अर्घाखाँचीमा खोलाले बगाएर बालिकाको मृत्यु
अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा गए राति आएको बाढीले बगाएर एक बालिकाको ज्यान गएको छ। भुमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया बालिकाको ज्यान गएको हो।
बाढीले ५ घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बरबहादुर थापाले बताए।
प्युठान मल्लरानी गाउँपालिका २ की ८ वर्षीया शिवानी घर्तीलाई गए राति आएको बेसारे खोलाले बगाएको र खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा शव फेला परेको प्रनाउ थापाको भनाइ छ।
८ वर्षीया शिवानीलाई दिदीको घर ढाकाबांगमा आउने क्रममा खोलाले बगाएको हो। शवलाई पोष्टमार्टमका लागि प्युठान अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ।