कांग्रेस र एमालेका बागी उम्मेदवारलाई कारवाही
उदयपुर : नेपाली कांग्रेस र नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई कार्वाही गरेको छ। कांग्रेसले पहिलोचरणमा ५ स्थानीय तहका ८ जना र एमालेले एक जनालाई साधारण सदस्यसमेत नरहेने गरी कार्वाही गरेको छ। काँग्रेसका जिल्ला पार्टी सभापति हिमाल कार्कीले एक प्रेसविज्ञप्ति जारी गर्दै चौदण्डीगढी नगरपालिकामा प्रमुखमा बागी उम्मेदवारी दिएका प्रशान्त राई, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा उपप्रमुखको बागी उम्मेदवारी दिएका रमिला राईलाई कारवाही गरिएको हो।
रमिला २०७४ को निर्वाचित उपाध्यक्ष हुन भने नेपाली कांग्रेसको प्रदेश समिति सदस्य र महाधिवेशन प्रतिनिधि हुन्। त्यसैगरी कटारी नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका बालकृष्ण थापा, सोही नगरका उपप्रमुखका उम्मेदवार कृष्णबहादुर थापा, अर्का उपप्रमुखका उम्मेदवार मनकुमारी भूजेल, ताप्ली गाउँपालिकामा अध्यक्ष उम्मेदवार माधव रास्कोटी, उपप्रमुखको उम्मेदवार शुसिला मगर र उदयपुरगढी गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार तिलक खपाङ्गीलाई कारवाही गरेको हो।
कटारीका उपप्रमुख कृष्ण थापा काँग्रेसका उदयपुर निर्वाचन क्षेत्र २ को प्रदेश ख का पार्टी सभापति हुन्। विज्ञप्तीमा भनिएको छ, ‘केन्द्रीय कार्यालयको वैशाख १६ गतेको पत्र र नेपाली कांग्रेस उदयपुरको प्रेस विज्ञप्ति पत्रबाट वैशाख १४ गते गरिएको अनुरोध पत्रानुसार पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नलिएका साथिहरुलाई पहिलो चरणमा नेपाली कांग्रेसको विधाननुशार निस्काशन गरिएको छ।’
विज्ञप्तिमा कांग्रेसको विद्यान २०१७ संशोधनसहितको धारा ४, (१३) (ग) वमोजिम साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको जनाएको छ। त्यसैगरी नेकपा एमालेले कटारी नगरपालिकाबाट नगर प्रमुखमा बागी उम्मेदवारी दिएकी भिमकुमारी राउतलाई कार्वाही गरेको छ। राउत एमालेका प्रदेश कमिटी सदस्य तथा २०७४ का नगरपालिकाका उपप्रमुख हुन्।
पार्टीको आधिकारिक उम्मेदवारीविरुद्धमा उम्मेदवार मनोनयन गरी पार्टी निर्णयको विरुद्धमा लागेको देखिएको हुँदा पार्टीको विधानको धारा ८० को उपधारा ६ ले व्यवस्था गरेबमोजिम कारवार्ही गरिएको हो।
विज्ञप्तिमा ‘कुनै जनप्रतिनिधि संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवार बनेका, पार्टीको उम्मेदवार विरुद्धमा प्रचार गरेमा वा पार्टीको उम्मेदवारको विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको सर्मथक वा प्रस्तावक बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा पार्टी अनुसाशनको कार्वाही हुने व्यवस्था उल्लेख छ। विद्यान अनुसार पार्टीको अनुशासन उल्लंघन गरको देखिएको हुँदा धारा ८१ को दफा १ बमोजिम राउतलाई निस्काशन गरिएको हो।
यता नेकपा माओबादी केन्द्रले भने आफ्ना बागी उम्मेदवारलाई कुनै पनि कारवाही गरेको छैन्। संगठन अझ कमजोर बन्ने डरले माओवादीले कार्वाही नगरेको बताइएको छ। माओबादीका नेतालाई कार्वाही नगर्दा गठबन्धन भित्र शंका उब्जिएको छ।
माओवादीबाट कटारी नगरपालिकाको प्रमुख पदमा प्रदेश कमिटी सदस्य केपी बराल, लिम्चुङ्गबुङ्ग गाउँपालिकाको प्रमुख पदमा जिल्ला कमिटी सदस्य होम किराँती, त्रियुगा नगरपालिकाको उपप्रमुखमा नगर उपाध्यक्ष सावित्रा थापा र चौदण्डिगढी नगरपालिकाको प्रमुख पदमा निर्वाचित वडाध्यक्ष कमलध्वज राईले बागी उम्मेदवारी दिएका छन्।