गठबन्धनको धनगढी घोषणपत्र : भ्रष्टाचार नगर्ने प्रण

गठबन्धनको धनगढी घोषणपत्र : भ्रष्टाचार नगर्ने प्रण

धनगढी : भ्रष्टाचार नगर्ने प्रणसहित सत्ता गठबन्धनले धनगढी नगर प्रतिवद्धता सार्वजनिक गरेको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रणसहित २२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो। 

‘नयाँ परिवेशमा स्थानीय सरकार संचालनको अभ्यासका क्रममा जानी न जानी भएका त्रुटि, कमजोरीहरूप्रति जनता समक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने र राम्रा अनुभव र सिकाइलाई धनगढी उपमहानगरको विकास र समृद्धिका लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं’ प्रतिवद्धता पत्रमा उल्लेख छ। 

प्रतिवद्धता पत्रमा धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन र शिक्षा, स्वास्थ्य, भौतिक विकासका साथै मानव संसाधनको यथोचित विकास गरी नागरिकलाई गुणस्तरीय जीवनयापन गर्न योग्य तुल्याउने अठोट लिइने उल्लेख छ।  

सडक किनारामा वृक्षरोपण गरिने, ‘हाम्रो धनगढी हरित धनगढी’ बनाउने, हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतम पाँचदेखि दश वटा विरुवा रोप्न आग्रह गरिने, धनगढी नगरभित्र रहेका सडक र खोलाहरूको दुबै किनारमा पैदल मार्ग निर्माण गरिने उल्लेख छ।

पहिलो चरणमा शिवपुर धामदेखि कैलाली पुलसम्म पैदल मार्ग निर्माण गरिने, उपमहानगरपालिकाको उर्मा गाउँलाई अत्याधुनिक शहरी सुविधा सम्पन्न र सबैले गौरव गर्न लायक ‘नमुना बस्ती’बनाइने प्रतिवद्धता जनाइएको छ। 

उपमहानगर पालिकाका वडा न १४, १८ र १९ मा टाउन प्लानिङ सुरु गरिने, धनगढीको मुख्य सडक क्याम्पस रोड, चौराहा र शहीद गेटमा आकाशे पुल निर्माण गरिने र एउटा वडा एउटा पार्क, एउटा पोखरी र एउटा पुस्तकालय निर्माण गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ।

उपमहानगरपालिकाका विभिन्न स्थानबाट बग्ने खुटिया, मोहना नदी, सुकुटी र कैलाली नाला लगायतका नदी तथा खोलानाला किनारामा खुला पार्क निर्माण तथा वातावरण मैत्री साईकल ट्रयाक निर्माण गरिने, एक गाउँ बहु उत्पादन नीति अनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिने, फुलवारीलाई पशुपालन, उर्मा, बेला, घुइयाँघाटलाई कृषि जोन बनाइने, अर्गानिक कृषि खेतीलाई प्रोत्सहान गरी त्यसको बजारीकरणमा सहयोग गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ।

यस्तै, विद्यालयमा बालबालिकाको शत प्रतिशत पहुँच पुर्याउन ‘हेप्पी स्कुल’को अवधारणा अन्र्तगत चार वर्षसम्मका बालबालिकालाई ‘अनिवार्य विद्यालय भर्ना’ कार्यक्रम संचालन गरी विद्यार्थी भर्ना दरमा बृद्धि गरिने र पाँच वर्षमा विद्यार्थीहरुको विद्यालय छोडर शून्यमा झारिने, धनगढी उपमहानगरपालिकालाई बालश्रम मुक्त उपमहानगर बनाइने, एक विद्यालय एक नर्सको व्यवस्था गरिने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागूगरिने र  निजि विद्यालयहरुको शु:ल्क अनुसार सेवा सुविधा भए नभएको अनुगमन गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ।

धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गरिने, उपमहानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिने, उर्मा र फूलबारी दुवैलाई पायक पर्ने गरी २५ सैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ।

उपमहानगरपालिकाका भित्रि सडकलाई रिङरोड, हुलाकी सडक र सहरी सघन सडकको संजालमा जोडिने, धनगढी उपमहानगरपालिकाभित्र अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिने, प्रतिवद्धतापत्रमा भनिएको छ।

नगर क्षेत्रमा पाँच वटा ईलेक्ट्रिक बस निजि, सहकारी र साझेदारी (पिपिपि) मोडलमा सञ्चालनमा ल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ। उपमहानगर पालिकाका वडा नं. १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गरिने, ५० करोड रुपैया भन्दा बढि लगानीका होटल तथा उद्योग तथा कलकारखानाको नक्सा पासमा ५० प्रतिशत छुट गरिने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.