कांग्रेसमा चरम असन्तुष्टि

कांग्रेसमा चरम असन्तुष्टि

काठमाडौं : नेपाली कांग्रेसभित्र स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शीर्ष नेतादेखि स्थानीय तहका नेतासम्ममा तिक्तता छरपस्ट भएको छ। पार्टीमा वर्षौंदेखि कार्यकर्तादेखि केन्द्रीय राजनीतिसम्म दाबी गर्ने शीर्ष नेतृत्वसम्मले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै आएका छन्। कतिपयले राजीनामासमेत दिइसकेका छन्। 

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा घोषणा गरेका छन्। उनलाई कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले राजीनामा दिने भएका हुन्। ‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रोपटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ बिहीबार डँडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले भने, ‘मलाई पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आजैदेखि म प्रदेशसभा सांसद पनि नरहेको घोषणा गर्दछु।’

डँडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद थियो। स्थानीय तह निर्वाचनमा मल्ल समूहले एमालेसँग तालमेल गरेपछि कांग्रेसले कारबाही गरेको थियो। त्यस्तै, पोखरामा बिहीबार घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्नो घोषणापत्र तथा प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रमस्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरे। 

पोखराका विभिन्न वडामा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लागिसक्दा पनि भागबन्डामा एक–अर्कालाई दिन लागिएको भन्दै उनीहरूले कार्यक्रमस्थलको गेटमा ताला लगाए। पोखरा महानगरपालिका–१८, २४ र २२ मा नेकपा माओवादी केन्द्रलाई दिन लागिएको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन्। पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि पोखराका कांग्रेस कार्यकर्ता शीर्ष नेतृत्वप्रति आक्रोशित थिए। बाँकी ३ वटा वडा पनि माओवादीलाई दिन लागेपछि उनीहरू झनै आक्रोशित भएका हुन्।

बुधबार कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धनका नाममा  कांग्रेसका कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको दाबी गरेका छन्। कांग्रेसको टिकट वितरणमा मनोमानी गरेको बताउँदै कार्यकर्ताहरू प्रति न्याय हुन नसकेको बताए। उनले विज्ञप्तिमार्पmत भनेका छन्, ‘कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरूको पंक्ति लामो थियो। अधिकांश योग्य र सक्षम पनि थिए। टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ। तर, दुःखका साथ भन्नुपर्छ टिकट वितरणको जिम्मेवारी पाएका साथीहरूले न्याय गर्न सक्नुभएन।’ उनले स्वतन्त्र उमेदवारका रूपमा चुनावी मैदानमा जान बाध्य साथीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्कन आग्रह पनि विज्ञप्तिमार्फत गरेका छन्। कतिपय  ठाउँमा नियम उल्लंघन भएको छ’

त्यस्तै, कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंमा बुधबार स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिको भूमिका विषयक एक कार्यक्रममा सहभागी भएका थिए। त्यहाँ, ‘केन्द्रमा तालमेल गरेर जाने भनिए पनि तलका स्थानीय तहमा गठबन्धन हुन नसक्नु र बागी उठिदिनु पार्टीका कार्यकर्ता साथीहरूको असन्तुष्टि हो भनेर बुझिन्छ,’ भने। 

अहिले गठबन्धनका कारण विशेष परिस्थिति सिर्जना भएको उनको भनाइ छ। ‘यसलाई कार्यकर्ताले बुझिदिनुपर्छ। निर्वाचनका बेला साना ठूला तिक्तता हुने गर्छन्,’ थापाले भने, ‘कतिपय ठाउँमा पार्टीको निर्णय उल्लंघन पनि भएको छ। हामी मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्दा त अप्ठ्यारो थियो भने अहिले त गठबन्धन छ। कतिपय ठाउँमा नमिठो अनुभव भएका छन्।’ थापाले कतिपय स्थानीय तहमा प्रदेश कमिटीले समयमा निर्णय नदिँदा उजुरीसमेत परेको बताए। 

‘पार्टी भित्र जिम्मेवारी पाउँ भन्दै गर्दा नपाएको अवस्था छ। संसदीय राजनीतिमा पार्टी चुनावमा होमिराख्दा पार्टीको निर्णलाई सबै तिक्तता बिर्सिदिएर मान्नु पर्छ।’ उनले पार्टी बाट बागी उठेकालाई केन्द्रित गर्दै भने, ‘पार्टीको निर्णयभन्दा बाहिर गएर उम्मेदवारी दिँदै गर्दा त्यही पार्टीमा फर्किने अवस्था रहँदैन। एक पटक निर्णय उल्लंघन गरेर आएपछि त्यसले राम्रो मेसेज दिँदैन। 

‘पार्टीभित्र न्यायको गुञ्जायस नै रहेन’

त्यसैगरी कांग्रेसका नेता गुरुराज घिमिरेले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ !’ 

उनको उक्त विचार सामाजिक सञ्जालमा आए सँगै डा. शेखर कोइरालाले उनकै निवासमा भेटवार्ताका लागि बोलाएका थिए। दुई जनाको भेटमा कोइरालाले ‘राजनीतिको मैदान नछाड्न उनलाई सुझाव दिएका थिए। तपाईं जत्तिको मान्छे हतोत्साही हुन मिल्दैन साथीहरूलाई सम्झाउने बेलामा हामीले नै यो किसिमको मनस्थिति बनाउनुहुँदैन भन्नुभयो, घिमिरेले भने। विराटनगर स्रोतका अनुसार घिमिरेको क्षेत्रमा उनी पक्षका १ जनालाई पनि विराटनगर महानगरको सदस्य पदमा टिकट दिइएको छैन। 

यस कारण कारबाहीमा परे कर्ण मल्ल

डँडेलधुराका निवर्तमान सभापतिसमेत रहेका कर्णबहादुर मल्ललाई देउवाले कांग्रेसबाट निष्कासित गरेका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरीत गतिविधि गरेकोले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन्।

१४औं महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डँडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो। त्यसयता असन्तुष्ट रहेका मल्लले आफूनिकट नेता कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डँडेलधुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन्। मल्लले डँडेल्धुरामा नेकपा एमालेसँग पनि गठबन्धन गरेर कार्यकर्तालाई उम्मेदवारी दिन लगाएको अर्को कारण पनि मल्ललाई निष्कासित गरेको भनिएको छ। 

निष्कासित भएको विषयमा मल्लले छोटो प्रतिक्रिया दिँदै भने, ‘मेरो लागि यो आश्चर्यजनक हैन। मलाई यो कारबाहीले केही फरक पर्दैन। म कांग्रेसकै मान्छे हुँ। मसँग बलियो जनाधार छ। मलाई कारबाही गरेर देउवाजीकै राम्रो हुन्छ भने पनि ठिकै छ।’

उता चितवनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल भरतपुर महानगरपालिकामा मेयरकी उमेदवार हुन्। दाहालविरूद्घ चितवन कांग्रेसका नेता थिए। उनीहरूलाई गृहमन्त्री खाँणले सम्झाउन चितवन पुगेका छन्। खाँणले भने, ‘गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्तिसँग छलफल हुनुपर्छ। कहिलेकाहीँ एक कदम पछाडि पनि हट्नुपर्छ,’ उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो।’ गठबन्धनका कारण पार्टीले मतदाता नगुम्ने उनले दाबी गरे।

त्यस्तै, नुवाकोटमा मंगलबार एकैपटक १३० भन्दा बढीले पार्टी त्यागेका छन्। उनीहरूले केन्द्रको नेतृत्वले कार्यकर्ताको भावना तथा धारणा लत्याएको जनाउँदै विदुरस्थित जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका छन्। कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्व उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भने, ‘अहिले मुख हेर्नेभन्दा रूख हेरेर मतदान गर्नुपर्ने बेला हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.