समाजसेवामा फाउन्डेसनको फड्को
मानव कल्याण निमित्त आत्मबोध भएर समाज कल्याणका लागि अघि बढ्ने हातहरू साँच्चै नै पवित्र छन्। यो भागदौडको व्यस्त जिन्दगीमा केही समय निकालेर अरूका निम्ति सोच्नु र यथासक्य सहयोग गर्नु नितान्त पृथक अभियान हो। यसरी अघि बढ्ने अभियानको संवाहक बनेको छ, आदित्य जनहित कल्याणकारी कोष। नाफारहित र सेवा भावले मूलमन्त्र मानेर सुरु भएको छ, ॐ आदि फाउन्डेसन। जसले मानव कल्याणका निमित्त कोष नै खडा गरेर सेवा दिँदै आएको छ। २०७१ सालको मंसिरमा बालगुरु आदित्यको नाममा आदित्य संरक्षण प्रतिष्ठानको स्थापना भयो। त्यसको केही समयपछि उक्त प्रतिष्ठान नै ॐ आदित्य फाउन्डेसनको नाममा रूपान्तरित भएको हो। जसले अहिले मानव कल्याणको काम गर्दै आइरहेको छ।
स्थापनाको सुरुमा २०७२ सालमा विनाशकारी भूकम्प गयो। भूकम्प गएलगत्तै गुरु आदित्य स्थलगत भ्रमणमा जानुभएको थियो। उहाँले भूकम्पले बढी नै क्षति पुर्याएका काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक लगायतका जिल्लाको भ्रमण गर्नुभयो। भूकम्पपछिको विनाशले भताभुंग संरचना र जीवनहरूलाई आदित्य गुरुबाट केही भए पनि सहयोगको प्रयास भयो। त्यतिबेला ॐ आदि फाउन्डेसन निकै नै सानो थियो। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा फाउन्डेसनले केही आर्थिक सहयोग गरेको थियो। त्यो नै पहिलो संस्थागत सामाजिक कल्याणको प्रयास थियो। जति सकिन्छ त्योभन्दा बढी सहयोग गर्नू भन्ने गुरुआदेशलाई मान्दै गुरुशिष्य मिलेर उक्त सहयोग रकम जम्मा गरेका थिए। त्यतिमात्र होइन, भूकम्पले खाना नपाएका र बिजोग भएकाहरूलाई पनि व्यक्तिगत रूपमा पनि आवश्यक सहयोग गरिएको थियो।
सहयोग एकपटक गरेर सकिने भन्ने हुँदैन। मुलुकले व्यहोरेका एकपछि अर्का विपद्हरूमा फाउन्डेसन पनि सँगै सहयोगी भएर अघि बढ्दै गएको देखिन्छ। विपद्मा सहयोगी बन्ने उद्देश्यले फाउन्डेसनले आदित्य जनहित कल्याण कोष नै खडा गरी सेवा गर्दै आइरहेको छ। यो कोषमा संस्थाकै आजीवन सदस्य रहेका करिब १२० जना र साधारण सदस्यबाट स्वेच्छाले उठेको सहयोगलाई लिने गरिन्छ। बेलाबेलामा जाने बाढीपहिरो पनि मानव जीवनका लागि कष्टकर बन्ने गर्छ। छिनभरमै सबै गुमाएका मानिसलाई आफूले सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता यो कोषको हो। दान नै सबैभन्दा ठूलो धर्म हो भन्ने मूलनारालाई पालना गर्दै जनहितमा नै यो कोष लागेको छ।
स्वच्छ, भयमुक्त, चिन्तारहित शान्ति समाज निर्माण गर्न, प्रेम, शान्ति र सद्भाव कायम गर्न चाहन्छ संस्था। सामाजिक, सांस्कृतिक, आध्यात्मिक रूपान्तरणका लागि यथोचित वातावरण सृजना गरी सम्पन्न र विवेकशील समाजको स्थापना गर्ने पवित्र उद्देश्य छ यसको। साथै मुनाफारहित सामाजिक प्रतिष्ठानको रूपमा यो संस्था स्थापना भएको हो। गत वर्ष कोभिड–१९ को संक्रमणको उत्कर्षबाट मुलुक नै आतंकित र भययुक्त भइरहेको अवस्था थियो। अन्य सहायतासँगै संस्थाले जनस्वास्थ्य कायम गर्न ठूलै चुनौति सिर्जना भएको अवस्थामा काम गरेको थियो। यस्तो स्थितिमा फाउन्डेसनका संरक्षक बालयोगी आदित्य गुरुदेवले २०७८ वैशाख २९ गते मुलुकमा आइपरेको संकट निवारणका लागि यथासक्य सहयोग गर्न निर्देशन भएको थियो। हामीले हाम्रो मातृधर्म, मानवधर्म नबिर्सिकन यो विकराल घडीमा दुःखमा परेकाहरूलाई हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्न अपिल भएको थियो। जसमा खानपान, औषधि उपचार, अक्सिजन र मृतकको संस्कारका लागि चाहिने दाउराको व्यवस्थाजस्ता सहयोग पर्छन्।
