प्रमुख पदमा एक्ली दलित महिला उम्मेदवार, जसलाई मतदाताले खुट्टा ढोगेर शुभकामना दिन्छन्

प्रमुख पदमा एक्ली दलित महिला उम्मेदवार, जसलाई मतदाताले खुट्टा ढोगेर शुभकामना दिन्छन्

बेनी : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार बनेकी छिन् । नेकपा (माओवादी केन्द्र) ले मिना विश्वकर्मालाई रघुगंगा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगंगा–६ की २८ वर्षीय मिना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छिन्।

नेकपा (माओवादी केन्द्र)को रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विक धौलागिरी क्षेत्रकै एकमात्र दलित महिला भएको जानकारी दिए । ‘म दलित महिला के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?,'मिनाले भनिन्, ‘यो हामी दलित समुदायको लागि अवसरसँगै चुनौति पनि हो । हामी दलित कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।’ 

गाउँमा आफ्नो पौरख गरेर खानेहरु पनि सत्ता सञ्चालनको हकदार हुने बताइन् । चुनाव जितेमा दलित समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने मिनाको भनाइ छ।  मिनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य समेत रहेका प्रदेश सांसद बिनोद केसीले बताए । मिनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न आएकाहरुका आँखा रसाउने गर्छन् । 

उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी मिनासँगको प्रतिस्प्रधीमा एमालेका प्रेमबहादुर कार्की, नेपाली कांग्रेसका भवबहादुर भण्डारी र स्वतन्त्र उम्मेदवार सागर भण्डारी छन् । गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएका छन् ।

रघुगंगामा निर्वाचित हुने ४२ पदका लागि १३५ जना चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए । बेनी नगरपालिका–१० पात्लेखेत माइति भएकी मिनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो । अनेरास्ववीयु क्रान्तिकारी र वाइसीएलमा आवद्ध मिना विवाहपछि राजनीतिमा निष्क्रिय थिइन् ।

गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी मिना पछिल्लो समय माओवादीको सम्पर्कमा आएर उम्मेदवार बनेकी हुन् । उनका जेठा छोरा दश वर्षका छन् । तीन वर्षका छोरालाई बोकेर भोट माग्न पहाडी बस्तीको कुना कन्दराका बस्ती चाहरेकी छिन् । मिनाका श्रीमान पनि सँगै चुनाव प्रचारमा छन् ।

मिना गाउँपालिका अध्यक्षको उम्मेदवार भएको खबरले खुसी भएका फुलडाँडाका गौबहादुर विश्वकर्माले खुट्टा ढोगेर बिजयको शुभकामना दिएका थिए । मतदातालाई प्रभावमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढिरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ । 

मिनासहित म्याग्दीमा तीनजना महिला उम्मेदवार छन् । धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेका छन् । यसैगरी, माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मिना दुईजना मात्र उम्मेदवार हुन् ।  

वडा अध्यक्ष पदमा दुईजना मात्र महिला उम्मेदवार छन् । मंगला गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएका छन् । दलित समुदायबाट वडा अध्यक्षमा धवलागिरी गाउँपालिका–२ लुलाङमा एमालेका अकप्रसाद विक र मालिका गाउँपालिका–२ रुममा माओवादीका हर्कलाल दर्जी वडा अध्यक्षको उम्मेदवार बनेका छन् । ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्र र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्बिरोध भएका छन् । एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन् । चारजना गाउँपालिकाका अध्यक्ष र १७ जना वडा अध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.