प्रमुख/उपप्रमुखमा नवलपरासीका कांग्रेस/एमालेले दलितलाई पन्छाए
परासी: पश्चिम नवलपरासीका ७ स्थानीय तहका प्रमुख र उपप्रमुखको उमेदवारमा कांग्रेस र एमालेले दलित समुदायलाई पन्छाएका छन् । ३ नगरपालिका र ४ गाउँपालिकाको उमेदवारीमा दुई ठूला दलले दलित समुदायलाई स्थान नदिएको पाइएको हो । जिल्लाका २ पालिकाको प्रमुख/उपप्रमुखमा उमेदवारी नै परेको छैन । उमेदवारी दिएका ५ पालिकामा माओवादी केन्द्रसहित साना दल र स्वतन्त्रबाट ११ जनाको उमेदवारी परेको छ । नामावली अनुसार कांग्रेस र एमालेबाट भने उमेदवारी नअटाएको देखिएको छ ।
उमेदवारी परेका ११ जनामध्ये ६ जना महिला छन् । जसमा १ जना महिला प्रमुख छन् । ५ जना उपप्रमुखमा छन् । महिलाबाट रामग्रामको प्रमुख पदमा उमेदवारी दिनेमा मंगोल नेशनल अर्गनाइजेसन पार्टीकी विमला वि.क. छन् । सो नगरपालिकाको प्रमुख पदमा बहुजन शक्ति पार्टीका सन्तोष हरिजनले पनि उमेदवारी दिएका छन् ।
दलित समुदायबाट सबैभन्दा बढी सुस्ता गाउँपालिकामा उमेदवारी परेको छ । त्यहाँ २ जना अध्यक्षसहित ५ जनाको उमेदवारी परेको हो । अध्यक्षमा उमेदवारी दिनेमा माओवादी केन्द्रका धर्मेन्द्र कुमार पञ्जियार र नेकपा एसका बाबुराम चमार छन् । उपाध्यक्षमा राप्रपाकी हेमकुमारी पञ्जियार, राष्ट्रिय जनमुक्ति पार्टीकी रुपाकुमारी हरिजन, जनता प्रगतिशिल पार्टी(जप्रपा) की सोसिताकुमारी हरिजनले उमेदवारी दिएकी छन् ।
उपाध्यक्षमा उमेदवारी दिनेहरुमा पाल्हीनन्दन गाउँपालिकामा राप्रपाकी ज्योती हरिजन र सरावल गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) की सुनिता हरिजन छन् । सुनवल नगरपालिकाको उपप्रमुखमा नेकपा एसका अर्जुन सुनारले उमेदवारी दिएका छन् । स्वतन्त्रबाट पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अधिवक्ता मनोज कुमार हरिजनले उमेदवारी दिएका छन् । बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाबाट दलित समुदायबाट उमेदवारी परेको छैन ।