेसनल अफिसर डा. लोनिम दीक्षित, नेपाल मेडिकल एसोसिएसनका निर्देशक डा. लोचन कार्की, स्वास्थ्य अर्थशास्त्री डा. डेभिडप्रसाद प्रसाईं र अन्नपूर्णका वरिष्ठ पत्रकार दिनेश गौतमले प्यानलको धारणा राखेका थिए। कार्यक्रमलाई समापन गर्दै सिम्रिक फाउन्डेसनका सञ्चार निर्देशक सुभा खनाल थापाले अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको यस अभियानमा सबैको साथ र सहयोग चाहिने बताइन्। सरोकारवाला निकायसम्म जानकारी पुर्‍याउनका लागि सहयोग गर्न सबैमा अपिल गरिन्।

सुर्तीजन्य पदार्थ प्रयोगको असरसम्बन्धी अन्नपूर्ण मिडियाले विभिन्न सन्देशमूलक सामग्रीहरू, वृत्तचित्र, अन्तर्वार्ता, रेडियो जिंगलहरूल प्रसारण गर्दै आइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.