नगरको वागडोर युवालाई दिनुहोस्, ढुक्क हुनुहोस् : डा. महतो

नगरको वागडोर युवालाई दिनुहोस्, ढुक्क हुनुहोस् : डा. महतो

महोत्तरी : जनमैत्री विकास, पालिकाभरिमा सुशासन अनि विभेदरहित समाजको परिकल्पना गर्दै गौशाला नगरपालिकाको लागि मेयर पदमा उम्मेदवारी दिएका छन् ३२ वर्षीय युवा डा. दिपेन्द्र महतोले। पेशाले चिकित्सक (स्त्री तथा प्रसुती रोग विशेषज्ञ) रहेका डा दिपेन्द्र महतो पहिलोपटक जनता समाजवादी पार्टीको तर्फबाट चुनावी मैदानमा होमिएका हुन्।

उनले आफ्नो पाइलालाई गौशालावासीको विकासमैत्री सपना साकार पार्नका लागि अगाडि बढाउने बताएका छन्। उनले चौतर्फी विकास गरी पालिकालाई प्रदेशमै उत्कृष्ट एवम् नमुना बनाइने परिकल्पनासमेत गरेका हुन्। प्रस्तुत छ डा दिपेन्द्र महतोसँग अन्नपूर्णाकर्मी धनवीर महतोले गरेको कुराकानीको सम्पादित अंश;
 

१) तपाईं एक चिकित्सकजस्तो प्रतिष्ठित पेशामा आवद्ध हुँदाहुँदै राजनीतिक क्षेत्रमा किन आउनुभयो ?
 
मैले स्त्री तथा प्रसुती रोगसम्बन्धमा एम.डी.गरेको छु। मेरो व्यवसायिक पेशा चिकित्सक हो। मलाई थाहा छ बिरामीलाई उपचार गर्नका लागि के के चाहिन्छ भनेर। म त्यही अवधारणालाई मनन गर्दै गौशाला नगरपालिकाको रोगलाई चिरफार गरी स्वस्थ बनाउनका लागि नगरको सेवकको रुपमा आफूलाई प्रस्तुत गर्छु। 

स्वास्थ्यमा संलग्न रहेको समयमा गौशालावासीमा मैले गौशालाको बागडोर सम्हालूँ भन्ने इच्छा देखियो। मैले उहाँहरुकै आग्रहलाई कदर गर्दै नगरपालिकाको नगरप्रमुख पदको लागि उम्मेदवारी दिएको हुँ। म उहाँहरुको दुःखमा केही मात्रामा भए पनि मल्हम दल्ने प्रयास गर्नेछु। मैले आफ्नो कार्यको शिलशिलामा स्थानीयस्तरमा अनेकौं बेथितिलाई नजिकैबाट प्रत्यक्षरुपमा नियालेको छु। देशले कम समयमै अनेकौं परिवर्तन गरेको छ। तर यहाँका नागरिकहरुले सोचेअनुरुप परिवर्तन भएको छैन। 

देशको संविधानअनुरुप संघीयताको स्थापना भएपछि सिंहदरवारझैं अधिकार स्थानीयतहमा आएको छ। तर सर्वसधारण भने अभावै अभावमा छन्। यसको मुख्य बाधकतत्व भनेकै स्थानीयस्तरमा स्वास्थ्य र शिक्षाको अवस्था कमजोर हुनु हो। सरसर्ती हेर्ने हो भने स्थानीय सरकारले स्वास्थ्य र शिक्षाको सवालमा स्पष्ट नीति र धारणालाई अझ प्रत्यक्षरुपमा अंगाल्न सकेको छैन।
 
२) त्यसो भए गौशालावासीको यहाँमाथि अधिक नै आशा र भरोसा रहेको छ। तपाईंले उनीहरुको विश्वासलाई कायम राख्न के गर्नुहुन्छ ?

म उनीहरुकै भरोसालाई कायम राख्न राजनीतिमा आएको हुँ। दृढ इच्छा र संकल्प लिइई राजनीतिको यात्रा आरम्भ गरेको छु। आफ्नो पेशालाई त्यागेको छु। मैले आफ्नो वा परिवारको लागि नभइ जनताको लागि यसो गरेको हुँ। मेरो परिवारबाट मेरो आमा र बुवा पनि वर्षौंदेखि सक्रिय रुपमा राजनीति गर्दै हुनुहुन्छ। म उहाँहरुकै प्रेरणालाई स्रोत मानेर यसतर्फ अगाडि आएको हुँ। म उहाँहरुबाट अधिक नै प्रभावित भएको छु। मैले उहाँहरुको राजनीतिक क्रियाकलापहरु बहुत निकटबाट अनुभव गरेछु। 

