भोट कसलाई दिऊँ ?
मोटरबाटोको सुविधा भए पनि लगभग जनशून्य भएको रहेछ मेरो गाउँ। बिजुली पुगे पनि त्यो बाल्ने घरहरू प्रायः खण्डहर भइसकेका रहेछन्। बाँकीमा पनि ताला झुन्डिएका ! बाल्यकालमा हिँड्ने गरेको गोरेटोको त नामोनिशान नै छैन। त्यो त जंगल र झाडीले पुरिएछ। लहलह बाली लहराउने गराहरू तीतेपातीले ढाकेको बाँझो भूमि पो भएछ। खानेपानीको सुविधा भएर के गर्नु ? त्यहाँ थापिने गाग्राहरू छैनन्। बिरानिएको गाउँमा आफन्त खोज्दै गर्दा भेटिएकी एउटी आमै बिदेसिएको छोराको पर्खाइमा थिइन्।
वेदनामिश्रित सुस्केरा हाल्दै आमै भन्न थालिन्, खेतीकिसानीले खान नपुगेपछि खेत बन्धकी राखेर छोरो साउदी गयो। उता कमाइ भएपछि छोराछोरी पढाउन भनी बुहारी पनि सहरतिर लागी। म बूढीलाई पुर्खाको थलो छोड्न मन लागेन। यहीँ बसेकी छु। गाउँमा मान्छे छैनन्, जग्गा बाँझो छ। खेती गरे बिउ पनि उठ्दैन भनी सबै बजारतिर काम खोज्न जान थाले। अब यो गाउँका मान्छे फर्कंदैनन् र नानी ? चुनाव आउन लाग्यो भन्दै भोट माग्न आउनेहरू त भन्थे हाम्रो पार्टीले जित्यो भने यो गाउँलाई पहिलाजस्तै बनाइदिन्छौं। भन्न त उहिले चुनावमा पनि त्यसै भन्थे। न गाउँ पहिलाजस्तो भयो न त मेरो छोरो नै फर्केर आयो ! भन न नानी, अब चुनावमा भोट दिऊँ कि नदिउँ ?
आमैका प्रश्नको कुनै जबाफ छैन। स्वयं दोधारमा छु भोट दिने कि नदिने भनेर ! तीन दशकदेखि विकास र समृद्धिका सपना देख्दै आएकी छु म पनि। तर, ती सपना कहिल्यै पूरा हुन सकेका छैनन्। हाम्रो दलीय राजनीतिका दलहरूले सत्ता र नेताहरूले पदबाहेक अन्य केही नदेख्नाले प्रजातन्त्रको पुनस्र्थापनाको यति लामो समयसम्म पनि न यहाँ राजनीतिक स्थिरता हुन सक्यो न त विकासले गति नै लिन सक्यो। यस अवधिमा मौलायो त केवल भ्रष्टाचार र कमिसनतन्त्र। मुठ्ठीभर व्यक्तिहरू सम्पन्नताको शिखर आरोहण गर्न सफल भए। उनीहरूको जीवनशैलीका कारण यो देश ‘धनीहरूको गरिब देश’ कहलाएको छ। आमजनता भने गरिबीको चपेटामा थिचिएका थिचियै छन्। सर्वसाधारणलाई दैनिक गुजारा चलाउन धौ धौ छ। चरम बेरोजगारीका कारण युवाशक्ति बाहिरिएको छ अनि त्यसबाट प्राप्त रेमिट्यान्स पनि अनुत्पादक र विलासितामा खर्च भएर पुनः विदेशै गइरहेको छ। यसबारे कुन दल र नेताले चिन्तन गरेको छ ?
कृषि प्रधान देशका नागरिक हामी खुर्सानी र पिठोसम्म विदेशबाट आयात गरी खान बाध्य छौं ! यस्तोमा कृषि क्षेत्रको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउँछु भनेकाहरूलाई कसरी भोट दिने ? कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर देश विकासको योजना बनाउने योजनाकारको खाँचो छ आज। कृषियोग्य भूमि बाँझो राख्ने तथा गरिएको खेतीमा पनि विषादी र रसायन हालेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने प्रवृत्तिको अन्त्य गर्ने दल र नेताको खोजीमा छन् आमजनता। एकातिर उपभोक्ता विदेशबाट आयातित महँगो खाद्यान्न उपभोग गर्न बाध्य हुने अर्कातिर किसानलाई आफ्नो उत्पादन सस्तोमा बेच्न बाध्य पार्ने बिचौलिया र कमिसनखोरको पञ्जाबाट यो देशको कृषि क्षेत्रलाई मुक्त पारेर किसान र उपभोक्ताका बीच पुल बन्न सक्ने नेताको खाँचो छ हामीलाई। गाउँमा उत्पादित तरकारी र फलपूmलले बजार नपाएर गाई र भैंसीलाई खुवाउनुपर्ने अवस्था छ। सहरमा विदेशबाट आयातित तरकारी र फलफूल महँगोमा खानुपर्ने बाध्यताको अन्त्य गराउनुपर्छ। कृषिमा आधुनिक प्रविधि भिœयाउने नेतृत्व खोजेको छ आज देशले ! तर हरेक दलभित्र तँछाडमछाड गरिरहेका उनै पुराना अनुहार देख्दा म पनि तिनै आमैसँग एकाकार हुँदै प्रश्न गरिरहेछु म कसलाई भोट दिऊँ ?
हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलबाट असंख्य युवाशक्ति बिदेसिन्छन्। एकथरी शिक्षाका लागि अर्काथरी विदेशी भूमिमा रगत–पसिना बगाउन जान्छन्। शिक्षाका लागि जानेहरू फर्केर आउँदैनन् भने श्रमका लागि जानेहरू रोग र बुढ्यौली लिएर अझ कतिपय त बाकसमा बन्द भएर फर्कने गर्छन्। यसरी पलायन हुने युवाशक्तिलाई स्वदेश फर्काउन, विदेशी भूमि हराभरा र उन्नत बनाउनु आजको खाँचो हो। उनीहरूको श्रम र सीपलाई स्वदेशमा उपयोग गर्ने वातावरण बनाउने, उच्चशिक्षा र रोजगारीका अवसर सिर्जना गरी युवालाई देशभित्रै राख्ने नेतृत्वको खाँचो छ आज ! तर यी त केवल चुनावी नारा र भाषण बन्छन्। त्यसपछिको सत्ता र कुर्सीको जोडघटाउमा जनप्रतिनिधि यति व्यस्त हुन्छन् कि उनलाई आफ्ना प्रतिबद्धताको हेक्का नै रहँदैन। यही कटु यथार्थबीच प्रश्न गर्दैछु, कसलाई दिऊँ भोट ?
घोकन्ते विद्या र सैद्धान्तिक शिक्षा होइन, बालबालिकालाई व्यावहारिक र सीपमूलक शिक्षा चाहिएको छ। किताबको गरुंगो भारीले थिचिएर वर्षौं पढ्दा पनि अन्त्यमा जागिरका लागि भौतारिनुपर्ने बाध्यताबाट मुक्त हुनु छ। अनि आफ्ना लागि मात्र नभएर अरूका लागि पनि रोजगारी सिर्जना गर्न सक्नुपर्छ अब युवाले। अबको सरकारबाट यस्तै नीति र त्यसको सही कार्यान्वयनको आशा छ हामीलाई ! तर, हाम्रो शिक्षा पद्धति कारिन्दामुखी छ। जसरी हुन्छ प्रमाणपत्र हात पारी जागिरको खोजीमा धाउने। निजी शिक्षण संस्था सर्वसाधारणको पहुँचबाहिर बन्दैछन् भने सरकारी शिक्षण संस्थाको लगानी बालुवमा पानी बन्दैछ। शिक्षालाई व्यापार बनाउने दुष्प्रवृत्तिका संरक्षक बनेका छन्, दलीय राजनीतिका अगुवाहरू।
शैक्षिक क्षेत्रमा हुने चरम राजनीतिका कारण विद्यार्थीको भविष्यमाथि नै प्रश्न उठिरहेको छ। यस्तो अवस्थामा शिक्षालाई राजनीतिबाट मुक्त गराउने इमानदार राजनीतिज्ञको खाँचो छ यहाँ ! विडम्बना ! राजनीतिक दलको कोटाबाट नियुक्त भई शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त राख्छु भन्ने शैक्षिक नेतृत्व झेल्न बाध्य छौं। शैक्षिक एवं प्राज्ञिक क्षेत्रलाई राजनीतिक भागबन्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा नेतृत्व दिइनुपर्ने आजको आवश्यकता हो। विद्यार्थीको बुइँ चढेर कुर्सीमा पुग्ने प्रवृत्तिबाट के यो सम्भव होला ? त्यसैले त म ‘नो भोट’ को अधिकार खोज्दैछु ! घरघरबाट निस्कने ढल खोलामा निकास गर्ने सहरी विकास छ यहाँ। फोहोरको डंगुर र दुर्गन्धले प्रायः सहरबजारको परिचय दिइरहेको हुन्छ। महानगरको फोहोर त फोहोरी राजनीतिको एउटा अंग नै बनिसकेको छ। त्यसैले त जुनसुकै नेतृत्व आए पनि यसको स्थायी समाधान निस्कँदैन। किन ? महानगरको नेतृत्वले फोहोरमैला व्यवस्थापनका लागि प्रविधिसहितको दीर्घकालीन योजना ल्याउन सक्दैन ? अव्यवस्थित सहरीकरण, धूलो–प्रदूषण आदिबाट आजित छन् नगरवासी। विकासका नाममा खेतीयोग्य जमिनमा बस्ती बसाल्ने अनि अन्धाधुन्ध डोजर चलाएर पर्यावरण नष्ट गराउने प्रवृत्तिको विकल्प खोजिरहेछौं हामी ! तर, हाम्रा राजनीतिज्ञहरू यिनै तत्त्वसँग मितेरी लाएर चुनाव जित्छन्। अनि बन्छन् आफूमात्र समृद्ध। यस्तै यथार्थबीच अन्योलमा छु ‘कसलाई दिऊँ भोट ?’
