केन्द्रीय समितिले उम्मेदवारी फिर्ता गरेका उम्मेदवार भोट माग्न गाउँ जाने
रसुवा : रसुवाको नौकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा दिएको उम्मेदवारी केन्द्रीय समितिले फिर्ता लिएपछि समस्या सिर्जना भएको छ। उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी लालुमाया घलेको उम्मेदवारी केन्द्रीय समितिले उनलाई नसोधी फिर्ता गरिएको पत्र पठाएको थियो। अहिले उनको नाम उम्मेदवारी सूचीबाट हटिसकेको छ।
पार्टीको सिफारिसमा नै उनले सोमबार उम्मेदवारी दर्ता गराएकी थिइन्। ‘मलाई पार्टीले टिकट दिएपछि मैले उम्मेदवारी दर्ता गराएको थिएँ’, उनले भनिन्’, ‘शुक्रबार अचानक उम्मेदवारी फिर्ता लिएको पत्र पठाएको रहेछ ।’ शुक्रबार उनी काठमाडौं गएकी थिइन्।
उनले उम्मेदवारी दर्ता गरेसँगै चुनावी तयारीमा लागिसकेकी थिइन् । ‘मेरो सहमति बिना, मेरो हस्ताक्षर विना, मेरो उपस्थिति विना आफूखुशी उम्मेदवारी फिर्ता लिनु भनेको तानाशाही रूपमा केन्द्र प्रस्तुत भएको छ’, उनले भनिन्, ‘यसमा मेरो सहमति छैन्।’
‘मलाई पार्टीले आधिकारिक उम्मेदवार नमाने पनि म उपाध्यक्ष पदका लागि नै मत माग्छु’ उनले थपिन्। उनले आफ्नो साथमा नौकुण्डका जनता कति छन् भनेर मत माग्ने बताइन्। त्यहाँ गठबन्धनको कुरा उम्मेदवारी दर्ता गर्नुपूर्व नआएको उनको भनाइ छ।