अर्थतन्त्र, राजनीतिक र व्यवस्था परिवर्तनका लागि विकासमा क्रान्तिको आवश्यकता : बरबरिया
जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका नेकपा माओवादी केन्द्र मेयरका उम्मेदवार उदयकुमार बरबरिया यादवले विगतको बाचा पुरा गर्न विकासको अवधारणा अनुसार अधुरो कामहरुलाई टुङ्गयाउन र परिकल्पना गरिएको शहिदनगर, सुदृढ नगरको समग्र विकासका लागि उम्मेदवारी दिएको बताए। यदुकूहामा घरदैलोको क्रममा बरबरियाले भने, ‘यो विभिन्न कालखण्डमा देश परिवर्तनका लागि भएको शहिदहरुको भूमि हो, त्यही भएर लोकतान्त्रिक आन्दोलन, जनयुद्धकालिन आन्दोलन र अन्य आन्दोलनको शहिदहरुको सम्मानमा शहिदलाई चिनाउने हिसाबले हामीले कामहरु गरेका छौं, बाकी अझै कामहरु बाँकी छ। ती सबैलाई पुरा गर्न एक–पटक अझ समृद्धिको दिशातर्फ नगरलाई लग्न उम्मेदवारी दिएको हुँ।’
बरिबरियादव जनताको मर्म अनुसार विकासको फुटेको मुललाई थप सुदृढिकरणका लागि दोश्रो कार्याकालको लागि मनोनयन दर्ता गराएको बताए। उनले भने, ‘तपाईहरुको आकांक्षा र ईच्छा अनुसार नै निर्वाचनमा होमिएको हुँ, यहाँहरुले मलाई सेवाको मौका दिनुभएको थियो, एकपटक थप दिनुहुन्छ भन्ने आशा र विश्वासको साथ मैदानमा उत्रिएको छु। तपाईहरुले मलाई जिताउनु भएको थियो, फेरि पनि जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु।’
धनुषाको रोल्पा रुकुम भनेर चिनिने यदुकूहालाई निवर्तमान मेयर बरबरिया यसअघि २४ वर्षको उमेरमा पहिलो पटक मेयरमा निर्वाचित भएपछि सडक सञ्जाल विस्तारमा व्यापक सुधार गरेको उनको भनाई छ। उनी उमेरको हिसावले देशकै कान्छो मेयर भनेर समिति देशभरी परिचित छन्। साथै शहिदनगर नगरपालिकाका गरेको कामको आधारमा पुनः मेयर पदमा उनलाई दोहोर्याउन पार्टीको आग्रहरु अनुसार दोश्रो पटक मेयरको दौडमा आएको बताए।
माओवादी जनयुद्धकाल देखि नै क्रान्तिकारी स्वभावका बरबरियाले भने, ‘क्रान्तिबाट धेर्र परिवर्तन गरियो अब देश विकासमा क्रान्तिको आवश्यकता छ। आर्थिक क्रान्ति र विकास क्रान्ति आजको अपरिहार्यता हो।’ उनले देश विकासको लागि युवा शक्ति राजनीतिमा लागेर आउन जरुरी रहेको बताउँदै देशको अर्थतन्त्र, राजनीतिक व्यवस्था परिवर्तनका निमित्त युवालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए।