म्याग्दीमा चुनावी चहलपहल : गीत घन्काउँदै भोट माग्नेको लर्को
बेनी : स्थानीय तह निर्वाचनका लागि उमेदवारहरुले चुनाव प्रचार तीब्र बनाएपछि म्याग्दीमा चहलपहल बढेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशन लगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारभोट माग्न गाउँ पसेका छन् । दलका झण्डा र चुनाव चिन्ह राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्ने उम्मेदवारको लर्को लागेको छ ।
फरक–फरक दलको वडा र पालिकाका उमेदवारहरु समूह बनाएर घरदैलोमा हिँडेका छन् । उम्मेदवार नेताहरुको चहलपहलले चुनावी माहौल बढाएको छ । उम्मेदवारहरुले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवारभएकाले चुनावले चहलपहल बढाएको हो ।
धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । दिउँसो सभा साँझ र बिहानको समयमा घरदैलो गरिएको नेकपा माओवादी केन्द्रबाट बेनी नगरपालिकाको उपप्रमुखका उम्मेदवार ज्योति लामिछाने पौडेलले बताइन् ।
कतै तालमेल कतै प्रतिस्पर्धा
छ वटा स्थानीय तह र ४५ वटा वटा रहेको म्याग्दीमा २३७ पदका लागि ७१८ जना उम्मेदवारचुनावी मैदानमा उत्रिएका छन् । पालिका अध्यक्ष/प्रमुखमा २९, उपाध्यक्ष/उपप्रमुखमा २३, वडा अध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जना उम्मेदवार छन् ।
धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्षसहित पाँचैजना जनप्रतिनिधि निर्विरोध भएका छन् । वडा अध्यक्ष दलित महिला सदस्य र महिला सदस्यमा क्रमश : नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल, सतमाया वि.क. र सिता छन्त्याल निर्विरोध भएका हुन् ।
यसैगरी माओवादी केन्द्रकै चुनाव चिन्हबाट मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका वडा सभापति केआइसिङ छन्त्याल पनि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुनराम छन्त्याल पनि निर्विरोध भएको निर्वाचन अधिकृत भोलाराज रेग्मीले बताए ।
एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन् । मालिका, मंगला र रघुगंगा गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा छ । चारजना गाउँपालिकाका अध्यक्ष र १७ जना वडा अध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेका छन् । पहिलो कार्यकालमा सुरु गरेका अधुरा कामलाई पूर्णता दिन दोहोरिएर उम्मेदवार बनेको एमालेबाट मंगला गाउँपालिका प्रत्यासी सतप्रसाद रोकाले बताए ।
उम्मेदवारका प्रतिवद्धता
सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागिता मुलक बनाउने अधिकांश उम्मेदवारको कार्यसूची छ ।
नेकपा माओवादी केन्द्रबाट मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवाररेशम जुग्जालीले गाउँका सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पुर्याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने मुद्दालाई जोड दिएको बताए ।
के भन्छन् मतदाता ?
उम्मेदवारहरुले असम्भव हुने योजना बनाउने, आवश्वासन बाँड्ने र पदमा पुगेपछि प्रतिवद्धता विर्सने समस्या रहेको नागरिकले गुनासो गरेका छन् । स्थानीय आवश्यकता र समस्या पहिचान गरेर त्यसलाई आफ्नो क्षमता र अधिकार अनुसार सम्बोधन गर्नपर्ने बेनपा–६ चुत्रेनीका विरसिंह किसानले बताए । चुत्रेनीकी बाटुली खत्रीले जसले चुनाव जितेपनि काम र सेवा प्रवाहमा विभेद हुन नहुने अपेक्षा गरिन् ।
उम्मेदवारको पृष्ठभूमि, योगदान र योजनाको अध्ययन गरेर मतदान गर्नुपर्ने बेनपा–४ राक्सेकी हिरा शर्माले बताइन् । 'उम्मेदवारले चुनाव जितेपछि गरेका प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ,' उनले भनिन् 'प्रतिवद्धता पुरा गर्ने योजना सहित उम्मेदवारआउने र नागरिकले पनि योजना, व्यक्तित्व र क्षमता हेरेर मतदान गरे भने बल्ल चुनाव चुनाव जस्तो हुने थियो ।'
यस्तो छ चुनावको तयारी
जिल्लामा ७४ मतदान स्थल र ११४ मतदान केन्द्र छन् । म्याग्दीमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचन सम्बन्धी सवै सामग्री आएको र कर्मचारी व्यवस्थापनमा जुटेको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताए । ११४ जना मतदान अधिकृत, ११४ जना सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी गरी कुल ५६१ जना सुरक्षाकर्मी बाहेकका जनशक्ति आवश्यक पर्ने उनले बताए । वैशाख २३ गतेभित्र मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिने तयारी गरेको छ ।
सुरक्षा समितिले म्याग्दीका मतदान स्थलहरुलाई संवेदनशिलताको आधारमा वर्गीकरण गरेर तयारी थालेको छ । १५ वटालाई अति संवेदनशिल, ४९ वटालाई संवेदनशिल र १० वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।
यसपालीको स्थानीय तह चुनावमा बहिस्कार गर्ने समूह छैनन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाको आधारमा मतदान स्थलहरुलाई वर्गिकरण गरिएको हो । चुनाव प्रचार र मौन अवधिमा आचार संहिता उल्लंघन हुँदाको अवस्थालाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ ।
धवलागिरी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाको जनकल्याण माविको मतदान केन्द्रमा यातायातको सुविधा पुगेको छैन् । रघुगंगा गाउँपालिकाको वडा नम्बर ८ घ्याँसीखर्कमा सञ्चार सुविधा छैन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा ६१८ जना म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा २७७ सहित ३८० जना नेपाल प्रहरी खटिने भएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि शसस्त्र प्रहरीको टोली परिचालन भएको छ ।
विगतको नतिजा
गत चुनावमा कांग्रेसले चार पालिका प्रमुख, दुई उपप्रमुख, १५ वटा वडा, एमालेले दुई पालिका प्रमुख र एक उपप्रमुख सहित २३ वटा वडा, माओवादीले सात वटा वडा र राप्रपाले एक उपप्रमुख जितेका थिए । बेनी नगरपालिकाको प्रमुख, मालिकाको अध्यक्ष, रघुगंगा र अन्नपूर्णको अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।
धवलागिरी र मंगला गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै जितेको एमालेले मालिका गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । राप्रपाले बेनी नगरपालिकाको उपप्रमुख जितेको थियो । राजनीतिक दलहरु आफूले जितेका वडा, पालिका सुरक्षित गर्दै थप गर्ने रणनीतिका साथ प्रतिस्पर्धामा उत्रिएका छन् ।