पृथ्वीको अर्को ध्रुवबाट
यति बेला
तीन लोक
जोड जोडले चिच्याऊँ!
जस्तो म पहिले
तिम्रो नाम पुकार्दै चिच्याउने गर्थें
ननिदाइ बसेको
सहरिया रातको निद्रा खल्बलिने गरी।
हल्लाखोर मानिसको बस्तीबाट टाढा
अग्लो पहाडमाथि बसेर
घोक्रो सुक्ने गरी चिच्याइचिच्याइ सुनाउने गर्थें
– आलिंगनमा बाँधिएका युगल जोडीहरूलाई
– कलकल बगिरहेका खोला–नदीहरूलाई
– सिर्सिर बहिरहेका बतासहरूलाई
– मौन उभिरहेका पहराहरूलाई
– वनजंगल, गाउँबस्ती, कुनाकन्दरा
– र, वेदना या पीर मानेर निहुरिरहेका भीरपाखाहरूलाई
तिम्रो मायाको अध्यात्ममा चुर्लुम्म डुबेको खबर!
लाग्छ डिलिट गरुँ
तिमीसित भेट्नुअघिका सबै सबै प्रोफाइल
सार्वजनिक गरुँ तिम्रो र मेरो अतिरिक्त पहिचान!
र, राखुँ दिलको भूगोलमा
अक्षांश वा देशान्तर रेखाभित्र वर्षौंदेखि कैद
अनावरण गर्न नसकेको मभित्रको ज्वालामुखी
असामाजिक तर सभ्य बदमासले झैं
निदाउनुअघि अन्तिम प्रेम
र, ब्युँझनुअघि पहिलो प्रेम गर्दै
समताको रङले कोरिरहने तिम्रो तस्बिर !
दिलको एउटै सपना थियो
मेरो मुटु,
मेरो प्रेमको भूमध्यरेखामा सिधै झरुन्
घामका प्रत्येक वर्षाहरू।
ज्यान ! जुनबेला तिम्रो चाहना थियो–
ब्रम्हाण्डका सबै कुनाबाट बहने
घामहरूले देखुन् तिमीलाई मेरो सार्वभौम मुटुमा
त्यतिबेला म भूमिगत थिएँ
आफ्नै झुटको कमजोर भग्नाशामा।
अचेल, अपलोड गर्दै डिलिट गर्छु
आफ्नो प्रोफाइलमा तिम्रो तस्बिर
किनकि
प्रेमको परिभ्रमणमा हिँडेको हाम्रो पृथ्वी
दुई ध्रुवमा विभाजित भएको छ
मुटु फेरिए पनि उस्तै होला तिम्रोतिर
प्रेमको भूमध्यरेखामा झर्ने घामका वर्षाहरू।
यता अँध्यारो छ ज्यान– निस्पट्ट अँध्यारो!