म्याग्दीको मंगलामा त्रिपक्षीय प्रतिस्पर्धा
बेनी : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मंगलामा प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेशनल मंगोल अर्गनाइजेशनले पनि अध्यक्ष, उपाध्यक्षलगायत केही पदमा उम्मेदवार बनाएका छन् ।
पाँचवटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्षमा ५, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १९, खुल्ला सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १८ जना उम्मेदवार छन् । आठवटा मतदान स्थल र १७ वटा केन्द्र भएको मंगलामा १३ हजार ४१६ मतदाता छन् ।
गाउँपालिका अध्यक्षमा एमालेका सतप्रसाद रोका, नेपाली कांग्रेसका बिरेन्द्र बुढाथोकी, नेकपा माओवादी केन्द्रका टेकबहादुर बिक, राप्रपाका योगेन्द्रमान शेरचन, नेशनल मंगोल अर्गनाइजेशनका गिरु रोका चुनावी मैदानमा छन् । उपाध्यक्षमा नेकपा एमालेकी प्रेमकुमारी क्षेत्री, नेपाली कांग्रेसका सर्मीला थापा, नेकपा माओवादी केन्द्रका सुकमाया रोका र राप्रपाकी बिन्दु मल्ल उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ कुहुँको वडा सदस्यकी उम्मेदवार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा जेष्ठ उम्मेदवार हुन् ।
एमालेबाट मंगलाको अध्यक्षमा उम्मेदवार बन्नुभएका रोका यसअघिको चुनावमा सोही पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए । वडा नम्बर ३ सातविसे घर भई हाल पालिकाको केन्द्र बाबियाचौरमा बस्दै आएका रोका एमालेको गाउँपालिका कमिटीको पनि अध्यक्ष हुन् ।
सतप्रसादले २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन बाबियाचौर गाविसको अध्यक्षको उम्मेदवार बन्नका लागि १६ वर्षे स्थायी शिक्षक पदबाट राजीनामा दिएका थिए । तर कांग्रेससँग तालमेल गर्नुपर्ने भएकाले गाविस अध्यक्षमा उम्मेदवार बन्न पाएनन्।
कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार वडा नम्बर ५ अर्मनका बुढाथोकीको राजनीतिक पृष्ठभूमि कम्प्युनिष्ट पार्टी हो । २०४७ मा एमाले निकट अनेरास्ववीयुको जिल्ला सचिव, २०५३ देखि एमालेको राजनीतिमा लागेका आइएससी अध्ययन गरेका रोका २०७६ मा माओवादीबाट कांग्रेस प्रवेश गरेका थिए । उनले २०५६ मा नेपाल मगर संघको जिल्ला सचिव बनेका थिए । नेपाली कांग्रेसको मंगला गाउँपालिका कार्यसमितिका सचिव बुढाथोकी कांग्रेस सम्बद्ध नेपाल राष्ट्रिय मगर संघको गाउँपालिका हुन् ।
माओवादीका अध्यक्षका उम्मेदवार विक मंगला गाउँपालिका–४ बुकेनीका हुन् । विक माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी सहसचिव हुन् । दश वर्षे जनयुद्धमा सहभागी भएका विक प्रमुख पदमा उम्मेदवार बन्ने सिमित दलित उम्मेदवार मध्य पर्छन् । दलित मुक्तिमोर्चाको गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका बिक दलित समुदायको अगुवाका रुपमा चिनिन्छन् ।
वडा नम्बर ४ कै राप्रपाका शेरचन पनि सो पार्टीका पुराना कार्यकर्ता र पूर्व भलिबल खेलाडी हुन् । एमालेकी उपाध्यक्षकी उम्मेदवार खत्री वडा नम्बर २ बाबियाचौर निवासी हुन् । उनी एमालेको पुरानो कार्यकर्ता हो ।
कांग्रेसबाट उपाध्यक्षको उम्मेदवार बनेकी थापा वडा नम्बर ३ की हुन् । माओवादीबाट उपाध्यक्षबाट उम्मेदवार भएकी सुकमाया जनयुद्धमा भूमिगत कार्यकर्ता हो । दिवंगत भइसकेका उहाँका श्रीमान ओमबहादुर रोका वि.स. २०७४ को चुनावमा माओवादीबाट वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित भएका थिए ।