उहाँहरुको सल्लाह र परामर्शले गौशालामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमुल्य परिवर्तन गर्नेछु। यसको लागि मैले दृढ संकल्प लिएको छु। म गौशालालाई यस प्रदेशकै नमुना पालिकाको रुपमा परिचित हुने किसिमले सबैको साथ र सहयोग लिएर कार्यसम्पादन गर्नेछु। आमनागरिकको इच्छा पनि यहि नै हो। मैले उनीहरुको मनोभावनालाई रतिभरि पनि ठेस पुगाउने कार्य गर्ने छैन। अब गौशालावासी विकासको सवालमा ढुक्क भए हुन्छ। यहाँ विकासको लहर छाउनेमा म प्रतिवद्धता जाहेर गर्छु। मसँग स्वास्थ्यको साथै शैक्षिक अनुभव रहेको छ। समाजमा ज्ञानवर्द्धक तत्वको अत्यन्त आवश्यक रहेको छ। म उहाँहरुको आशा र भरोसालाई हरपल कायम हुने किसिमले प्रस्तुत हुनेछु। 

३) वर्षौंदेखि राजनीति गरेकासँग प्रतिस्पर्धामा उत्रनुभएको छ। यस कठिन यात्रामा सफलता पाउनका लागि कतिको मेहनेत गर्नुभएको छ ?

हो वर्षौंसम्म राजनीतिकको स्वाद लिएकाहरु अहिले नगरप्रमुखको रुपमा चुनावी मैदानमा उत्रिएका छन्। म यस क्षेत्रमा पहिलो पटक आएको हुँ। मैले यसभन्दा अगाडि बुवा र आमा निर्वाचनमा भाग लिएको समयमा उहाँहरुको सहयोगीको रुपमा काम गरेको थिएँ। जसले गर्दा मलाई राजनीतिक क्रियाकलापको बारेमा आंशिक ज्ञान छ। 

म स्थानीयवासीको आग्रहमा यस क्षेत्रमा आएको हुँ। त्यसैले मलाई विश्वास छ म सबैको सहयोगमा यसमा सफल रहनेछु।  यहाँको नेतृत्वको बागडोर पढेलेखेको र युवाले पाउनुपर्छ भन्ने जनताको चाहाना छ। तर पछिल्लो समयको चुनावमा यो सम्भव भएन। पढेलेखेको युवा राजनीतित्रमा आउनका लागि अनिच्छुक हुँदा सर्वसधारणहरु निराश भइसकेका छन्। जहिल्यै पनि एउटै अनुहार जसले गर्दा राजनीतिकमा उनीहरु नयाँ स्वाद पाउनबाट वञ्चित भएको अवस्था छ। म यसक्षेत्रमा पढेलेखेको एउटा युवा समाजसेवाको रुपमा उभिएको छु। मैले उनीहरुको समस्यालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको छु। जसलाई मनन गरी चुनावी घोषणापत्रमा उल्लेख गर्नेछु। अनि कार्यान्वयन पनि गर्नेछु। म गौशालामा विकासको क्षेत्रमा सफलता पाउनका लागि हरसम्भव प्रयासरत रहनेछु। गौशालावासीको समग्र विकासको निम्ति सबैको सल्लाहअनुसारको यात्रामा उतार्नका लागि आफूलाई तयारी अवस्थामा राखेको छु। 

४) यहाँको चुनावी एजेण्डा के-के रहेका छन् ? यसो संक्षिप्तमा जानकारी गराउनुहुन्छ कि।

अवश्य, मेरो चुनावी एजेण्डा जनमैत्री छ। भ्रष्टाचार र कमिसनमुक्त पालिका, सुशासन अनि जनमैत्री पालिका, स्वरोजगारको साथै उद्योगग्रामको स्थापना, विभेदरहित समाज, किसानलाई आवश्यक मात्रामा सर्वसुलभ मलखाध, बिउबिजन, आधुनिक प्रविधि र सिचाइको व्यवस्था गर्ने छु। त्यस्तै म आफू एक स्वास्थ्यकर्मी भएकोले कुनै पनि व्यक्तिलाई उपचारको लागि रतिभर पनि कठिनाइ हुन दिने छैन। 

म आफ्नै निगरानीमा यहाँका सामुदायिक स्वास्थ्यसंस्थालाई पूर्वाधार जनशक्ति परिचालन गरी व्यवस्थित गरी सेवा परिचालन गर्नेछु्। यहाँको शिक्षा पनि कमजोर रहेको छ। यसलाई पनि व्यवस्थित गर्ने मेरो सोच छ। त्यस्तै गौशाला बजार र निगौल गाई गौशालालाई सर्वपक्षीय रुपमा व्यवस्थित गर्नेछु। बालाबालिका, ज्येष्ठ नागरिकलाई सहज र सुलभरुपमा समाजिक सुरक्षाभत्ता वितरण कार्य लगायत हरतवरले सहयोग उपलब्ध हुनेछ। समाजमा सकारात्क सन्देशका लागि संचारको माध्यमले सुचना सम्प्रेषण गरिनेछ। समग्रमा भन्नुपर्दा गौशालाबासीको इच्छाअनुसार नै यस नगरपालिकाको विकास निर्माणको गतिविधिलाई अगाडि बढाउनेछु। 

५) पालिकाका जनप्रतिनिधिले पहिलो कार्यकाल बिताएका छन्। यसलाई मनन गर्दै तपाईं आफुूलाई कुन रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ ?

