घोराहीमा डायमण्ड भर्सेस चौधरी, कसको पल्ला भारी?

घोराहीमा डायमण्ड भर्सेस चौधरी, कसको पल्ला भारी?

काठमाडौं : क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो उपमहानगर घोराहीमा यसपटक मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच हुने देखिएको छ। गठबन्धनको तर्फबाट माओवादी केन्द्रले मेयर पाएको छ भने कांग्रेसले उपमेयर लिएको छ।

चुनावमा गठवन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा ‘डायमण्ड’ र एमालेबाट नरुलाल चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। चौधरी यसअघि मेयरमा निर्वाचित भएका थिए। दुवै पक्ष आफूले जित्ने दाबी गर्दै आएका छन्।

घोराही उपमहानगरको सत्ता गठवन्धनमा कांग्रेस र माओवादी केन्द्र रहेका छन्। सहमति नजुटेपछि एकीकृत समाजवादीले भने एकल उम्मेदवारी दिएको छ। समाजवादीबाट मेयरमा रामप्रसाद चौधरी र उपमेयरमा शोभा शाहको उम्मेदवारी परेको हो।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा घोराहीमा एमालेले मेयर र उपमेयर दुवै पद जितेको थियो। मेयरमा चौधरी २२ हजार ३० मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए। माओवादीकै जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए। २०७४ को निर्वाचनमा दलहरु गठबन्धन बिना नै प्रतिस्पर्धामा होमिएका थिए।

डाँगीले अहिले उपमेयरको टिकट पाएका छन्। यद्यपि सुरुदेखि नै डाँगीले मेयरका लागि भन्दै कांग्रेस नेतृत्वसँग लबिङ गरिरहेका थिए। घोराहीमा माओवादी केन्द्रलाई मेयरको टिकट हात परेपछि डाँगी उपमेयरमा खुम्चिएका हुन्। उनले मेयर नपाए स्वतन्त्रबाट उम्मेदवारी दिने बताएका थिए। तर पार्टीको जिल्ला नेतृत्व र केन्द्रको ‘कन्भिन्स’ले उनी पछि हटे।

यसअघि उपमेयरमा एमालेकै सीता न्यौपाने २०७९२ मतका साथ विजयी भएकी थिइन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्पा श्रेष्ठ १७६०३ मा रोकिएकी थिइन्। चुनावमा एमालेबाट उपमेयरमा हुमा डीसी भीडदैछिन्।

त्यस्तै घोराहीका १९ वटामध्ये एमालेले १०, कांग्रेसले ६ र माओवादीले ३ वडा जितेको थियो। २०५६ सालदेखि लगातार दाङमा पराजय व्यहोर्दै आएको एमालेले २०७४ को चुनावमा दाङमा सफलता पाएको थियो। २०५४ सालको निर्वाचनमा तत्कालीन नगरपालिकामा एमालेले जितेको थियो। २०५६ को संसदीय निर्वाचनमा कांग्रेसले, २०६४ मा माओवादीले र २०७० मा कांग्रेसले जितेको थियो।

घोराही उपमहानगर कसको पोल्टामा जाला निकै चर्चाको विषय बनेको छ। नेकपा एमाले घोराहीका इन्चार्ज गेहेन्द्र बस्नेत अत्यधिक मतले मेयर, उपमेयरमा विजयी हुने दाबी गर्छन्। ‘पाँच वर्षमा भएका कामका आधारमा पनि मेयरमा नरुलालजीले जित्नुहुन्छ। स्थानीय स्तरमा सडक बनेका छन्। सडक मानवमुक्त भएको छ। सरकारी स्कुलको स्तरोन्नति भएको छ। यो उपमहानगर बालमैत्री घोषणा भएको छ,’ बस्नेतको दाबी छ।

घोराही थारु समुदायको बाहूल्यता रहेको क्षेत्र हो। त्यसैले पनि मेयरमा चौधरीले धेरै मत पाउने उनको आँकलन छ।

नेपाली कांग्रेस घोराहीका सभापति तिलक रावतले भने गठबन्धनका उम्मेदवारले सजिलै जित्ने दाबी गरे। ‘यसपटक हामीले संगठन विस्तार गाउँ-गाउँसम्म गरेका छौं। एक त घोराही कांग्रेसको राम्रो मानिएको क्षेत्र हो। अर्को कुरा गठबन्धनले गर्दा झन् सजिलो देख्छु,’ उनले अन्नपूर्णसँग भने। उनले साझा प्रतिबद्धता पत्रसहित गठबन्धनका उम्मेदवारहरु प्रचारप्रसारमा होमिएको बताए।

