रसुवामा महासंघका सचिवसहित तीन पत्रकार चुनावी मैदानमा
रसुवा : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित ३ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन्। महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्व अध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन्।
नेकपा माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षमा लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन्। तीनै जना नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन्।
जिल्लामा ५ वटा पालिका छन्। जसमा २७ वटा वडा रहेका छन्। यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन्। यस पटकको निर्वाचनमा ४६७ जना प्रतिस्पर्धामा छन्। जिल्लामा १४५ पदको लागि निर्वाचन हुनेछ। जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन। अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन्।