वि. सं. २०७२ सालमा जनताद्वारा संविधान निर्माण गरी कार्यान्वय भएर अहिले संघीयता स्थापित भइसकेको छ। त्यसैको परिमाणस्वरुप अहिले सिंहदरवारसहितको अधिकार रहेको पालिकामा जनप्रतिनिधिले पहिलो कार्यकाल बिताइसकेका छन्। यसलाई समीक्षा गर्ने हो भने अनेकौं उपलब्धि प्राप्त भएका छन्। जसबाट अगामी कार्यकालको लागि काम गर्नका लागि गाइडलाइन सावित हुनेछ। हुन त मैले आफ्नो पेशाले गर्दा गौशाला नगरपालिकासँग त्यति अनुभव बटुल्न पाएको छैन। तर नगरवासीको दुःखपीडा मैले सहजै अनुभव गरेको छु। 

कमिशन र भ्रष्टाचारयुक्त कर्मचारी र जनप्रतिनिधिले वास्तवमै पालिकालाई सिंहदरवार बनाएको रहेछ। जुन दरवारमा रहेर सिंह कहलाउनेहरु सिधासाधा जनमानस उपर राज मात्रै गरेका रहेछन्। यस कार्यले जनताहरु पालिकादेखि आजित भइसकेका छन्। मैले त्यो मनन गर्दै आफूलाई जनमैत्री सुशासन पालिकाबाटै सहज रुपमा उपलब्ध गराउने किसिमको रणनीति बनाइईसकेको छु। म पछिल्लो घटनाको सम्बन्धमा केही चर्चा गर्न चाहन्नँ। परन्तु त्यसलाई मनन गर्दै आफूमा उतार्न सकभर कोसिस गरि रहनेछु। पालिकामा सुशासन अनि नगरभित्र स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक पूर्वाधारलाई जनजनमा पुर्याउने छु। म सर्वपक्षीय छलफल, विचार, विमर्श गरी चौतर्फी रुपमा जनमैत्री विकासको लागि नगरलाई विकासको यात्रामा अगाडि बढाउन प्रतिवद्ध छु। उहाँहरुले म माथि गरेका आशा र भरोसालाई खेर जान दिनेछैन। गौशालामा आधुनिक मोडालिटीसहितको व्यवस्थित पालिका बनाउनका लागि हरसम्भव प्रयासरत रहनेछु।

६) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

यसपालिको स्थानीयतहको चुनावमा गौशालावासीलाई शिक्षित युवा जनप्रतिनिधि चुन्ने एउटा अवसर प्राप्त भएको छ। जनता समाजवादी पार्टीको तर्फबाट गौशाला नगरपालिकामा उम्मेदवारी दिएका हरेक उम्मेदवारहरु पढेलेखेका युवा छन्। मेयर पदका लागि म स्वयम् एमडी तहको शिक्षा हासिल गरेको मान्छे छु। त्यस्तै मेरो प्यानलको उपमेयर रेणुकुमारी महतो बीबीएस गरेकी छिन्। 

मेरो प्यानलमा उम्मेदवारी दिएकाहरु एस.एल.सी. उीर्णदेखि स्नातकतह उतीर्ण गरिएका युवाहरुको समुह रहेको छ। शिक्षित व्यक्तिले नेतृत्व पाउनुपर्छ भनेर हरेक स्थानमा आवाज उठ्दै आएको छ। यसपटक गौशालालाई विकसित गरि पालिकाको मुहार नै परिवर्तनका लागि शिक्षत अनि युवाहरुको टोली नै उम्मेदवारी दिएका छौं। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको अवसरमा पछि नहट्नका लागि म सम्पूर्ण गौशालावासीलाई विनम्र अनुरोध गर्न चाहन्छु। 

युवा र शिक्षितहरुले अगामी ५ वर्षे कार्यकालमा अवश्य नै गौशालालाई यस प्रदेशमै उत्कृष्ट अनि नमुना पालिकाको रुपमा स्थापित गर्नेछन्। सिंहदरवारको अधिकार अब गौशालामै पाउनुहुनेछ, म सबैमा पुनः प्रतिवद्धता जाहेरी गर्न चाहन्छु। युवा शक्तिबाट नै मुहार परिवर्तन गर्न सकिन्छ भनेर हामीहरु राजनीतिक मैदानमा उत्रिएका छौं। हाम्रो टिममाथि भरोसा गर्नुहोस्। हामी यस नारालाई यथार्थमा परिणत गरिदिने छौं। हामी सिंह बनेर होइन सेवकको रुपमा कार्यसम्पादन गर्नेछौं। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.