यससँगै फाउन्डेसनले सहयोगका क्षेत्रहरू पहिचान गरेको थियो। जसमा खाना वितरण, सरसफाइ, जनस्वास्थ्यका सामग्री, बेवारिसे शवको व्यवस्थापनका लागि एम्बुलेन्सको उपलब्धतालाई प्राथमिकतामा राखिएको थियो। सोही अनुरूप नै कोषमा आर्थिक सहयोग जुटाउने गरी तत्काल राहत सेवा अभियान सञ्चालन गरिएको थियो। यस अभियानमा मूलतः कोभिड–१९ बाट संक्रमित व्यक्तिहरूलाई उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई र संक्रमणको जोखिमको अग्रपंक्तिमा रहेका सर्वसाधारण व्यक्तिहरूलाई केन्द्रबिन्दुमा राखिएको थियो। विशेषतः कोभिड– १९ बाट संक्रमित भई अस्पतालमा उपचार गराइरहेका बिरामीहरू र तिनको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई खाना उपलब्ध नभइरहेको अवस्थामा प्रतिष्ठानले पौष्टिक तत्वयुक्त खाना उपलब्ध गराएको थियो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बिरामीहरूलाई यस्तो खाना २०७८ वैशाख ३० देखि असार २० गतेसम्म बिहान र बेलुका खुवाइयो। त्यसबेला १९ हजार ८ सय ९ जनालाई खाना खुवाइएको थियो। त्यसैगरी, त्रिशूली अस्पतालका कोराना संक्रमितहरूलाई जेठ २ देखि असार १४ सम्म बिहान र बेलुका गरी ३ हजार ७ सय ७४ जनालाई खाना खुवाइएको थियो। भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित बिरामीहरूको रेखदेखमा खटिएका प्रतिदिन ५० सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई करिब दुई महिना निःशुल्क दिवा खाजाको व्यवस्था गरियो। शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल हाताभित्र २०७८ जेठ १ देखि दैनिक २५ जार खानेपानी वितरणको व्यवस्था मिलाइएको थियो।
यसका अतिरिक्त कोरोना संक्रमित आर्थिक रूपले विपन्न व्यक्ति-परिवारका लागि काम गरियो। दाल, चामल, तेल, नुनजस्ता खाद्यान्न र साबुन, मास्क, पन्जा, स्यानिटाइजर जस्ता सरसफाइका सामग्री पनि निःशुल्क वितरण गरिएको थियो। २०७८ जेठ २५ का दिन बारा जिल्लाको सिमरामा चामल २ हजार २ सय ५० केजी, दाल २५० केजी, सोयाबिन तेल २ सय प्याकेट, साबुन ३ सय पिस र नुन ५ सय प्याकेट वितरण गरिएको थियो। यस्तै, बेलबारी नगरपालिमा मास्क, स्यानिटाइजर र पन्जा वितरण गरिएको थियो।
कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सर्वसाधारणमा सचेतना कार्यक्रम सञ्चालन गर्न र पर्याप्त सूचना प्रवाह गर्न विज्ञ चिकित्सकहरूका सेवा, सल्लाह र परामर्शका लागि प्रतिष्ठानले नेपाल मेडिकल एसोसिएसन र अमेरिका नेपाल मेडिकल फाउन्डेसनसँग सहकार्य गरेको थियो। यसअन्तर्गत एनएमए कल सेन्टर स्थापना गरी सोमार्फत तीन हजारभन्दा बढी व्यक्तिहरू लाभान्वित भएका थिए। यस्तै, आफन्तको पहिचान हुन नसकेका बेवारिसे लासहरूको दाहसंस्कार गराउन आवश्यक प्रबन्ध मिलाई २२ मृतकको दाहसंस्कार गराइएको थियो।
साथै, समयमै अस्पताल पुग्न नसकी मृत्युवरण गर्न बाध्य भएका व्यक्तिहरूलाई दृष्टिगत गरी काम गरिएको थियो। स्रोतको सीमितताका बाबजुद पनि दुइटा एम्बुलेन्स खरिद गरिएको थियो। पूर्वको झापा जिल्लास्थित कमल गाउँपालिका १ थान र सुदूरपश्चिमको बैतडी जिल्लास्थित रैलेश्वर गाउँपालिकालाई १ थान हस्तान्तरण गरिएको थियो। यस प्रतिष्ठानले स्थापनाकालदेखि समाजसेवालाई केन्द्रमा राखेर गरेको सहयोगका यी केही उदाहरण मात्र हुन्। आदित्य गुरुको सामिप्यता, उदारता र सँगसँगै प्रतिष्ठानले बोकेको जिम्मेवारी मानवसेवाका लागि सराहनीय छ।