वडा नम्बर १ मा एमालेले एकजित रोका, कांग्रेसले रिप्रसाद पुन (रवी), माओवादीले पृथीलाल विक र राप्रपाले नरबहादुर घर्तीमगरलाई उम्मेदवार बनाएका छन् । २ मा एमालेबाट धनबहादुर खाती, काँग्रेसबाट श्रीराम पौडेल, माओवादीबाट कुलबहादुर पुन र राप्रपाका बिनोद केसी उम्मेदवार बनेका छन् ।
वडा नम्बर ३ मा एमालेका कबिन्द्र रोका, काँग्रेसका टेकबहादुर छन्त्याल, माओवादी केन्द्रका यामबहादुर रोका र राप्रपाका सिंहप्रसाद तुलाचन उम्मेदवार बनेका छन् । ४ मा एमालेकी लक्ष्मी बुढाथोकी, काँग्रेसका लालबहादुर रोका, माओवादीका मनमाया चोचाङ्गी र राप्रपाका रनबहादुर रोका चुनावी मैदानमा आएका छन ।
वडा नम्बर ५ मा एमालेका भुपेन्द्र खत्री, काँग्रेसका बलबहादुर खड्का र माओवादीका अस्तमान घर्ति चुनावी प्रतिस्पर्धामा छन् । एमालेबाट २ का खाती, ३ का रोका र ५ का खत्री दोहो¥याएर उम्मेदवार बनेका हुन् । वडा नम्बर ३ का र गाउँपालिकाका अध्यक्षका उम्मेदवार रोकाद्धय सहोदर दाजु भाई हुन् ।
दोस्रो पटक पालिका अध्यक्ष बन्न चुनावी मैदानमा उत्रिएका एमालेका रोकाले पहिलो कार्यकालमा शुरु गरेका अधुरा योजनालाई पूर्णता र नयाँ काम गर्ने योजना सुनाए । उनले युवालाई सिप सिकाएर रोजगारीका क्षेत्रमा परिचालन र आत्मनिर्भर बनाउने, कृषिमा रुपान्तरण, पर्यटकीय क्षेत्रको विकास, आन्तरिक आम्दानी बढाउने र पुर्वाधार विकासमा जोड दिने बताए ।
काँग्रेसका उम्मेदवार बुढाथोकीले मंगलाको विकासको मुहार फेर्ने आफ्नो मुख्य प्राथमिकता भएको बताए । सडकलाई ब्यवस्थित र स्तरोन्नति गर्ने, नदी नियन्त्रणका योजनालाई जोड दिने उनको भनाई थियो ।
माओवादीबाट अध्यक्षका उम्मेदवार बिकले मंगला गाउँपालिकालाई शुसासन, न्यायोचित दंगले सेवा पवाह र सेवा सुविधा जनताकहाँ पु¥याउन प्राथमिकता दिने बताए । सडक, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको योजनावद्ध विकास गर्ने विकले बताए ।
गत चुनावमा मंगलामा एमालेका सतप्रसाद रोकाले अध्यक्षमा ३६४९ र उपाध्यक्षमा सिर्जना केसीले ३७०२ मत ल्याएर बिजयी हुँदा हाल एमालेमा रहेका स्वतन्त्र सहितका वडा अध्यक्षका उम्मेदवारहरुको मत ३६६० थियो । काँग्रेससँग तालमेल गरेको माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उम्मेदवार चन्द्रप्रकाश बुढाथोकीले २६३१ मत पाउँदा माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले १४६२ मत ल्याएका थिए ।
माओवादीसँग तालमेल गरेको काँग्रेसका उपाध्यक्षका उम्मेदवार हुमादेवी फगामीले १९६७ मत ल्याउँदा काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरुले १३७९ मत ल्याएका थिए । मंगलामा एमालेले ४ र माओवादीले एक वटा वडा जितेका थिए । एमालेले बलियो संगठन र गाउँपालिकाको सफल नेतृत्व गरेका व्यक्तिलाई उम्मेदवार बनाएकाले जित्ने दावी नेताहरुले गरेका छन् ।
काँग्रेसकाका नेताहरु अर्मनका एमालेका पुराना नेता बलभद्र ढकाल, कुँहुँका कम्प्युनिष्ट पृष्ठभूमिका रविन पुन लगायत नेताहरु भित्र्याएको, बढी मतदाता भएको भूगोल र समुदायका उम्मेदवार भएका र पहिलेको तुलनामा संगठन सुधार भएकाले एक्लै चुनाव जित्ने दावी गर्छन् । माओवादीका नेताहरु माओवादी घटकहरु एकतावद्ध भएको, बढी मतदाता भएको भूगोल र दलित समुदायबाट लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न उम्मेदवार भएका र एमाले काँग्रेससँग प्रतिस्पर्धा गर्ने हैसियतको संगठन बनाएकाले चुनाव जित्ने दावी गरेका छन् ।