केपी ओलीको अत्याचारविरुद्ध गठबन्धन : प्रधानमन्त्री देउवा
जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। उनले संविधान जनताको जनप्रतिनिधिले बनाएकोले समयावधि बिनै संसद र संविधानको मूल्य मान्यता विपरित विघटनलाई अपदस्त गर्न गठबन्धन दलको आवश्यकता भएको बताएका हुन्।
शनिबार जनकपुरधाममा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धनको आवश्यकता रहेको बताए। उनले भने, ‘यो एक ऐतिहासिक गठबन्धन हो। स्थानीय तहसम्म मात्र सीमित रहँदैन। प्रदेश र संघको निर्वाचनमा पनि हामी यहीअनुसार अगाडि बढ्छौँ।’
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे। आफूबाहेक अरुलाई काम गर्न नदिने र आफूविरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक-पटक संसद् भङ्ग गरेको उनको आरोप थियो।
गठबन्धन असफल बनाउन पटक-पटक गरिएको प्रयास निरर्थक भएको बताउँदै देउवाले चुनावी मैदानबाट सबैलाई जवाफ दिने बताए। उनले भने, ‘राम र सीताको वैवाहिक गठबन्धन भएको स्थान जनकपुरधाममा गठबन्धनकै विजयी हुन्छ।’
मधेसको नागरिकताको समस्यामा आमा-बुबाको नागरिकता भए पनि छोराछोरी नागरिकविहीन भएर बस्नुपरेको पीडालाई सम्बोधन गरिने बताए। उनले गठबन्धनको तर्फबाट उम्मेदवार लालकिशोर साह र किशोरी साहलाई विजयी गराउन जनतासँग अपील गरे।