रसुवागढी नाकाबाट खाद्यान्न आयात बढ्यो : ९ महिनामा माछाको अचार मात्रै १४.४ टन भित्रियो

रसुवा : रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात बढ्दै गएको छ । कोभिड–१९ का कारण केही समय आयात घटेपनि पछिल्लो समय आयात पुनः बढ्दै गएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार गत आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको तुलनामा यसपटक आयात बढेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा ३ सय १३ टन खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ । नाकाबाट सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढेको छ। फलफूल तथा सागपातजन्य ९२.१० टन, खाद्यान्न दलहन तथा अन्य ३७.२ टन, मसलाजन्य १४.९३, मासुजन्य २५.०८, दूधजन्य ८.१५, चिया तथा कफीजन्य ३८.४५ टन, माछाको अचार १४.४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमालगायतका ७७.१४ टन खाद्य सामग्री आयात भएको कार्यालयले जनाएको छ ।
चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट पछिल्लो समय चिनियाँ खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए ।
'चीनबाट आउने खाद्य सामग्री नेपालमा बस्ने चिनियाँले नै प्रयोग गर्छन्, 'उनले भने, 'नेपालमा चिनियाँको संख्या बढ्दा सामग्रीको आयात पनि बढेको हुनसक्छ ।’अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाहरुको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकाले परीक्षण गर्नेको संख्या बढेको उनले बताए ।
नमुना परीक्षण बढ्यो
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि चैत मसान्तसम्ममा कार्यालयले २ सय ९७ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको छ । गत वर्ष एक वर्षमा २ सय ३ थान सामग्रीको मात्र परीक्षण भएको थियो ।
कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कार्तिकमा ६, मंसिरमा २८, पुसमा २५, माघमा ४६ र फागुनमा ७१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ ।
कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
