धनगढी एमालेको चुनावी घोषणापत्र : हरेक वडामा प्राविधिक विद्यालय,भूमिहीनलाई जग्गा
धनगढी : समृद्ध धनगढी बनाउने प्रणसहित सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमालेका कैलाली जिल्ला ईञ्चार्ज नारदमुनी राना, पार्टीका पोलिट व्यूरो सदस्य लिला भण्डारी, धनगढी उपमहानरपालिका लागि मेयर पदका उमेदवार रणबहादुर चन्द, उपमेयरका उमेदवार कन्दकला रानालगायतका नेताहरुले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
उपमहानरपालिकाका हरेक सडक कालोपत्रे गर्ने घोषणपत्रमा उल्लेख छ । अहिले धनगढीको मुख्य बजार, नगरभित्रका सडक धुलाम्य छन् । नेकपा एमालेले यसअघिको स्थानीय सरकारले प्राथमिकताभन्दा पनि मुख्य बजार बाहिरका भोट बैंकमा मात्र विकास गरेको आरोप लगाउँदै अब प्राथमिकताका आधारमा विकास गरिने प्रतिवद्धता व्यक्त गरेको छ।
१६ बुँदे घोषणा पत्रमा उपमहानगरको फजुल खर्च कटौटी गर्ने, भ्रष्टाचार शून्यमा झार्ने, हरेक वडामा एक/एक प्राविधिक विद्यालय स्थापना गर्ने, नगरका हरेक संस्थागत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने, हरेक घरमा शुद्ध खानेपानीको धारा पुर्याउने प्रतिवद्धता गरिएका छन् ।
घोषणा पत्रमा 'निरोगी नेपाल , स्वस्थ नेपाली’ भन्ने नारासहित धनगढीमा ट्रमा सेन्टर र सुविधासम्पन्न सरकारी अस्पताल सञ्चालनमा ल्याउने, प्रत्येक सुत्केरीलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने, जेष्ठ नागरिकलाइ घरमै स्वास्थ्य सेवा दिने उल्लेख छ ।
धनगढी उपमहानगर क्षेत्र प्लटिङ भइ कृषियोग्य जमिन ह्रास भइरहेको छ । एमालेले नगरभित्रको खाली जग्गामा तरकारी खेती गरी किसानको आयआर्जनमुखी कार्यक्रम गर्ने, फलफूलको उत्पादन बढाउने र फूल खेती गरी आय आर्जन गर्ने, पशु बधशालाहरु व्यवस्थित गर्ने घोषणापत्रमा उल्लेख छ ।
धनगढीको मुख्य बजार अहिले चार किलोमिटर लामो एउटै गल्लीमा छ । त्यहाँ केही स्थानमा डबल लेन र केही स्थानमा त सिंगल लेनको मात्रै सडक छ । एमाललेले त्यो सडक चौडा गरी यातायात सहज बनाउने प्रतिवद्धता गरेको छ । युवाहरु देशका भविष्य हुन भन्ने अवधारणा अनुसार नगरक विकासका लागि युवाहरु परिचालन गरिने, हरेक वडामा खेल मैदान बनाएर स्वस्थ युवा बनाउने र युवा केन्द्रित उद्यमसिलतामा जोड दिइने घोषणापत्रमा उल्लेख छ ।
यस्तै उपमहानरभित्रका आवासबिहीनहरुका लागि आवास निर्माण गर्ने, भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गरिने, राना थारु समुदायको उत्थानका लागि भाषा, कला, संस्कृति जगर्ने र प्रबर्धन गर्ने, धनगढीको डुबानको समस्या समाधान गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ । धनगढी उपमहानगरमा यसअघि नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओड मेयर, नेपाली कांग्रेसकै तर्फबाट उपमेयरमा शुसीला मीश्र भट्टसहित कांग्रेसको कार्यपालिकामा बहुमत थियो । यसपाली पनि गठबन्धनका तर्फबाट उमेदवार ओडसँग एमालेका रणबहादुर चन्द र गठबन्धनकै उपमेयर शान्ति अधिकारी क्षेत्री (नेकपा माओवादी केन्द्र)सँग एमालेकी कन्दकला राना थारु चुनावी मैदानमा छन् । स्वतन्त्ररुपमा यसअघि पनि ओडका निकटतम प्रतिद्वन्दी भएका गोपाल हमाल पनि चुनावी मैदानमा छन ।
को हुन रण बहादुर चन्द ?
रणबहादुर चन्द धनगढी उपमहानगरको वडा नम्बर ४ बस्छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका उनी नेकपा एमालेको जिल्ला सचिव, उपाध्यक्ष भइसकेका छन् । माओवादी र एमालेको एकीकरणका बेला उनी केन्द्रीय सदस्य पनि भएका थिए । २०३६ सालमा बैतडीको तत्कालिन सलेना गाविस ८ अर्थात अहिलेको मेलौली नगरपालिका वडा नम्बर ३ मा जन्मेर तराई झरेका उनी धनगढी उपमहानगरका लागि निस्कलंक व्यक्ति हुन् । सालिन स्वभाव उनको विशेषता हो ।
कक्षा ८ देखि धनगढीको पञ्चोदया माध्यमिक विद्यालय र त्यसपछि, कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह पास गरेका उनको बलियो आधार भनेको राना थारु समुदाय हो । कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष, त्यसपछि सेती अञ्चल सदस्य हुँदै केन्द्रिय सदस्यसम्म पुगे । उनी पार्टीको धनगढी इन्चार्ज पनि भइसकेका व्यक्ति हुन्।