अन्तरदेशीय प्रसारण लाइन : थ्रीबी हबदेखि रातमाटेसम्म मल्टी सर्किट टावर निर्माण हुने

अन्तरदेशीय प्रसारण लाइन : थ्रीबी हबदेखि रातमाटेसम्म मल्टी सर्किट टावर निर्माण हुने

रसुवा : चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत थ्रीबी हबदेखि रातमाटेसम्म मल्टी सर्किट टावर निर्माण हुने भएको छ। रसुवा जिल्लामा उत्पादन भएको विद्युतसमेत जोड्ने गरी मल्टी सर्किट टावर निर्माण गर्न लागिएको हो।

मल्टी सर्किट टावर निर्माण गर्दा थप टावर निर्माण गर्न नपर्ने भएकाले लागतसमेत कम हुने छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने रातमाटे-रसुवागढी-केरुङ ४ सय केभी प्रसारण लाइनको अहिले टावरको डिजनाइनको काम अघि बढेको छ।

आयोजनाका अनुसार मल्टी सर्किट टावरमा माथि ४ सय केभी डबल सर्किट र तल २२० केभी डबल सर्किट लाइन जडान हुने छ। थ्रीबी हबदेखि रातमाटेसम्म २८ किलोमिटर रहेको आयोजनाले जनाएको छ। टावर डिजाइनको काम छिट्टै सुरु हुने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए।

‘हामीले अहिले टावर डिजाइनको कामलाई अघि बढाएका छौं,’ उनले भने, 'यसको काम छिट्टै सम्पन्न हुने छ।’ साथै आयोजनाले अहिले वातावरणीय प्रभाव मूल्यांकन (इआए) को काम पनि अघि बढाएको छ। ६ वर्षमा निर्माण सम्पन्न हुनेगरी अघि बढाइएको आयोजनामा करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ।

आयोजनाको काम सुरु भएको आगामी जेठमा ३ वर्ष पुग्दैछ। आयोजनाका अनुसार केही समयअघि भएको चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको क्रममा २ वर्ष समय थप भएको छ। यसअघि पनि २ वर्ष समय थपिएको थियो। पाँच वर्षभित्र सबै प्रक्रिया सकाएर निर्माण कार्य सुरु गरिसक्नुपर्ने भएकाले चार वर्ष भित्रमा नै काम सुरु हुने आयोजना प्रमुख आत्रेयले जानकारी दिए।

आयोजनाले हालसम्म दुईवटा रुटबाट सर्भेको काम पनि सकाएको छ। नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले रुट परिवर्तनका लागि सर्वेक्षणको काम सकाएका हुन्। सुरुमा वन क्षेत्रबाट निर्माण गर्नेगरी सर्भे गरिएकोमा लागत बढी लाग्ने र सामग्री ढुवानीमा पनि समस्या हुने भएपछि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निर्माण गर्नका लागि सर्वेक्षण गरिएको छ।

सर्भेको प्रतिवेदन अनुसार वन क्षेत्रबाट निर्माण गर्दा प्रसारण लाइनको दूरी ७० किलोमिटर हुने छ भने १० अर्ब रुपैँया लागत लाग्ने छ। जसमा २ सय १४ वटा टावर निर्माण गर्नुपर्छ। तर निकुञ्ज क्षेत्रबाट निर्माण गरे लाइनको दूरी ६५ किलोमिटर हुने भएकाले लागत करिब ९ अर्ब लागत लाग्ने आयोजनाले जनाएको छ। यस क्षेत्रबाट निर्माण गर्दा १ सय ७१ वटा टावर निर्माण गरे पुग्ने प्रतिवेदनमा उल्लेख छ।

प्रसारण लाइनको चीनतर्फ तिब्बतस्थित जिलोङ काउन्टी र नेपालतर्फ नुवाकोटको रातमाटेमा सबस्टेसन राखिने आयोजनाले जनाएको छ। विकल्पमा नुवाकोटको त्रिशुलीमा पनि सर्भे गरिएको छ। नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.