असुरक्षित छन् महिला र बालिका। यौनहिंसाका घटनामा दोषीलाई राजनीतिले संरक्षण गर्छ। राजनीतिक दलको मुकुण्डोभित्र असंख्य अपराधी लुकेका हुन्छन्। ‘सानालाई ऐन ठूलालाई चयन’ भन्ने उक्ति सदा सार्थक हुनाले सर्वसाधारण निराश छन्। बढ्दो महँगीले जनजीवन कष्टकर बन्दा पनि सरकारको ध्यान त्यता जाँदैन। केही सीमित सम्पन्न वर्गलाई हेरेर समृद्धिका सूचकांक प्रस्तुत गर्छ सरकार। एकातिर सर्वसाधारणका छोराछोरीले सर्वसुलभ गुणस्तरीय शिक्षा पाएका छैनन्। अर्कोतिर निःशुल्क स्वास्थ्य सेवा नाम मात्रको छ। विपन्न वर्गका झुप्रोमा दुई छाक पाक्न कठिन छ। सरकार समृद्धिको प्रमाणस्वरूप भ्यु टावर ठड्याउँदैछ। भ्यु टावरको उचाइ नाप्ने क्षमता छैन नेपाली नागरिकसँग !
नागरिक त चाहन्छ आफ्नो झुप्रामा उज्यालो। सुपथ बजार, सर्वसुलभ शिक्षा र स्वास्थ्य अनि ग्रामीण पूर्वाधारको विकास पो चाहिएको छ सर्वसाधारणलाई त। कसले गर्ला हाम्रा चाहनाको सम्बोधन ? कसलाई दिने हामीले भोट ? राजनीति त सेवामुखी हुनुपर्ने हो। राजनीतिक व्यक्ति ‘सादा जीवन उच्च विचार’को अनुयायी बन्नुपर्ने हो। जनताका इच्छा–चाहना अनि उन्नति र समृद्धिमा आफ्नो भविष्य देख्ने त्यागी राजनेताको खाँचो छ मेरो देशलाई ! तर विडम्बना ! यहाँ त नेताहरू ‘जोगी हुन कसले राजनीति गर्छ र ?’ भन्दै राजनीतिलाई नाफामुखी व्यापार बनाउँदैछन्। जनमतले भन्दा आर्थिक हैसियतका आधारमा जनप्रतिनिधि र नेता बन्ने संस्कृति दलभित्र मौलाइरहेछ।
आचार–विचार, सिद्धान्त अनि नैतिकता र इमानदारीको तिलाञ्जलि दिएर जस्तोसुकै गठबन्धन गरेर भए पनि चुनाव जित्ने र सत्ताभोग गर्ने होडबाजी चलिरहेछ नेपाली राजनीतिमा। भ्रष्टाचारी, कालोबजारी, कमिसनखोर–घुसखोर, अपराधी आदि जोसुकैलाई हितैषी मानी गरिने राजनीतिको परिणाम के होला ?त्यसैले वर्षौंदेखि धमिलिएको दलीय राजनीतिमा स्वच्छता चाहेका छौं ! राजनीतिमा जनमुखी र सेवामुखी संस्कृतिको विकास खोज्दैछौं हामी ! उजाडिएका गाउँघर पुनः जगमग भएको देख्न चाहन्छौं ! नागरिकका चाहना र मर्म बुझ्ने नेता को होला ? त्यसैले त प्रश्न गर्दैछु ‘कसलाई दिऊँ भोट ?’