म्याग्दीको अन्नपूर्णमा एमाले-कांग्रेसको टक्कर

म्याग्दीको अन्नपूर्णमा एमाले-कांग्रेसको टक्कर

बेनी : स्थानीय तह निर्वाचनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका उमेद्वारहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि एमाले र कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका हुन्। ८ वटा वडा रहेको अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सचिवमा ४२ पदका लागि ९८ जनाको उम्मेदवारी परेको छ। 

गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३, वडा अध्यक्षमा २३, खुल्ला वडा सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १६ जनाको मनोनयन दर्ता भएको छ। गाउँपालिका अध्यक्षमा नेकपा एमालेका भारतकुमार पुन, नेपाली कांग्रेसका बलबहादुर तिलिजा पुन, राप्रपाका तिर्थबहादुर खड्का र नेशनल मंगोल अर्गनाइजेशनका रामबहादुर गर्बुजाले मनोनयन दर्ता गराएका छन्। 

उपाध्यक्षमा नेकपा एमालेका दिवाकुमारी पुन, नेपाली कांग्रेसका ललिता तिलिजा पुन र नेशनल मंगोल अर्गनाइजेशनका एलिना पुर्जा शेरपुञ्जाले मनोनयन दर्ता गराएकी छिन्। १४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता छन्। 

वडा नम्बर १ मा एमालेका दिलिपकुमार गर्बुजा र कांग्रेसका भबिन्द्र गर्बुजा, २ मा एमालेका ओम फगामी र कांग्रेसका रेखिराम पूर्जा, ३ मा एमालेका रमेश फगामी र कांग्रेसका सुरत केसी, ४ मा एमालेका तेज गुरुङ र कांग्रेसका लोकबहादुर फगामी चुनावी प्रतिस्पर्धामा छन्। 

५ मा एमालेका बिसन राना र कांग्रेसका राजेश तिलिजा, ६ मा एमालेका भक्तबहादुर खड्का र कांग्रेसका रामबहादुर खड्का, ७ मा एमालेका माइलन पूर्जा र कांग्रेसका गमबहादुर फगामी, ८ मा एमालेका खमबहादुर गर्बुजा र कांग्रेसका रबी गर्बुजा प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। 

नेशनल मंगोल अर्गनाइजेशनले पनि वडा नम्बर १, ५, ६ र ७ नम्बर वडामा अध्यक्षसहितको पदमा उम्मेद्वार खडा गरेको छ। विगतको नतिजा र संगठनलाई आधार मान्दा यसपालीको चुनावमा एमाले र कांग्रेसका उम्मेद्वारहरुबीचनै प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। 

वडा नम्बर १ मा एमालेका दिलिपकुमार गर्बुजा, ७ मा कांग्रेसका गमबहादुर फगामी र ८ मा एमालेका खमबहादुर गर्बुजाले दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बन्न उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो चुनावमा माओवादी केन्द्रवाट २ नम्बर वडाको अध्यक्षमा निर्वाचित ओम फगामी यसपाली एमालेबाट सोही वडाको उमेद्वार बनेका छन्। 

वडा नम्बर ५ को लामो समय कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका कांग्रेसका राजेश तिलिजा पुनले पनि दोहोराएर उमेद्वार बनेका छन्। यसअघि वडा नम्बर ६ घारको वडा सदस्य रहेका रामबहादुर खड्का नेपाली कांग्रेसबाट वडा अध्यक्षको उमेद्वार बनेका छन्।  

अन्नपूर्ण गाउँपालिका ३ को दलित महिला सदस्यमा संगिता सार्की बिक र वडा नम्बर ५ को खुल्ला सदस्यमा पूर्णबहादुर पाइजाले नेकपा माओवादी केन्द्रको तर्फबाट मनोनयन दर्ता गराएका छन्। यी दुई वटामा माओवादीले उम्मेद्वार उठाएको ठाउँमा कांग्रेसले उमेद्वार उठाएको छैन।

विगतको परिणाम 

२०७४ मा भएको स्थानीय तह चुनावमा कांग्रेसले अन्नपूर्णको अध्यक्ष, उपाध्यक्षसहित चार वटा वडा जितेको थियो। एमालेले तीन र माओवादीले एक वटा वडा जितेका थिए।  एमालेका वडा अध्यक्षका उम्मेद्वारहरुले २९८६ मत ल्याउँदा अध्यक्षका उम्मेद्वार नारायण पुनले ३१२७ र उपाध्यक्षका उम्मेद्वार दुर्गादेवी पाइजाले ३१८६ मत पाएका थिए। अन्नपूर्णको अध्यक्षमा कांग्रेसका डमबहादुर पुनले ३३२० र उपाध्यक्षमा केशमाया मगरले ३२४५ मत ल्याएर विजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले ३३३४ मत ल्याएका थिए। 

माओवादीका पालिका अध्यक्षका उमेद्वारले २८५ मत ल्याउँदा वडा अध्यक्षकाले ३२२ मत पाएका थिए। माओवादी निर्वाचित वडा नम्बर २ का अध्यक्ष ओमप्रकाश फगामीलगायतका नेताहरु यसपाली एमालेबाट उम्मेद्वार बनेका छन्। सोही वडाको सदस्यमा माओवादीबाट निर्वाचित वुद्धी पुन कांग्रेसमा प्रवेश गरेका छन्। फगामी एमालेमा गएपछि कांग्रेसले २ वटा वडा सदस्यमा माओवादीलाई सघाउनेगरी उम्मेद्वार बनाएको छ। 

चुनावी परिणाम आफ्नो पक्षमा पार्न यसपालि अध्यक्ष, उपाध्यक्षमा उम्मेद्वार नभएको माओवादीको जनमत आकर्षित गर्ने, आफ्ना मत सुरक्षित गर्दै, स्वतन्त्र मतदातालाई आकर्षित गराउन एमाले र कांग्रेसले ध्यान केन्द्रित गरेका छन्। नयाँ पार्टीको रुपमा उदाएको नेशनल मंगोल अर्गनाइजेशन र राप्रपाका उम्मेद्वारलाई आफ्ना मत जान नदिन पनि उनीहरुले रणनीति बनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.