उम्मेदवारी दर्ता गरेर पार्टी परिवर्तन गरेका तामाङको उम्मेदवारी कायम
रसुवा : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएर पार्टी परिवर्तन गरेका एक उम्मेदवारको उम्मेदवारी कायम रहेको छ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको पालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएर नेकपा एमाले प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम भएको हो। नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षका लागि उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले उम्मेदवारी फिर्ता नलिएको र कानुनी रूपमा उनी स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिन सक्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। उनी नेकपा माओवादी केन्द्रका गोसाइँकुण्ड गाउँपालिकाका इन्चार्जसमेत थिए।
उम्मेदवारी फिर्ता नलिएको भएपनि पार्टी नै परिवर्तन गरेपछि उम्मेदवारीको अर्थ नभएको उनको भनाइ छ। ‘मैले नेकपा माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरिसकेको छु’, उनले भने, ‘पार्टी परिवर्तन भएपछि उम्मेदवारी फिर्ता नभएपनि के अर्थ रह्यो र?’
माओवादी केन्द्रबाट उम्मेदवारी दिएका तामाङ बिहीबार एक कार्यक्रमकाबीच एमाले प्रवेश गरेका थिए। एमाले नै सशक्त भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारीसमेत फिर्ता हुने गरी पार्टी प्रवेश गरेका उनले बताएका थिए।