कृषक परिचयपत्र बनाई कृषि बीमा र कृषक पेन्सन कार्यक्रम अघि बढाइने गठबन्धनको योजना छ। उपमहानगरपालिकाभित्र एउटा विद्यालयलाई ‘लिड स्कुल’का रुपमा विकास गरिने, घोराही उपमहानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गरिने साझा प्रतिवद्धतापत्रमा उल्लेख छ। चुनावमा विजयी भए प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको स्तरवृद्धि गरी आकस्मिक उपचार सेवासमेत वडामै उपलब्ध हुने ब्यवस्था गरिने उल्लेख छ।

निर्वाचन आयोगको अद्यावधिक तथ्यांकअनुसार घोराही उपमहानगरमा एक लाख १२ हजार ९२७ मतदाता छन्। जसमध्ये ५८ हजार ७०६ महिला र ५४ हजार २२१ पुरुष मतदाता रहेका छन्।

को हुन् डायमण्ड?

दाङमा पार्टी संगठन निर्माणमा डायमण्डको भूमिका धेरै रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। डायमण्डले दाङमा लोकतान्त्रिक र वाम शक्तिलाई एक ठाउँमा ल्याएर राजाको प्रत्यक्ष शासन अन्त्य गर्ने आन्दोलनको दाङमा नेतृत्व गरेका थिए।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि १५ वर्षसम्म उनी राजकीय पदमा पुगेनन्। डायमण्डले पार्टी जिम्मेवारीमा रहेर दाङका थुप्रै नेता, कार्यकर्ताहरुलाई राजकीय जिम्मेवारीमा पुर्‍याउन कुशल संगठकको भूमिका खेलेका छन्। डायमण्ड माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। घोराही-१५ निवासी हेमराज शर्माको जन्म दाङ देउखुरी हालको गढवा-३ धैरेनीमा भएको थियो।

२०४३ सालमा गाउँको स्कुलमा कक्षा ७ मा पढ्दै गर्दा सहिद कृष्ण सेनले विद्यार्थी संगठनमा आबद्ध गराएपछि राजनीतिमा होमिएका थिए। घोराहीबाटै स्नातकसम्मको अध्ययन सकाएर २०५३ सालमा माओवादीले सञ्चालन गरेको जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर होमिएका थिए।

जनयुद्धका बेला नै पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्रका रुपमा पार्टीका संगठन परिचालन गर्न सक्ने देशभरका अगुवा कार्यकर्तामा उनी औँलामा गनिने नाममा पर्थे। युद्धकालीन समयमा कम उमेरमै पार्टी जिल्लाको सचिव पद सम्हाल्न पुगेका डायमण्ड उतिबेला बनेका जिल्ला जनसरकारका नीति, योजना र विकास कार्यक्रमको मास्टर प्लान बनाउने नेता हुन्।

को हुन् नरुलाल चौधरी?

एमालेको पोलिटव्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका चौधरी किसान परिवारका व्यक्ति हुन्। स्नातकोत्तर उत्तीर्ण गरेका चौधरी नेकपा एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरुमा रहेर काम गर्दै दाङ जिल्ला अध्यक्ष भई अहिले पोलिटव्युरो सदस्यसम्म पुगेका छन्।

२०५४ सालमा तत्कालीन रामपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। उनलाई नजिकबाट चिन्नेहरुले गाविस अध्यक्ष भएका बेला विकट रामपुरमा भौतिक पूर्वाधार विकास, सामाजिक कामहरु गरेका छन्। अहिले रामपुर उपमहानगरपालिकामै गाभिएको हो। रामपुरलाई कृषिको पकेट क्षेत्र घोषणा गर्न चौधरीको योगदान छ।

चौधरी राजनीतिमा प्रवेश गर्नु अगाडि दुई वर्ष शिक्षक र दुई वर्ष रेडियो नेपालमा जागिरसमेत खाएका थिए। रेडियो नेपालमा थारु भाषामा समाचार पढ्ने जागिर छोडेर गाविस अध्यक्षमा चुनाव लड्न गाउँ फर्केका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.